सुन प्रकरणमा मुछिएर निलम्बनमा परेका डीएसपी ठगबहादुरमाथि के कारबाही हुन्छ?

हिमाल प्रेस ५ चैत २०७९ ८:४९
240
SHARES
सुन प्रकरणमा मुछिएर निलम्बनमा परेका डीएसपी ठगबहादुरमाथि के कारबाही हुन्छ?

काठमाडौँ- नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिसकेको छ। नेपाल प्रहरीको छानबिन समितिले केसीले भ्रष्टाचार कसुर गरेको भन्दै थप अनुसन्धान र कारबाहीका लागि आयोगलाई सिफारिस गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो।

प्रहरीले पुस ११ गते केसीको कोठामा छानबिन गर्दा ३५ तोला सुन र १८ लाख रुपैयाँको चेक बरामद गरेको थियो। व्यापारीले डीएसपी केसीलाई २५ लाख रुपैयाँ बुझाएर उक्त सुन फिर्ता लिन खोजेका थिए।

यहीबीचमा केसीको सरुवा पनि निस्केको थियो। उनको कास्की सरुवा भएको थियो। प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृहमन्त्रालयले निलम्बन पनि गरिसकेको छ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार अब सबै कारबाहीको जिम्मा अख्तियारले पाएको छ। ‘भ्रष्टाचार कसुरमै छानबिन भइरहेकोले प्रहरीले केसीको फाइल अख्तियारलाई बुझाएको छ,’ उनले हिमालप्रेससँग भने, ‘के कारबाही गर्ने भन्ने सबै काम अब अख्तियारको हुन्छ।’

अख्तियार स्रोतका अनुसार केसीको कारबाहीको लागि थप अनुसन्धान जारी रहेको छ। ‘थप कारबाहीको लागि छानबिन समितिले तयार पारेको फाइल अध्ययन गर्ने, यसमा संलग्न पक्षसँग सोधपुछ गर्ने काम हुँदैछ,’ स्रोतले भन्यो, ‘उनले (केसी)अन्य यस्तै धन्दा गरे नगरेको पनि छानबिन हुँदैछ। छानबिन पछि जागिर नै जाने या नजाने, के कारबाही तोक्ने निर्णय हुनेछ।’

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

प्रकाशित: ५ चैत २०७९ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =