जितपछि आशा थप सुधारको

हिमाल प्रेस ८ चैत २०७९ २२:२४
66
SHARES
जितपछि आशा थप सुधारको

काठमाडौँ- प्रधानमन्त्री त्रिदेशीय कपको उद्घाटन खेलमा नेपालले बुधबार लाओसमाथि २-० को जित दर्ता गरेको छ। दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे।

पाँच हजार घरेलु समर्थकसामु नेपालले ३० औँ मिनेटमा अग्रता लिएको थियो। नवीन लामाको कर्नरमा रक्षक अनन्त तामाङले हेडर गोल गरेका थिए। दोस्रो हाफको ५६ औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। कसैको नजरमा नरहेका नवयुग श्रेष्ठले १८ यार्ड बक्सभन्दा बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

भिन्सेन्जो अल्बर्टो एनिसले जितबाट नेपालमा प्रशिक्षण करियर सुरु गर्दा चार खेलाडीलाई डेब्यु गर्ने मौका दिए। रक्षक सनिस श्रेष्ठले पहिलो एघारमै स्थान बनाएका थिए भने मणि कुमार लामा, दीपक राज सिंह ठकुरी र सुमित श्रेष्ठ दोस्रो हाफमा मैदान प्रवेश गरे।

नेपालका प्रशिक्षक एनिसले कयौँ नयाँ तथा कम अनुभवी खेलाडी र छोटो तयारीका बाबजुद पनि विजय हासिल गर्न सकेको प्रसन्नता व्यक्त गरे। खेलाडीहरूले मेहनत गरेर खेलेको उनको भनाइ थियो। ‘यो जित टिमका लगि महत्त्वपूर्ण छ। अनि मेरो व्यक्तिगत यात्राका लागि पनि उत्तिकै विशेष,’ एनिसको सुरुवाती प्रतिक्रिया थियो।

इटालेली प्रशिक्षक एनिसले आफ्नो टिमका कमजोर पक्षबारे पनि खुलेर टिप्पणी गरे। बल पाउन साथ आक्रमण बुन्ने मामलामा आफ्ना खेलाडीहरू कमजोर देखिएको एनिसले बताए। ‘बल नियन्त्रणमा आएपछि खेलाडीहरूले तुरुन्त प्रतिक्रियात्मक कदम चाल्नु पर्छ। यो पक्षमा आज हामी कमजोर देखियौँ। काउन्टर अट्याकमा पनि ध्यान दिनुछ,’ एनिसले भने, ‘केही पक्षमा सुधारको जरुरी छ। तर समग्रमा भन्दा हाम्रो खेल ठिकठाक थियो।’

नेपालले अब दोस्रो खेल भुटानसँग आउँदो मंगलबार खेल्नेछ। भुटान भने आफ्नो पहिलो खेलमा शनिबार लाओससँग आमनेसामने हुँदैछ। दोस्रो खेलअघि ६ दिनको आराम पाउने भएकाले नेपाली खेलाडीहरूले सुधारिएको प्रदर्शन गर्ने एनिसको विश्वास छ।

‘लिगका कारण खेलाडीहरू थकित छन्। त्यसमाथि राष्ट्रिय टिमको अभ्यासले उनीहरूलाई अझ थकायो। अब भने उनीहरुसँग आराम गर्ने समय छ। पर्याप्त आराम गरेर उनीहरू मैदान उत्रनेछन्। मलाई विश्वास छ दोस्रो खेल खेल्दा हामीले आज देखिएका कमजोरीलाई सुधार गर्नेछौँ,’ एनिसले भने।

गोल गर्न नसके पनि पाहुना टिमको खेल नेपालको भन्दा आकर्षक रह्यो। छोटा कदका लाओ खेलाडीहरूले छरिता पास खेल्दै धेरैजसो समय बल आफ्नो नियन्त्रणमा राखे। बेलाबेलामा आक्रमण बुनेका लाओहरूलाई नेपाली रक्षापंक्तिले असफल बनाइरह्यो।

दोस्रो हाफको ६६ औँ मिनेटमा लाओसले गोल अन्तर कम गर्ने मौका मौका गुमाएको थियो। नेपालका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बुले आफ्नो क्षेत्रमा बल राम्रोसँग नियन्त्रणमा लिन नसकेपछि लाओसका बौफाचनले पाएका थिए। उनको प्रहारलाई अनन्तले गोललाइनबाट क्लियर गरेपछि घरेलु टिमलाई स्तब्ध बनाउने लाओसको प्रयास सफल भएन।

त्यसको केही मिनेटपछि लाओसले फेरि एकपटक नेपाली पोस्टमा धावा बोलेको थियो। फौथाभोङ साङभिलेले लामो दूरीबाट गरेको शक्तिशाली प्रहारलाई किरणले बाहिर पठाइदिएका थिए। लाओसका कप्तान सौकाफोन भोङचिङखामले नेपाली बक्सको बायाँतिरबाट गरेको हेडरलाई रोहित चन्दले क्लियर गरेका थिए।

त्यसअघि पहिलो हाफमा लाओसका आक्रामक मिडफिल्डर माकल भाङले कम्तीमा दुई पटक नेपाली पोस्टमा आक्रमण बुने। तर दुवै पटक उनका प्रहार बारमाथिबाट बाहिरिएिका थिए।

लाओसका मुख्य प्रशिक्षक हान्स माइकल वाइसले हारका बाबजुद आफ्नो टिमको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे। खराब मैदानमा भएको खेलमा नेपालले दुई राम्रा मौका पाएको र तिनमा गोल गरेको प्रतिक्रिया दिए।

‘नतिजा हाम्रो पक्षमा आएन। मलाई लाग्छ बराबरी सही नतिजा हुने थियो। तर हारे पनि म खेलाडीहरूको प्रदर्शनबाट पूर्ण रुपमा सन्तुष्ट छु,’ वाइसले भने, ‘यो खराब मैदानमा नेपालले दुई मौका पायो, गोल गर्यो‍। विपक्षी खेलाडीलाई निगरानीमा राख्न नसक्नु नै पहिलो गोल खानुको मुख्य कारण रह्यो। दोस्रो गोल गोलरक्षकले रोक्न सक्थे। तर उनी तयारी अवस्थामा थिएनन्।’

वाइसका लागि न त नेपाल र दशरथ रंगशाला नौलो होइनन्। सन् २०१२ मा काठमाडौँमा भएको एएफसी च्यालेन्ज कपमा फिलिपिन्सको नेतृत्व गरेर वाइस काठमाडौँ आएका थिए। त्यसबेला फिलिपिन्स तेस्रो भएको थियो। वाइस जनवरी, २०११ देखि जनवरी, २०१४ सम्म फिलिपिन्ससँग रहे। त्यसबीचमा उनी नेतृत्वको फिलिपिन्स र नेपालबीच मैत्रीपूर्ण खेल भएको थियो। जसमा नेपालले ४-० को हार भोगेको थियो।

वाइसले नेपालले आक्रामक खेल देखाउन नसकेको टिप्पणी गरे। ‘लाओसको गल्तीलाई उपयोग गर्ने नेपालको रणनीति थियो। नेपालले आक्रामकता देखाएन, सर्तकता अपनाएर खेल्यो। आशा छ हामी भुटानलाई पराजित गरेर नेपालसँग फेरि भेट्नेछौँ। त्यसबेला खेल कस्तो हुन्छ, हेरौँ,’ वाइसको टिप्प्णी थियो।

नेपाल आइपुगेर जम्मा एक ‘सेसन’ मात्र अभ्यास गर्न पाएकाले पनि प्रदर्शनमा फरक परेको वाइसको संकेत थियो। ‘फेरि यहाँ हाई एल्टिच्युडमा खेल्नु प¥यो। हुन त यसले त्यत्रो ठूलो फरक पारे जस्तो लाग्दैन। अब दोस्रो खेलमा जितको लक्ष्य बोकेर मैदान उत्रनेछौँ। भुटानलाई हराउन सकिन्छ भन्नेमा विश्वस्त छु,’ वाइसले भने।

प्रकाशित: ८ चैत २०७९ २२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =