त्रिदेशीय कप : पहिलो फाइनल खेल्दै लाओस, जित्दा देशको फुटबलमा परिवर्तन आउने अपेक्षा

हिमाल प्रेस १६ चैत २०७९ २२:०३
42
SHARES
त्रिदेशीय कप : पहिलो फाइनल खेल्दै लाओस, जित्दा देशको फुटबलमा परिवर्तन आउने अपेक्षा

काठमाडौँ- लाओसको राष्ट्रिय फुटबल टिम शुक्रबार आफ्नो इतिहासकै पहिलो ‘अन्तर्राष्ट्रिय फाइनल’ खेल्दैछ। दशरथ रंगशालामा हुने प्रधानमन्त्री त्रिदेशीय कप फाइनलमा लाओसको विपक्षी हो, नेपाल। यो फाइनललाई फिफाले मान्यता दिएको छैन। किनभने यो खेल फिफाले छुट्टाएको क्यालेन्डरभित्र पर्दैन।

यसकारण यो दशरथ रंगशालामा हुने याे खेल अनौपचारिक हुनेछ। यद्यपि अनौपचारिकताले दुवै टिमलाई केही फरक पारेको छैन। दुवैले यसलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल मानेका छन्। र उपाधि जित्ने लक्ष्य बनाएका छन्।

जारी त्रिदेशीय कपमा नेपाल र लाओस दोस्रो पटक भिड्न लागेका हुन्। समग्रमा चाहिँ यो भेट दुई टिमबीचको तेस्रो हुनेछ। त्रिदेशीय कपको पहिलो खेलमा नेपाल २–० ले विजयी भएको थियो। त्यसअघिका दुई भिडन्तमध्ये एक नेपालले जितेको थियो भने अर्को बराबरीमा सकिएको थियो।

नेपालले जितेको खेल एएफसी सोलिडारिटी कप २०१६ अन्तगर्तको सेमिफाइनल हो। जसमा नेपाल ट्राइब्रेकरमा भाग्यमानी साबित भएको थियो। बराबरीको नतिजा पनि त्यही वर्षको हो, मैत्रीपूर्ण खेलमा।

शुक्रबार लाओसको सामना गर्दा नेपालले ती सबै तथ्य बिर्सनेछ। किनभने नेपाली टिममा गहिरो परिवर्तन भइसकेको छ। अहिले टिममा भएका अधिकांश खेलाडी त्यसबेलाका ती दुई खेलका हिस्सा थिएनन्।
‘मानसिक रुपमा तयार छौँ’

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूहरू यो फाइनलका लागि मानसिक रुपमा तयार रहेको बताएका छन्। अधिकांश खेलाडी युवा र नयाँ भए पनि उनीहरूलाई उत्तप्रेरणा दिएर उपाधि भिडन्तका लागि तयार पारिएको एनिसको भनाइ थियो।

‘फाइनल हो, मजबुत प्रदर्शन गर्न जरुरी छ। सबै खेलाडी मानसिक रूपमा तयार छन्। उनीहरू उत्पेरित छन्। टिमाम धेरै खेलाडी नयाँ छन्। उनीहरूका लागि यो अवसर पनि हो,’ एनिसले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने।

दक्षिण एसियाका भारत र बंगलादेश जस्ता टिममा खासै परिवर्तन नभएका तर नेपाल भने यस्तो बाध्यतामा परेको एनिसको भनाइ थियो। ‘सन् २०२१ को थ्री नेसन्स कप खेलेका जम्मा तीन जना खेलाडी मात्र अहिलेको टिममा छन्। बाँकी सबै खेलाडी नयाँ छन्। मैले अरु खेलाडीको नाम छुटाएको हुनसक्छु,’ एनिसले भने,‘दक्षिण एसियाकै अरु देश, बंगलादेश र भारतको टिममा यसरी खेलाडी परिवर्तन भएका छैनन्। तर हामी फरक बाध्यतामा छौँ।’

भुटानसँगको खेलका क्रममा घाइते भएका अन्जन विष्ट फाइनलका लागि उपलब्ध रहेको एनिसले जानकारी दिए। दोहोरो पहेँलो कार्ड पाएका कारण शुक्रबारको खेलमा हुने छैनन्।

भुटानसँगको बराबरीमा दीपक राज सिंह ठकुरीले उत्तरार्द्धमा गोल गरेका थिए। सब्स्टिच्युट भूमिकामा देखिएका उनी फाइनलमा पहिलो एघारमा पर्ने सम्भावनाबारे एनिसलाई सोधिएको थियो। ‘दीपकले राम्रो खेलेका छन्। तर उनलाई फुर्काउनु हुँदैन। उनलाई एकाग्र बनाउन आवश्यक छ,’ एनिसले नेपाली टिमका नयाँ फरवार्डबारे छोटो जवाफ दिए।

एनिसले अहिलेसम्म नपाली खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहे पनि सुधार गर्न केही पक्षमा बाँकी रहेको बताए। ‘यो प्रतियोगिताका लागि तयारी थोरै भयो। यति हुँदाहुँदै पनि हामीले गोलका अवसर सिर्जना गरेका छौँ। तर फाइनल पास र निर्णायक क्षणमा हामी अझ चलाख हुन जरुरी छ,’ एनिसले भने।

पहिलो फाइनल
लाओसका मुख्य प्रशिक्षक माइकल वाइसले आफ्नो टिमका लागि यो फाइनल असाध्यै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए। महत्त्वपूर्ण रहनुका पहिलो कारण खुलाउँदै उनले भने, ‘लाओस कुनै पनि प्रतियोगिताको फाइनलमा पुगिरहने टिम होइन। यो पहिलो फाइनल हो। अधिकांश खेलाडी युवा छन्, उनीहरूका लागि यो अनुभव अहम् हुनेछ। भलै यो फाइनलले फिफाको मान्यता पाएको नहोस्।’

वाइसले उल्लेख गरेको दोस्रो कारण चाहिँ गहिरो थियो। काठमाडौँमा प्राप्त हुने सफलताले लाओसको फुटबलमा सकारात्मक परिवर्तन हुने विश्वास उनले व्यक्त गरे। खेलाडीकै तलब पनि बढ्नसक्ने आशा उनको थियो।

‘टिमका लागि अहिलेकोभन्दा बढी टे«निङ क्याम्प आयोजना हुन सक्छन्। खेलाडीको तलब बढ्नसक्छ। अहिले उनीहरूको तलब असाध्यै कम छ,’ वाइसले भने,‘उपाधि जित्दा सबैभन्दा ठूलो श्रेय खेलाडीलाई जानेछ। यसकारण उनीहरुको सुविधा बढ्न जरुरी छ। हो विश्व फुटबलका लागि यो प्रतियोगिता केही होइन तर लाओसका लागि महत्त्वपूर्ण हो।’

वाइसको नेतृत्वमा लाओस दक्षिण पूर्वी देशहरूको १९ वर्षमुनिको प्रतियोगिताको फाइनलमा पुगेको थियो। उपाधि भिडन्तमा स्थान पक्का गर्न लाओसले समूह चरणमा आफूभन्दा बलिया मलेसिया, सिंगापुर, क्याम्बोडिया जस्ता टिमलाई पन्छाएको थियो। सेमिफाइनलमा थाइल्यान्डलाई स्तब्ध बनाएको लाओस फाइनलमा भने मलेसियासँग पराजित भएको थियो।

‘लाओ फुटबलका लागि त्यो अद्भूत सफलता थियो। लाओसमा एक प्रकारको भूकम्प नै गयो। त्यही स्तरको प्रभाव त्रिदेशीय कप जित्दा हुनेछैन। तथापि यो सफलतालाई लाओमा नजरअन्दाज गरिने छैन,’ वाइसले भने।

प्रतियोगिताको पहिलो खेलमाभन्दा सुधारिएको प्रदर्शन गर्न सकिने वाइसको अपेक्षा छ। ‘आशा छ, यो प्रतियोगिताको अन्त्य हाम्रा लागि सुखद हुनेछ। पहिलो खेलमा हामी थकित थियौँ। किनभने हाम्रा खेलाडीहरू यता आउनु दुईदिनअघि पनि लिगमा व्यस्त थिए,’ वाइसले भने, ‘त्यसपछि लामो यात्रा गरेर यहाँ आइयो। एल्टिच्युड, समयको फरक लगायतका कुरालाई ध्यानमा राखेर विश्लेषण गर्ने हो भने, पहिलो खेल ठिकठाक रह्या अबको खेलमा सुधरिएको प्रदर्शन गर्नेछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =