 
                             
                                            पोखरा– पोखरा महानगरपालिका वडा २५ हेमजामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ। स्थानीय विष्णुपादुका क्लब आयोजनामा सुरु महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले व्यावसायिक कृषिमा जोड दिए।
मन्त्रालय कृषि नीति सुधार्ने तयारीमा रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको उनले बताए। प्रदेशसभा सदस्य गणेशमान गुरुङले निर्वाहमुखी खेतीले केही नहुने स्पष्ट पार्दै महोत्सवसँगै उत्पादनमा जोडिन प्रण गर्नुपर्ने उल्लेख गरे।
कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागार्इँले हेमजा र आलु पर्यायजस्तै भएको बताउँदै आयोजकप्रति आभार प्रकट गरे। आलुविज्ञ श्याम ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए। महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेल मैदानसम्म कृषि झाँकीसहित शोभायात्रा निकालियो।
शोभायात्रामा हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो पनि गरे।
महोत्सवमा कलाकारको दैनिक प्रस्तुति रहने छ। महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाडा, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ विजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी हुने छ।
कोभिडका कारण विगतमा रोकिएको महोत्सवलाई यसपालि फेरि निरन्तरता दिइएको हो। महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलु बिक्री भइरहेको क्लब अध्यक्ष सुविन श्रेष्ठले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 