कांग्रेस उपसभापति गुरुङले भने : आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गरौँ

हिमाल प्रेस १२ वैशाख २०८० १५:०७ | Tuesday, April 25, 2023
कांग्रेस उपसभापति गुरुङले भने : आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गरौँ धनराज गुरुङ

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।  गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताएका हुन्।

मुलुक आर्थिक संकटबाट गुज्रिएकाले निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।

‘अहिले हामी पनि अप्ठयारोमा परेका छौँ। हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छौँ। मुलुक आर्थिक महासंकटमा परेको छ। हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ,’ मंगलबारको संसद् बैठकमा उनले भने, ‘तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पुँजीगत खर्च भारी रुपमा कटौति गर्न खोजिएको आभास भएको छ। पुँजीगत खर्च कटौति गरेर उभोगतितिर लैजान सकिदैनँ।’

गाउँको बाँदर आतंक रोक्न पनि श्रीलंकाले जस्तै आयात गर्नुपर्ने उनको भनाइ छ। ‘श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ। सभामुख महोदय हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतंक मच्चिएको छ,’ उनले भने, ‘ बाँदर आतंक फैलिएको छ। हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन। कृषिमा आधुनिकीकरण गरौँ। कृषिमा वैज्ञानिकीकरण गरौं। हामी एकातिर भन्दैछौँ। अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ। हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला। यसोभन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ। तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुपर्छ।’

प्रकाशित: १२ वैशाख २०८० १५:०७ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast