महामहिम राजेश्वर आचार्यले आफू चीनका लागि शाही नेपाली राजदूत (वि.सं. २०५५-२०५९) रहँदाका अनुभव एवं अनुभूतिलाई समेटेर लेख्नुभएको कूटनीतिक डायरी प्रारम्भिक मसौदाको क्रममा छँदै पढ्ने अवसर पाएको थिएँ। अभिरुचि राखेर पढें र परिमार्जनका लागि उपयोगी हुनसक्ने केही सुझाउ पनि लेखकलाई दिएँ। उहाँले त्यस परामर्शलाई सान्दर्भिक पाउनुभयो होला।
राजदूत नियुक्तिको पृष्ठभूमिको चर्चा केही समय पहिले प्रकाशित आचार्यकै आलेखमा पढेको थिएँ। अहिलेको संस्मरण त्यसै परिवेशको हो,तर सानो प्रसङ्गमा सीमित छैन। जस्तै, राजदूतको कार्यभार सम्हाल्न बेइजिङ प्रस्थान गर्नुअघि राजा वीरेन्द्रसँग राजदरबारमा भएको दर्शन-भेटका अवसरमा प्राप्त जानकारी तथा विश्लेषण कालान्तरमा चीन पुगेपछि अमूल्य मार्गदर्शन भएको कुरा आचार्य आफैंले सगर्व उल्लेख गर्नुभएको छ। वीरेन्द्रको राज्यकाल झण्डै तीस वर्ष रह्यो; तर उनी युवराज हुँदैदेखि चीन जान थालेका थिए। २०५७ को भ्रमण दशौं पटकको चीन-प्रवास थियो। यसरी पटकपटक गरिएको यात्राले राजालाई सम्भवतः चीनको जनजीवन,शासनपद्धति र परराष्ट्र नीतिबारे स्तरीय जानकार (विज्ञ) बनाएको थियो।
स्मरणीय छ, २०४७ सालको संविधानले राजाको भूमिका ‘संवैधानिक राष्ट्राध्यक्ष’को भनेर तय गरेको थियो। अतः अन्य कतिपय नियुक्तिमा जस्तै आचार्यलाई राजदूत बनाउने निर्णय पनि निर्वाचित सरकारबाटै भएको थियो। खालि त्यसलाई अनुमोदन राजाबाट गरिनु पर्दथ्यो; गरियो। त्यस बखतको संविधानमा राजालाई सरकारी कामकाजका विषयमा सूचना लिने, सरकारलाई सजग गराउने र प्रोत्साहन दिने आदि बुँदा राखिएका थिए।
संयोग हो, चार वर्षको कार्यावधिमा राजदूत आचार्यले दुई राजा वीरेन्द्र र ज्ञानेन्द्रको प्रतिनिधि भएर काम गर्नुभएछ। त्यस अवधिमा नेपालमा पाँचवटा सरकार बहाल भएछन्। राजनीतिक अस्थिरताको त्यो सूचकाङ्क हालैका वर्षमा आएर झन् बिग्रेको छ। जग-जाहेर छ, २०५८ साल जेठको ‘नारायणहिटी पर्व’ मा राजा वीरेन्द्र र उनको वंश नै समाप्त भएपछि नेपालको एकता र स्थायित्व खल्बलिन थालेको हो।
‘नेपालमा चिनियाँ गतिविधि बढेको खासगरी राजतन्त्रको अन्त्यपछि नै हो’ भनेर आचार्यले २०६५ साल जेठपछिको कालखण्डलाई पनि इङ्गित गर्नुभएको छ। भन्नु परोइन, उदीयमान विश्वशक्ति चीनको गतिविधि यस भेगमा अकारण बढेको होइन। मूलतः दक्षिण र पश्चिमका प्रतिस्पर्धी शक्तिहरूको यस भेगमा बढेको चलखेलको प्रतिकार गर्ने क्रममा उत्तरी छिमेकी चनाखो भएको हो। नेपाल चीनसँग सिमाना जोडिएका चौधमध्येको एक छिमेकी-राष्ट्र हो। र, उसले सीमा-सुरक्षाको हिसाबले सतर्क रहनु बिलकुलै जायज कुरो हो। स्पष्टै छ, नेपालजस्ता मुलुकले चीनको अवधारणा बुझेर नीतिगत सामञ्जस्य मिलाई राष्ट्रिय हित संरक्षण गर्न सक्नुपर्छ। समयको सङ्केत बुझ्न ढिलो गर्नु हुँदैन।
यस प्रकाशनमा राजदूत आचार्यले नेपाली जनतालाई चीनसित निकटबाट चिनारी गराउन सघाउ पुग्ने मनग्गे जानकारी समेट्नुभएको छ। सन् १९४९ पछिको छोटो कालखण्डमै चीनको आर्थिक विकास कसरी सम्भव भयो त्यसको झलक राम्ररी दिनुभएको छ। अर्थशास्त्रको प्राध्यापन र त्यसै सेरोफेरोमा अनुसन्धानमा बीसौं वर्ष सक्रिय रहेको हुनाले आचार्यले यस पाटोलाई राम्ररी उजिल्याउनुभएको देखिन्छ। उहाँको सीप प्रशंसनीय स्तरको छ।
राजदूत आचार्यले यस पुस्तकमा मङ्गोलिया र उत्तर कोरियाबारे यतिञ्जेल दुर्लभ रहेका कतिपय तथ्य-तथ्याङ्क उपलब्ध गराउनुभएको छ।आफू गैरआवासीय राजदूत भई काम गर्दा ती दुई देशमा भएका घटना, प्रसङ्गहरूलाई समेत एकत्र गरेर राख्नुभएको रहेछ। ठूलो देशमा आवासीय राजदूत खटिएको एक व्यस्त कूटनीतिक अधिकारीको लागि यो सहज कार्य होइन। राजाहरूको सवारी चलाउनु, प्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरूको भ्रमण गराउनु, विभिन्न प्रयोजनका लागि आएका प्रतिनिधिमण्डलका लागि उपयुक्त कार्यक्रम तय गर्नु, कूटनीतिक समुदायसँग पारस्परिकताको आधारमा अन्तर्क्रिया, दिवा/रात्रिभोजको चाँजो मिलाउनु जस्ता चटारोबाट समय निकाली कार्यालय सञ्चालनको काम भ्याउनु साँच्चिकैको चुनौती हो। रुचिका सन्दर्भ टिपेर राख्नु अतिरिक्त अभिलेख भयो।
यो संस्मरण प्रकाशनको काम गरेर आचार्यले भविष्यमा राजदूतको जिम्मेवारी (विशेष गरेर चीनको) वहन गर्न अवसर पाउने नेपालीलाई गुन लगाएको मानिनेछ। किनभने यसमा ‘एक चीन नीति’ लगायतका सावधानी अपनाउनुपर्ने मुख्य-मुख्य बुँदा समावेश भएका छन्। आचार्यले एक ठाउँमा लेख्नुभएको छः– ‘कूटनीतिमा गोपनीयताको अत्यन्त ठूलो महत्त्व हुन्छ।’ साथमा पदीय शपथको कुराले पनि महत्त्व राख्दछ। यो संस्मरण लेख्दा उहाँ आफैंले पनि यस कुराको हेक्का गर्नुभएको होला।
नेपाली कूटनीतिका मनीषी भनेर आदरसाथ नामोच्चारण गरिने प्रोफेसर यदुनाथ खनालले पनि राजदूतको एक कार्यकाल (२०३५-२०३९) चीनमा बिताउनु भएको हो। त्यसअघि खनालले नेपालको लागि महत्त्व राख्ने अन्य दुई देश भारत र संयुक्त राज्य अमेरिकामा पनि राजदूत भएर काम गर्नुभएको थियो। खनाल दुई पटक परराष्ट्र सचिवको जिम्मेवारीमा पनि बस्नुभएको थियो। २०६१ साल असोजमा परलोक हुनुभएका खनालको सम्मान गर्दै यसैवर्ष अर्थात् २०७९ सालको आरम्भमा परराष्ट्र मन्त्रालयले ‘ यदुनाथ खनाल प्रवचनमाला ’को थालनी गरेको छ। जे होस्, राजदूत आचार्य कार्यभार सम्हाल्न चीन प्रस्थान गर्नुअघि प्रोफेसर खनालसँग भेट्न उहाँकोमा जानुभएछ। खनालज्यूको शुभेच्छा पाउने व्यक्ति आफ्नो नियोगमा अवश्य सफल भएको हुनुपर्छ।
प्रकाशित पुस्तकबाट साभार मन्तब्य