हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास बढ्यो : सांसद रघुजी पन्त

हिमाल प्रेस २७ चैत २०७९ १४:४९ | Monday, April 10, 2023
हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास बढ्यो : सांसद रघुजी पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सुरक्षाकर्मीमाथि अविश्वास बढेको बताएका छन्। भारतीय सुरक्षाकर्मीको खोजीको सूचीमा रहेका आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरू अनुमतिबिनै नेपाल आएर खोजिरहेको भन्दै नेपाली सुरक्षाकर्मी र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका हुन्।

उनले कुनै पनि विखण्डन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमतिबिना नेपाल आउन नेपालको कानुनले नदिएको बताए।

‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरू नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरू छापिएका छन्’, उनले भने, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन।’

उनले नेपाल स्वतन्त्र र सार्वभौम देश भएकाले यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्ने बताए। ‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ,’ उनले भने, ‘उदाहरणका लागि चार्ल्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो।’

साथै उनले नेपालको कानुनले बाह्य देशका सुरक्षाकर्मी बलजफ्ती पस्ने कुरा उपयुक्त नहुने भन्दै यसबारे नेपाल सरकारले नेपाली जनता र संसद्लाई जानकरी गराउनुपर्ने बताए।

खुला सीमाको दुरुपयोग बढेको बारे सरकारको धारणा के हो? भन्दै उनले प्रश्न गरेका छन्।

प्रकाशित: २७ चैत २०७९ १४:४९ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast