पुलिसको पहिलो जित, चर्च ब्वाइजलाई एपीएफले रोक्यो

हिमाल प्रेस २७ चैत २०७९ १७:४०
12
SHARES
पुलिसको पहिलो जित, चर्च ब्वाइजलाई एपीएफले रोक्यो

काठमाडौँ- गोलका बग्रेल्ती अवसर खेर फालेपछि चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एपीएफ फुटबल क्लबसँग गोलरहित  बराबरीमा रोकिएको छ। दशरथ रंगशालामा चर्च ब्वाइजले एपीएफलाई निरन्तर दबाबमा राखेको थियो। तर बारम्बार फिनिसिङमा चुकेपछि चर्च ब्वाइज अंक बाँड्न बाध्य भयो। चर्च ब्वाइजलाई रोक्न एपीएफका जापानी गोलरक्षक युया कुरियामा बलियो बाधक बने।

बराबरीपछि चर्च ब्वाइज सात खेलबाट १३ अंक बटुलेर तेस्रो स्थानमा छ। उता एपीएफसँग ११ अंक छ। पाँचौँ स्थानमा रहेको एपीएफले पनि सात खेल नै खेलेको छ।

सोमबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबमाथि ३-१ को जित दर्ता गर्‍यो। एन्फा कम्प्लेक्सको मैदानमा पुलिसलाई जिताउन बुद्ध बल तामाङले दुई तथा मोसेस ग्याबाह युमले एक गोल गरे। फ्रेन्डेसका तर्फबाट तोरिक जेब्रिनले एक गोल फर्काएका थिए।

पुलिसका लागि जारी सिजनमा यो पहिलो जित हो। सुरुवाती चार खेल हारेको पुलिसले दोस्रो पटक अंक बटुलेको हो। पुलिसले यसअघि न्युरोड टिम एनआरटीसँग १-१ को बराबरी खेल्दै पहिलो अंक बटुलेको थियो।

६ मध्ये पाँच खेलमा पराजय भोगेपछि पुलिसलाई रेलिगेसन पर्नसक्ने टिम मान्न थालिएको थियो। यही भयलाई चिर्न पुलिसले दुई विदेशी खेलाडी अनुबन्ध गरेको हो। मोसेस ग्याबाह युमबाहेक जो एइडोलाई पनि पुलिसले फ्रेन्ड्सविरुद्ध मैदान उतारेको थियो।

जितपछि पुलिस १३ औँ स्थानमा उक्लियो भने फ्रेन्ड्स १४ औँ स्थानमा झर्यो। पुलिस र फ्र्न्ड्स दुवैको चार-चार अंक छ।

फितलो फिनिसिङ

प्रदीप हुमागाईंले राजीनामा दिएपछि मुख्य प्रशिक्षकविहीन बनेको चर्च ब्वाइजे दुवै हाफको सुरुवातबाटै गोलका अवसर सिर्जना गर्न थालेको थियो। चर्च ब्वाइजको मुख्य ‘क्रिएटर’ का रुपमा देखा परेका आशिष चौधरीले १२ औँ मिनेटमा गरेको शक्तिशाली प्रहारलाई एपीएफका गोलरक्षक कुरियामाले बचाएका थिए।

पहिलो हाफको आधा घण्टा सकिन साथ चर्च ब्वाइजले अग्रता लिने अर्को मौका गुमायो। स्ट्राइकर आशिष चापागाईंले आक्रामक मिडफिल्डर जोसेफ ओउसु बेम्पाहका लागि १८ यार्ड बक्सको छेउमै पास मिलाइदिएका थिए। तर बेम्पाहको प्रहार एपीएफको पोस्टमाथिबाट बाहिरिन पुग्यो।

त्यसको पाँच मिनेटपछि एरिक विष्टले फ्रिकिक प्रहार गरे। उनको प्रहार एपीएफको रक्षापंक्तिले फर्कादिए पनि बल आशिष चौधरीले पाए। कसैको निगरानीमा नहरहेका उनले प्रहार त गरे, तर प्रयास गोलमा परिणत भएन।

पहिलो हाफ सकिनै लाग्दा चर्च ब्वाइज गोलको नजिक पुगेको थियो। तर यसपालि बेम्पाहको प्रहार पोस्टमा लाग्दै बाहिरियो।

दोस्रो हाफमा पनि आक्रामक देखिएको चर्च ब्वाइजका सुवास गुरुङले ४७ औँ मिनेटमा वान भर्सेस वानको स्थितिमा पनि गोल गर्न सकेनन्। ६७ औँ मिनेटमा फेरि एकपल्ट बेम्पाहले चर्च ब्वाइजको आक्रमणको नेतृत्व गरे। एपीएफका रक्षकहरुको निगरानीमा नरहेका उनले गरेको हेडर पोस्टमाथिबाट बाहिरियो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय मिडफिल्डर गगनदीप सिंहले गरेको लोभलाग्दो प्रहारलाई एपीएफका गोलरक्षक कुरियामाले मुस्किलले पन्च गर्दै बाहिर पठाइदिए। खेलको उत्तरार्द्धमा चर्च ब्वाइज पुनः एकपटक अभागी सावित भयो। बेम्पाहले प्रहार गरेको फ्रिकिक बारमा ठोक्क्यिो।

एपीएफले पहिलो हाफको मध्यतिर र दोस्रो हाफको उत्तरार्द्धमा गोल गर्ने अवसर पाएको थियो। कप्तान नवीन लामाले पहिलो हाफको २४ औँ मिनेटमा अर्मान्ड बिडौमका लागि चर्च ब्वाइजको पेनाल्टी क्षेत्रको नजिकमा पास निकालिदिएका थिए।

बिडौमले आक्रमण त बुने, तर उनको प्रहारलाई रोक्न चर्च ब्वाइजका गोलरक्षक गुइलाम भेस प्रिसोलाई गाह्रो भएन। दोस्रो हाफमा मणी कुमार लामाको फ्रिकिक एपीएफका लागि गोलको अवसर बनेको थियो। फ्रिकिकबाट आएको बल ६ यार्ड बक्सभित्र रहेका एडामा डौम्बयिाले नियन्त्रणमा लिन सकेनन्।

ठ्याक्कै यही स्थिति अतिरिक्त समयमा पनि दोहोरियो। मणीले प्रहार गरेको कर्नरबाट आएको बलसँग आवास लामिछाने थोरैले ‘कनेक्ट’ नहुँदा एपीएफले गोलको सुनौलो अवसर गुमाए।

एक अंकमा सन्तुष्ट

बराबरीपछि चर्च ब्वाइजका गोलकिपिङ प्रशिक्षक मिहिर मिलिन्द सावन्तले आफ्नो टिम बाँडिएको अंकमा सन्तुष्ट हुन बाध्य भएको प्रतिक्रिया दिए। ‘हामीले राम्रो खेल्यौँ तर जित्न सकेनौँ। कम्तीमा एक अंक आयो, यसमा खुसी हुनुबाहेकको विकल्प छैन,’ सावन्तले भने।

सावन्तले प्रदीपको बहिर्गमनले टिमको प्रदर्शनमा केही असर नगरेको पनि बताए। ‘प्रशिक्षक आउँछन् जान्छन्, मुख्य कुरा चाहिँ टिमभित्रको एकता हो। त्यो एकता टिममा छ। प्रतिबद्धताको कमी छैन,’ सावन्तले भने। उनले टिमका मुख्य फरवार्ड अन्जन विष्ट फेरि घाइते भएको र उनको स्थानमा नयाँ स्ट्राइकर ल्याएको बताए। यद्यपि नयाँ स्ट्राइकरको आगमनबारे केही दिनमा मात्र जानकारी दिने सावन्तको भनाइ थियो।

उता एपीएफका मुख्यप्रशिक्षक रत्नकाजी महर्जनले यो बराबरीका कारण टिमको शीर्ष तीनमा पर्ने लक्ष्यमा असर पुगेको प्रतिक्रिया दिए।

‘हामी तीन अंक बटुल्न आएका थियौँ। अब यो बराबरीले निश्चित रुपमा हाम्रो लक्ष्यमा असर पुगेको छ,’ रत्नकाजीले भने, ‘मिडफिल्ड र रक्षापंक्तिमा समस्या देखिइरहेको छ। यी पक्षमा सुधार नगरे, हामी शीर्ष तीनमा पर्न गाह्रो छ।’

प्रकाशित: २७ चैत २०७९ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =