अपार्टमेन्ट बनाउँदा सर्वसाधारणका घर भासिए

हिमाल प्रेस २५ चैत २०७९ १४:३५
4
SHARES
अपार्टमेन्ट बनाउँदा सर्वसाधारणका घर भासिए

काठमाडौँ- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएका छन्। शुक्रबार राति अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय बस्ती जोखिममा परेका छन्।

बस्ती नै जोखिममा परेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन भन्दै घर छाड्न थालेका छन्। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन थालिएपछि आफूहरूका घर भासिन पुगेको स्थानीयले गुनासो गरेका छन्।

घर भासिँदा बस्ने ठाउँ समेत गुम्न थालेको भन्दै स्थानीय चिन्तित देखिएका छन्। उनीहरूले आवश्यक व्यवस्था गरिदिन ठेकेदार कम्पनीलगायत सम्बन्धित पक्षसँग माग गरेका छन्।

निर्माणाधीन अपार्टमेन्ट वरपरका घरहरू एक तलासम्म चर्किएका छन्। ती घरहरूमा भाडामा बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको गुनासो स्थानीयले गरेका छन्।

अपार्टमेन्ट बनाउन सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको स्थानीयको आरोप छ। गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूको बस्ती नै जोखिममा पार्ने कार्य भएको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन्।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शनिबार बिहान भासिएका घरहरूको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।

सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग पनि छलफल गरेको बताइन्। स्थानीयलाई क्षतिपूर्ति दिन आफू लागिपर्ने कार्कीको प्रतिबद्धता छ।

अपार्टमेन्ट निर्माणको क्रममा घरहरू भासिएपछि भागदौड गर्ने क्रममा केही सर्वसाधारण घाइते पनि भएका छन्। उनीहरूको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीको आश्वासन छ।

अपार्टमेन्ट निर्माणधीन क्षेत्र वरपरको सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा निकै चिन्तित छन्। पछिल्लो समय स्थानीयले दबाब दिएपछि अपार्टमेन्ट निर्माणको काम रोकिएको छ।

प्रकाशित: २५ चैत २०७९ १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =