भाइ महतलाई दाइ महत बन्ने अवसर

हिमाल प्रेस १७ चैत २०७९ २२:३२
104
SHARES
भाइ महतलाई दाइ महत बन्ने अवसर नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महत शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रत्यक्ष निर्वाचनमा सधैँ पछि परे पनि नेपाली कांग्रेसबाट अवसर पाउने ‘भाग्यमानी’ व्यक्तिमा पर्छन्  डा. प्रकाशशरण महत।  सधैँ शेरबहादुर देउवा नजिक रहेर राजनीति गरेका महतले आफूले रोजेको मन्त्रालय भने पहिलोपटक पाएका छन्।

उनका आफन्त सुनाउँछन्– उनलाई दाजु (डा. रामशरण महत, जो पटकपटक अर्थमन्त्री बनेका थिए) ले पटकपटक सम्हालेको अर्थ मन्त्रालयको नेतृत्व गर्ने रहर हुन्थ्यो तर पाउँथे अर्कै मन्त्रालय।’

डा. प्रकाशरण महत दुई पटक परराष्ट्रमन्त्री भए। पहिलोपटक राज्य र दोस्रो पटक विभागीय मन्त्री बने। एकपटक उनी ऊर्जामन्त्री पनि बने।  पहिलोपटक परराष्ट्र राज्यमन्त्री हुँदा इराक घटनामा उनी आलोचित बने।

दोस्रो पटक परराष्ट्रमन्त्री बन्दा राजदूत नियुक्तिमा विवादमा तानिए। ऊर्जामन्त्रीका रूपमा रहँदा पनि उनी आलोचनामुक्त भएनन्।
महत कर्मचारीलाई तह लगाउने मन्त्रीमध्येका एक हुन्। त्यसैले सिंहदरबारभित्रका कर्मचारी उनलाई खासै रुचाउँदैनन्।

महतले तेस्रोपटक मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै गर्दा नेपालको अर्थतन्त्र धराशयी बनेको छ। अर्थतन्त्रसँग जोडिएका हरेक सूचकांक रातो छ।  राजस्वले चालु खर्च धान्न मुस्किल छ भने समग्र अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ। सार्वजनिक र मौद्रिक क्षेत्रमा समस्या छन्। राजस्व लक्ष्यभन्दा निकै तल छ। अर्थतन्त्रको गतिको सारथि मानिने पुँजीगत खर्च निकै कम छ।

बजार सुस्त छ। वस्तु तथा सेवाको माग घटेकाले उद्योगधन्दा समस्या छन् भने सेवा क्षेत्र पनि ठप्प छ। निर्माण क्षेत्र अघि बढ्न सकेको छैन। बैंक ब्याजदर उच्च छ। नयाँ परियोजनामा लगानी घटेका कारण कर्जा विस्तार हुन सकेको छैन। घरजग्गा कारोबार ठप्प छ। पुँजीबजारमा निराशा मात्रै छ। यही कमजोर अर्थ नीति सुधार्न डा. महतले के जादु गर्लान् त? अब उनले कस्ता नीति लिएर कार्यान्वयन गर्लान्, त्यही विषय महत्त्वपूर्ण हुन्छ।

‘नयाँ अर्थमन्त्रीले अर्थतन्त्रको समस्या पहिचानसँगै कठोर अडान लिएर अघि बढ्न सक्नुपर्छ। तर यसका लागि सबै पक्षलाई विश्वासमा लिनैपर्छ।’

हुन त अर्थतन्त्रको पाँच अक्षर पढ्नबाहेक अन्य नजानेकाले पनि मन्त्रालय चलाएकै हुन्। डा. महत भने अमेरिकामा अर्थशास्त्र पढेर आएका व्यक्ति हुन्। त्यसैले उनीमाथि आशा गर्ने पनि धेरै छन्।

अर्थमन्त्री महतले मुलुकको खस्कँदो अर्थतन्त्र उकास्न निकै अलोकप्रिय निर्णय लिनुपर्ने सुझाव अर्थविद् विश्वास गौचनको छ। उनी भन्छन्, ‘कतिपय विषयमा आँटपूर्वक गर्न सके मात्र अर्थतन्त्रमा सुधार आउनेछ। अन्यथा मुलुक जस्ताको तस्तै रहन्छ।’

नवनियुक्त अर्थमन्त्रीका लागि समस्याग्रस्त क्षेत्रको पहिचान पहिलो चुनौती रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्। उनी भन्छन्, ‘नयाँ अर्थमन्त्रीले अर्थतन्त्रको समस्या पहिचानसँगै कठोर अडान लिएर अघि बढ्न सक्नुपर्छ। तर यसका लागि सबै पक्षलाई विश्वासमा लिनैपर्छ।’

महतले पहिले मन्त्री भए जसरी हाट्टहुट्ट गरेर अर्थ मन्त्रालय नचल्ने जानकारहरू बताउँछन्। अर्थमन्त्रीले तत्काल चालु खर्चमा व्यापक कटौती गर्न आवश्यक रहेको उनीहरूको सुझाव छ। परराष्ट्रमन्त्रीसमेत रहिसकेकाले दातृ निकायसँग सहकार्य पनि उत्तिकै अपरिहार्य छ। महतले तत्काल आर्थिक तथा लगानीको स्रोत खोज्नुपर्ने पनि देखिन्छ।

अबको दुई महिनामा उनले २०८०/८१ को बजेट सार्वजनिक गर्नुपर्छ। यसका लागि राजनीतिक भन्दा पनि आर्थिक पाटोमा केन्द्रित रहेर आर्थिक लाभमा उपयोग गर्नु उनको प्रमुख दायित्व हुनेछ। खुम्चिएको क्षेत्रको स्रोत बढाउने काम पनि सहज छैन। बजेटमा ठूला कार्यक्रमको माग व्यवस्थापन गर्ने कार्य पनि अर्थमन्त्रीको महतका लागि सहज छैन।

उनको स्वभाव भने मन्त्रालयलाई राम्ररी चलाउने खालको नरहेको निकट नेताहरू बताउँछन्। ‘पहिला स्पष्ट कुरा राख्न नसक्ने र पछि जंगिने स्वभाव रहेका कारण हाँले अर्थ मन्त्रालयलाई सहजै अघि बढाउनुहोला जस्तो लाग्दैन’, लामो समयदेखि उनी निकट रहेका कांग्रेसका एक नेताले भने।

उनलाई सभापति देउवाको मन जितेर अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको भन्ने पनि छन्। त्यसैले उनले आगामी दिनमा कसरी काम गर्छन् भन्नेमा शंका छ। यस्तै अर्थतन्त्रको संकट कसरी पार लगाउँछन् भन्ने दरिलो आधार महतसँग देखिँदैन।

योजना आयोगको उपाध्यक्ष हुँदै अर्थमन्त्री भएका उनका दाइ डा. रामशरण महत बहुदलीय प्रजातन्त्रका बेला नेपालको अर्थतन्त्रको रूपरेखा कोर्नेमध्येका अगुवा मानिन्छन्।
अर्थमन्त्री भएका बेला ‘डा. रामशरण मुलुकको ढुकुटी भर्छ, पछि अर्को सरकारले खर्च गर्छ’ भन्ने भनाइ लोकप्रिय रहेको डा. रामशरणलाई चिन्नेहरू बताउँछन्।

मुलुकमा मूल्य अधिवृद्धि कर लागू गर्नेदेखि निजी क्षेत्रमा लगानी गर्ने बैँक खोल्ने, नेपालीलाई विदेशमा जान सहजीकरण गर्नेलगायतको काममा उनको भूमिका थियो।

विदेशमा आकर्षक जागिर खाइरहेका डा. रामशरणलाई २०४८ सालमा सत्ता नेतृत्वमा आएका गिरिजाप्रसाद कोइरालाले बोलाएका थिए। तत्कालीन राजा महेन्द्रले विदेशमा रहेका डा. भेषबहादुर थापालाई ल्याएर अर्थराजनीति विज्ञका रूपमा स्थापित गराएका थिए भने कोइरालाले रामशरण महतलाई नेपाल फिर्ता गरेर अर्थतन्त्र सबल बनाउने प्रयास गरेका थिए।

डा. महत पटकपटक अर्थमन्त्री भए। उनी अर्थमन्त्री हुँदा नेपालको अर्थतन्त्र सकारात्मक लयमा थियो। उनै रामशरणको छत्रछायामा हुर्केका र अध्ययन गर्न बाहिर गएका प्रकाशशरण पनि अर्थशास्त्र अध्ययन गरेर नेपाल आएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक प्रकाशशरणले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–च्याम्पेनबाट स्नातकोत्तर र साउदर्न इलिनोइस विश्वविद्यालयका पीएचडी गरेका छन्।

‘भाइ महतलाई नेपालको अर्थतन्त्रमा सकारात्मक धारमा अघि बढाउने दाइ महत बन्ने मौका आएको छ। यसको सदुपयोग गर्न नछुटाऊन्।’

विद्यार्थी कालदेखि राजनीतिमा लागेका महतले संसद् प्रवेश भने २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यका रूपमा गरेका थिए। उनी पहिलो र दोस्रो दुवै संविधानसभाका सभासद् थिए।

प्रकाशशरण यतिबेला पार्टीमा केन्द्रीय सदस्यसहित प्रवक्ताको भूमिकामा छन्। उनी गत १४ औँ महाधिवेशनमा महामन्त्री उठेर पराजित भएका थिए। अघिल्लो संसदीय निर्वाचनमा काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित महत मंसिर ४ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फबाट सांसद भएका हुन्।

अर्थ मन्त्रालयको नेतृत्व पाउनु महतका लागि अवसर र चुनौती दुवै हुन्। दाइले जसरी अर्थतन्त्रमा सुधार गर्नु उनका लागि अवसर हो भने धराशयी बनेको अर्थतन्त्रलाई लयमा ल्याउनु उनका लागि चुनौती हो।

अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्दा निजी क्षेत्र उत्साहित हुनुपर्ने हो। तर महतले पाउँदा त्यति उत्साहित भएको पाइँदैन। महतको विगतलाई नियाल्दा निजी क्षेत्र उनीसँग खुसी देखिन्नन्। त्यसैले पनि उनलाई त्यति सजिलो छैन।

डा. महत राजनीतिक रुपमा भने चतुर मानिन्छन्। आफ्नो योजनाबारे नेतृत्वलाई सहमत गराउन सक्ने क्षमता भएका उनी आमनागरिकमा भिजेका छैनन्। नागरिकमा आस देखाउन सकेमात्र पनि उनका लागि उपलब्धिमूलक हुने विज्ञहरू बताउँछन्। उनीहरू भन्छन्, ‘भाइ महतलाई नेपालको अर्थतन्त्रमा सकारात्मक धारमा अघि बढाउने दाइ महत बन्ने मौका आएको छ। यसको सदुपयोग गर्न नछुटाऊन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =