काठमाडौँ- सिद्धार्थ बैंकले ‘ग्लोबल मनी वीक २०२३’का विजेतालाई पुरस्कार वितरण गरेको छ। बैंकले ग्लोबल मनी वीक भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको हो।
यस वर्षको ग्लोबल मनी वीकको नारा ‘प्लान्ट योर मनी, प्लान्ट योर फ्युचर’ रहेको थियो। सोही नारालाई सार्थक बनाउने उद्देश्यले बैंकले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो।
भिडियोमा ‘बैंकमा बचत गर्नुका फाइदाहरू’ शीर्षकमा भिडियो बनाउनुपर्ने मापदण्ड थियो। अधिकतम मन पराइएका भिडियोको आधारमा तीन प्रतियोगीलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था थियो। विजेताहरूलाई आइतबार बैंकको प्रधान कार्यालयमा एक समारोहकाबीच पुरस्कार प्रदान गरिएको बैंकले जानकारी दिएको छ।
बैंकका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए। श्रेष्ठले यस्ता प्रतियोगीताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए।
साथै बैंकले देशका सातै प्रदेशमा विभिन्न ९८ स्थानमा वित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरेको थियो।