विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो

हिमाल प्रेस ४ वैशाख २०८० २१:५२
4
SHARES
विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो फाइल तस्बिर

बझाङ- बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सुरु गरेको छ। सोमबारदेखि थलारा–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो।

विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक–शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताए। उक्त विद्यालयमा कक्षा ५ सम्मको पढाइ हुन्छ। ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क शिक्षा’, ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’, ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’लगायत रचनात्मक प्लेकार्ड बोकेर विद्यार्थी र शिक्षकहरूले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान सञ्चालन गरिएको हो।

प्रधानाध्यापक शाहीले अभिभावकलाई शिक्षाको आवश्यकता तथा गुणस्तरीय शिक्षाबारे जानकारी दिँदै विद्यालय भर्ना गर्न प्रोत्साहन गरिरहेको बताए। ‘अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीहरू न्यून भर्ना भएपछि हामीले उक्त घरदैलो अभियान चलाएका हौँ। सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरूलाई बुझाउन पनि अभियानले भूमिका खेलेको छ।’

विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भए पनि न्यून संख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान सञ्चालन गर्नुपरेको प्रधानाध्यापक शाहीले बताए। विद्यालयको टोली टोल–टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको छ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन्। रासस

प्रकाशित: ४ वैशाख २०८० २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =