ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन स्थगित

हिमाल प्रेस ३० फागुन २०७९ १८:३८
8
SHARES
ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन स्थगित बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध केही दिनअघि काठमाडौँमा गरिएको प्रदर्शन।

काठमाडौँ- चर्को ब्याजदरविरुद्ध आन्दोलन गरिरहेका व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर विरोध गरिरहेका व्यवसायीले मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।

मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।

अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए। ‘बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफै जानकार हुनुहुन्छ,’ उनले भने, ‘ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउन सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले विरोधका सबै कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ।’

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजीक्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलन गरिरहेका थिए।

उनीहरूले मंगलबार दिउँसो नेपाल राष्ट्र बैंक घेराउ पनि गरेका थिए। साथै बैंक तथा वित्तीय संस्थाहरूले बुधबारदेखि लागू हुनेगरी ब्याजदर घटाएको घोषणा पनि गरेका छन्। मंगलबार सूचना जारी गर्दै बैंकर्स एसोसिएसनले बुधबार (चैत १ गते)देखि लगू हुनेगरी ब्याजदर घटाइएको जानकारी गराएको छ। रासस

प्रकाशित: ३० फागुन २०७९ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =