इटहरी चोकमा उपमहानगरले चलायो डोजर

हिमाल प्रेस २९ माघ २०७९ १९:३९
22
SHARES
इटहरी चोकमा उपमहानगरले चलायो डोजर इटहरी चोक छेउको भवन भत्काउँदै उपमहानगरपालिकाको डोजर। तस्बिर-विवेक विवश रेग्मी/हिमाल प्रेस

इटहरी– इटहरीको मुख्य चोकमा उपमहानगरले डोजर चलाएको छ। आइतबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको उपस्थितिमा राजमार्गमा पर्ने भवनमा डोजर चलाइएको हो।

यसअघि उपमहानगरले इटहरी ९ का १४ घरहरूमा डोजर चलाएको थियो। आइतबारबाट भने इटहरी ६ मा डोजर चलाइएको मेयर पौडेलले जानकारी दिए।

इटहरी ६ मा पर्ने ३४ वटा घर भत्काउन शनिबारसम्मको अल्टिमेटम दिइएको थियो। तर, कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरी घर भत्काएको हो।

निर्माणाधीन ६ लेन सडक विस्तार गर्न आयोजनाले पटक-पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।

‘अटेर गर्नेहरूको कारण समग्र इटहरीको विकास २० वर्षपछि धकेलिन्छ,’उनले भने, ‘इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन अझै बाँकी छ।’

सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने मेयर पौडेलले बताए। इटहरीको मुख्य चोकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ।

६ लेन सडक विस्तार आयोजनाकाअनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०-२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन। फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ। तर, अहिले त्यो काम अगाडि बढेको छैन।

इटहरी बजारको चौरास्त चोकभन्दा दक्षिणतर्फ भने अहिले २० मिटर सडक छ। यसमा सरोकारवालासँग भएको सहमतिअनुसार दुवैतर्फ १५ -१५ मिटर विस्तार गर्ने निर्णय भए पनि घर नभत्काउँदा सडक विस्तार हुन सकेको थिएन।

वडा ६ का अन्य घर पनि केही दिनभित्रमै भत्काउने उमहानगरपालिकाले जनाएको छ। पछिल्लो समय सडक निर्माणका लागि ०८० सालसम्म समय अवधि थपिएको छ। थपिएको समयमा सडक निर्माण पूरा हुने ६ लेन सडक विस्तार आयोजनाको दाबी छ।

०६९/७० बाट सुरु भएर ७ वर्षभित्रमा ६ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो। तर, समयमै काम सम्पन्न नभएपछि पछिल्लो पटक समय थप गरिएको हो।

                                                                                                                                                                                                                    तस्बिरहरू- विवेक विवश रेग्मी/हिमाल प्रेस
प्रकाशित: २९ माघ २०७९ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =