सुर्यविनायक-साँगा ६ लेन सडक विस्तार सुरु

हिमाल प्रेस १६ चैत २०७९ १९:२१
8
SHARES
सुर्यविनायक-साँगा ६ लेन सडक विस्तार सुरु फाइल तस्बिर- रासस

काठमाडौँ– सुर्यविनायक-धुलिखेल, धुलिखल-सिन्धुली-बर्दिवास सडक आयोजनाअन्तर्गत सुर्यविनायक-साँगा सडकखण्डको विस्तार सुरु भएको छ।

आयोजनाले बिहीबार (आज) सुर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर-२ का संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, योजना प्रमुख राजेन्द्र दासलगायत भक्तपुरका जनप्रतिनिधिले संयुक्त रूपमा ढुंगा बिछ्याएर सडक विस्तार कार्यको सुरुवात गरे।

प्रतिनिधिसभा सदस्य थापाले यो सडकको विस्तार योजनामा संघीय सरकारअन्तर्गतकै बजेट रहेकाले बजेटको कमीले सडक निर्माणमा ढिलाइ नहुने बताए। उनले कुनै पनि सडक निर्माण हुँदा कम्तीमा २५ वर्षपछिको भविष्य हेरेर कार्य गर्नुपर्नेमा जोड दिँदै सडकमा जेब्रा क्रसिङ, आकाशे पुललगायतका विभिन्न संरचना कहाँ र कसरी राख्ने भन्ने निर्णयअगाडि नै हुनुपर्ने बताए।

प्रदेशसभा सदस्य थापाले आफू वडाध्यक्ष हुँदा सडक पेटीका संरचना हटाएर सडक जाम खुलाउने र सडक अतिक्रमणलाई रोकेको बताउँदै सडक निर्माणमा सबैको सहयोग हनुपर्नेमा जोड दिए।

उनले यो सडक निर्माणको क्रममा सवारी जाम हुन सक्ने भन्दै सुर्यविनायक सिपाडोल साँगाको वैकल्पिक बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न सकिने सुझाव दिए।

सुर्यविनायक नगरपालिकाका प्रमुख थापाले यो सडकखण्डमा सुर्यविनायकका ३ वटा वडा पर्ने भन्दै स्थानीयवासीलाई असुविधा नहुने गरी सडक निर्माण कार्यअगाडि बढाउन आग्रह गरे।

भक्तपुर नगरपालिका-७ का वडाध्यक्ष उकेश कवांले ठेक्का सम्झौता र मापदण्डअनुसार सडक निर्माण गर्न र सम्भावित दुर्घटना एवम् धनजनको क्षति नहुने गरी काम गर्न सुझाव दिए।

आयोजना प्रमुख दासले सडक शिलान्यास गर्न बाँकी नै रहे पनि निर्माण कम्पनीले काममा ढिलाइ नगर्नका लागि शुभ साइत निकालेर बिहीबार (आज)देखि सडक विस्तार कार्य शुभारम्भ गरेको बताए।

साढे ७ किलोमिटर लामो सुर्यविनायक-साँगा सडकखण्ड कूल ३ अर्ब ८८ करोड ९३ लाखको लागतमा मुख्य चार लेन र दायाँबायाँ २ लेन सर्भिस ट्रयाक रहने गरी ६ लेन सडक आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनासँग आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का सम्झौता गरेको आयोजना प्रमुख दासले जानकारी दिए।

सडक निर्माणका लागि २ वर्षअगाडि नै ८२ मिटरभित्रका रुखहरू काटिएको, सडकभित्र बनेको टहरा हटाइएको र सडकको सर्भिस ट्रयाक खुलाइएको थियो। बाँकी रहेका मापदण्डभित्र परेका घर भत्काइने र पाटी तथा मन्दिर सारिने भएका छन्।

सुर्यविनायकबाट धुलिखेलसम्म १६ दशमलव ३ किलोमिटरमध्ये पहिलो चरणमा चार अर्ब पाँच करोड ६४ लाखको लागतमा सम्पन्न गर्ने गरी धुलिखेलदेखि साँगासम्मको ८ दशमलव चार किमी सडकखण्डको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले केही दिनअगाडि नै निर्माण सुरु गरेको छ।

सडक विस्तारको ठेक्का पाएको कम्पनी आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीका सञ्चालक रामजी पन्तले वर्षामा पनि काम नरोक्ने गरी सम्झौता भएकै मितिभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरे।

आयोजनाका अनुसार सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) मा केही परिवर्तन हुँदा पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने छ। करिब एक अर्ब लागतमा यो सडकमा २०-२० मिटरका ३ पुल, जगाती, महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ।

साँगामा समस्या रहेको डेढदेखि २ किलोमिटर सडक जाने-आउने लेन तल-माथि हुने भएकाले सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था आएको छ।

आयोजनाका अनुसार अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सुर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ। गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित २ मिटरको फुटपाथ निर्माण हुनेछ। सडकको बीचमा ३ मिटरको ‘मेडियन’ निर्माण गरिने छ।

काठमाडौँबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेनमा पहिलेकै रूपमा रहने छ। सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब १ अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान आयोजनाले गरेको छ। आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल-भक्तपुरको सवारीचाप कम भई निकै सहज हुनेछ।

संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग यो राजमार्ग जोडिएको छ। यी सडकबाट अरनिको राजमार्ग हुँदै कोशी प्रदेश र मधेस प्रदेशका नागरिक काठमाडौँ आउजाउ गर्दछन्।

सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ। हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधन मात्र यो सडक हुँदै दैनिक १ हजारभन्दा बढी छुट्ने गरेका छन्। -रासस

प्रकाशित: १६ चैत २०७९ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =