रोहित शर्मालाई राहत, दिल्लीको दिन सप्रिएन

हिमाल प्रेस २९ चैत २०७९ १२:०२
10
SHARES
रोहित शर्मालाई राहत, दिल्लीको दिन सप्रिएन

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन लगातार दुई हारले सुरुवात गरेको मुम्बई इन्डियन्सले मंगलबार राति पहिलो जित दर्ता गरेको छ। रोहित शर्माको कप्तानीमा खेलिरहेको मुम्बईले दिल्ली क्यापिटल्सलाई उसकै मैदानमा ६ विकेटले पराजित गर्‍यो।

यो जितले भारतीय टिमका समेत कप्तान रहेका रोहितलाई राहत दिएको छ। मुम्बई अब दुई अंक बोकेर आठौँ स्थानमा उक्लियो। शीर्ष दुईमा लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्स छन्। यी दुईको ६ तथा चार अंक छ। उसो त तेस्रोदेखि छैटौँ स्थानसम्मका टिमसँग पनि चार-चार अंक छ। यी सबै टिमलाई रनरेटले छुट्टाएको छ।

मुम्बईको जितमा रोहित आफैँले ६५ रन बनाए। नयाँ दिल्लीस्थित अरुण जेट्ली रंगशालामा फिल्डिङ रोजेको मुम्बईले १७३ रनको लक्ष्य पाएको थियो। रोहित र इशान किशनले पहिलो विकेटका लागि ४४ बलमा ७१ रनको साझेदारी गरेका थिए।

किशन ३१ रनमा आउट भएपछि कप्तान रोहितले तिलक बर्मासनसँग मिलेर विजयी टिमका लागि ६८ रन थपे। तिलकले २९ बलमा ४१ रन बटुलेका थिए। निर्धारित २० ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको मुम्बईका लागि टिम डेभिड र क्यामरुन ग्रिन क्रमशः १३ र १७ रनमा अविजित रहे।

पाँच पटकको च्याम्पियन सुरुवाती दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो। मुम्बईसँग हारेको दिल्लीले पनि अंकको खाता खोल्न सकेको छैन। १० टिमसम्मिलित आईपीएलमा एकै खेल जित्ने एकल टिम हो, दिल्ली। जसले हालसम्म मुम्बईबाहेक लखनऊ सुपर जायन्ट्स, गुजरात टाइटन्स र राजस्थान रोयल्ससँग हार व्यहोरिसकेको छ।

प्लेयर अफ द म्याच चुनिएका रोहितले पहिलो जित सधैँ विशेष रहने प्रतिक्रिया दिए। ‘हामीले पहिलो खेलबाटै मेहनत गरेका हौँ। तयारीका लागि लामो समय मुम्बईमै बन्द प्रशिक्षण पनि गरिएको थियो। जे होस् बल्ल पहिलो जित हासिल गरियो। खेल जित्नु त्यसै पनि महत्त्वपूर्ण हुन्छ नै। झन् पहिलो जित त विशेष हुने भइहाल्यो,’ रोहितले भने।

मुम्बईलाई जिताउन पियुष चावलाले तीन विकेट हात पारे। २२ रन खर्चिएका उनीसँगै जेसन बेहरेनड्रोफ पनि महत्त्वपूर्ण साबित भए। अस्ट्रेलियाका बेहरेनड्रोफले पनि तीनै विकेट लिए, चावलाभन्दा एक रन बढी खर्च गरेर।

‘केही समयअघि हामीले यहाँ टेस्ट खेलेका थियौँ। त्यसबेला यहाँको पिच फरक देखिएको थियो। त्यसैकारण स्लो बलर प्रयोग गर्ने रणनीति यो खेलका लागि बनाइएको थियो। आखिरमा रणनीति सफल भयो। स्पिनरहरूले खेललाई नियन्त्रणमा लिए,’ रोहितको भनाइ थियो।

पावरप्लेमा गतिलो ब्याटिङ गरेका कारण पनि नतिजा हातबाट नफुत्किएको रोहितले बताए। ‘प्रतिस्पर्धात्मक लक्ष्य थियो। त्यसैले सुरुबाटै ब्याटिङ राम्रो गर्नु थियो। पावरप्लेमा बढीभन्दा बढी रन बटुल्दा जित्न सकिन्छ भन्ने आत्मविश्वास थियो,’ रोहितले भने, ‘मैले तिलकसँग मजबुत साझेदारी गर्न सकेँ। बात मार्दै खेल्यौँ। सुरुवाती साझेदारी राम्रो नभए गाह्रो हुन्छ भन्ने थाहा थियो।’

दिल्लीका कप्तान डेभिड वारनरले सुरुवात राम्रो भए पनि अन्त्य भने जस्तो तरिकाले गर्न नसकेको बताए। नयाँ सिजनको यसअघिका तीन खेलमा पनि आफ्नो टिमले अन्तिम गएर खराब खेलेको उनको भनाइ थियो।

१९ औँ ओभरको अन्तिम तीनमध्ये दुई बलमा मुम्बईका डेभिड र ग्रिनले एक–एक छक्का प्रहार गरेका थिए। जसकारण मुम्बई १६८÷४ को स्थितिमा पुगेको थियो। अन्तिम ओभरमा एनरिच नोर्जेले खेल आफ्नो पक्षमा पार्ने कोसिस गरेका थिए। पाँच रनको रक्षा गरे जित दर्ता गर्ने स्थितिमा रहेको दिल्लीका लागि नोर्जेको बलिङ तारिफयोग्य थियो। अन्तिम बलमा दुई रनको खोजीमा रहेको मुम्बईलाई आखिरमा डेभिडले जिताए।

‘दुई बल खराब थिए, जसले गर्दा खेल परिवर्तन भयो। सायद क्रिकेट यही हो। हामीले सुरुवात त राम्रै गरेको हो। खेललाई हाम्रो पक्षमा ल्याउन अन्तिमसम्म मेहनत पनि गरेकै हो,’ कप्तान वारनरले भने। वारनरले नोर्जेको तारिफ गरे। ‘उनी विश्वस्तरीय बलर हुन्। यसमा हामीलाई शंका छैन। उनीबाट यही स्तरको प्रदर्शनको आशा हामी राख्छौँ। मुस्ताइजले पनि नराम्रो खेलेका होइनन्,’ वारनरले थपे।

लगातारको हारका बाबजुद आफ्नो टिमको प्रदर्शनबाट सकारात्मक रहेको तर चाँडो चाँडो विकेट गुमाउने रोगको निको पार्न आवश्यक रहेको वारनरको भनाइ थियो। पहिलो विकेटका लागि वारनले पृथ्वी शसँग ३३ र दोस्रो विकेटका लागि मनिष पाण्डेसँग ४३ रनको साझेदारी गरेका थिए।

वारनरले ५१, पाण्डेले २६ र शले १५ रन जोडेका थिए। त्यसपछिका ब्याट्समयान यस डुल र ललित यादव दुई–दुई, तथा रोभ्मन पोवेल चार रनमा समेटिएका थिए। मध्यक्रमका अक्सर पटेलले २५ बलमा ५४ रन नबनाएको भए दिल्ली सम्मानजनक योगफल बनाउन सफल हुने थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =