सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस् : कामु प्रधानन्यायाधीश

हिमाल प्रेस १ वैशाख २०८० ८:०२ | Friday, April 14, 2023
सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस् : कामु प्रधानन्यायाधीश

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन्।

कामु प्रधानन्यायाधीश कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा विक्रम संवत् २०८० को प्रारम्भ अर्थात् नववर्षको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका हुन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले आत्मसात् गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य तथा मान्यताहरूलाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विक्रम संवत् २०८० मा विशेष योगदान पुग्न सकोस् भन्ने कामना गर्दछु।’

कामु प्रधानन्यायाधीश कार्कीले सबैमा सुस्वास्थ्य, दीर्घायु एवं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

सन्देशमा सहज पहुँचयोग्य, छिटोछरितो एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्यायको सुनिश्चित गर्ने र न्यायिक सुशासन, गुणस्तरीय सेवा प्रवाहलगायत न्यायपालिकाले अगाडि सारेका सुधारका कार्यक्रमहरूले नयाँ वर्षमा थप गति प्राप्त गर्दै जाने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: १ वैशाख २०८० ८:०२ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast