सिरी ए : बोलोन्यासँग रोकिएपछि मिलानको चौथो स्थान खतरामा

हिमाल प्रेस २ वैशाख २०८० २१:४४ | Saturday, April 15, 2023
सिरी ए : बोलोन्यासँग रोकिएपछि मिलानको चौथो स्थान खतरामा बाेलाेन्याविरुद्ध गाेल गरेपछि एसी मिलानका खेलाडी

काठमाडौँ- एसी मिलान इटालेली सिरी ‘ए’ मा शनिबार बोलोन्यासँग १–१ को बराबरीमा रोकिएको छ। दोस्रो रोजाइको टिम मैदान उतारेको मिलान यो बराबरीसँगै शीर्ष चारको दौडमा पछि पर्ने सम्भावना बढेको छ। मिलान हाल ३० खेलबाट ५३ अंक बटुलेर चौथो स्थानमा छ। तर शनिबार राति मोन्जालाई हराए पाँचौँ स्थानको इन्टर मिलानले चौथो स्थान खोस्नेछ।

आउँदो मंगलबार राति च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेग खेल्नु पर्ने भएकाले मिलानले आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिएको थियो। पहिलो लेगमा नापोलीलाई १–० ले हराएको मिलान दोस्रो लेगका लागि नापोली जानेछ। जहाँ मिलानको लक्ष्य, जसरी हुन्छ लिग लिडरविरुद्ध अग्रता बचाउने हुनेछ।

गत साता सान सिरोमा नापोलीसँग मिलानको पहिलो एघारमा परेका १० खेलाडीलाई लिगको यो खेलका लागि बेन्चमा राखिएको थियो। गोलरक्षक माइक माइगनानले गोलपोस्टमा निरन्तरता पाए पनि मिलान ३३ औँ सेकेन्डमा गोल खान पुग्यो। मिलानलाई स्तब्ध बनाउन निकोला सान्सोनेले स्टिफान पोस्चको क्रसमा गोल गरेका थिए।

गोल खाए पनि खेलमाथि पूर्ण नियन्त्रण जमाएको मिलानले ४० औँ मिनेटमा गोल फर्कायो। २३ वर्षीय मिडफिल्डर टोमासो पोबेगाले मिलानको बराबरी गोल गरेका थिए। उसो त गोल गर्नुअघि मिलानले बारम्बार आक्रमण बुनेको थियो। तर मिलानका एन्टे रेबिच र अलेसान्द्रो फ्लोरेन्जीका प्रयास बोलोन्याका गोलरक्षक लुकास स्कोरुप्स्कीले असफल पारेका थिए।

मिलानका प्रशिक्षक स्टिफियानो पिओलीले दोस्रो हाफमा ब्राहिम डियाज र राफाएल लिआओ जस्ता मुख्य खेलाडी मैदानभित्र पठाए पनि इटालेली च्याम्पियनले गोल थप्न सकेन।

बराबरीपछि बोलोन्या आठौँ स्थानमा छ। ३० खेलबाट ४४ अंक बटुलेको बोलोन्या छैटौँ स्थानमा रहेको एटलान्टाबाट जम्मा चार अंकले पछि छ। छैटौँ स्थानमा लिग समापन गर्ने टिमले अर्को सिजन युरोपा कन्फ्रेन्स लिग खेल्न पाउनेछ। उता युभेन्टसको भने २९ खेलबाट ४४ अंक छ। आइतबार सासुओलोलाई हराए युभेन्टस पनि छैटौँ स्थानको नजिक पुग्नसक्छ।

शीर्ष दुईमा नापोली र लाजियो यथावत् छन्। नापोलीको ७४ र लाजियोको ६१ अंक छ। लाजियोभन्दा एक खेल कम खेलेको नापोली शनिबार राति हेल्लास भेरोनाविरुद्ध खेल्दैछ।

लाजियोले भने आफ्नो ३० औँ खेलमा शनिबार स्पेजियालाई पराजित गरेको हो। तेस्रो स्थानको एएस रोमाले भने आइतबार राति उडिनेसेको सामना गर्दैछ। पछिल्ला दुई खेल जितेको रोमासँग २९ खेलबाट ५३ अंक छ। जुन एक खेल बढी खेलेको मिलानसँग बराबर हो।

प्रकाशित: २ वैशाख २०८० २१:४४ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast