ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षाबारे पढाइ

हिमाल प्रेस २९ फागुन २०७९ १५:५६
4
SHARES
ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षाबारे पढाइ

ललितपुर- ललितपुर महानगरभित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ। विद्यालयको आधारभूत तहसम्म लागू गर्ने गरी स्थानीय पाठ्यक्रमका रूपमा महानगरले उक्त पुस्तक तयार पारेको हो।

ललितपुर महानगरले ‘सडक सुरक्षा शिक्षा’ शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान कक्षाकोठाबाटै प्राप्त गर्ने भएका छन्।
पुस्तकको सोमबार कलाकार मदनकृष्ण श्रेष्ठ, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले संयुक्त रूपमा विमोचन गरे।

प्रमुख महर्जनले बालबालिकालाई विद्यालय तहबाट नै सडक सुरक्षासम्बन्धी ज्ञान दिनु आवश्यक भएकाले पाठ्यक्रममा राखेको बताए।  उनले भने, ‘माध्यमिक तहका लागि पनि पाठ्यक्रम तयार पार्दैछौँ। पुस्तकमा लेफ्ट साइट ड्राइभिङ, राइट साइट ड्राइभिङका बारेमा पनि जानकारी दिने गरी विषयवस्तु समेट्छौँ।’

उपप्रमुख मञ्जली शाक्यले ललितपुर महानगरले व्यावहारिक ज्ञानलाई प्राथमिकता दिएको बताउँदै सडक सुरक्षा शिक्षालाई पाठ्यक्रममा राखेको बताइन्। यो पुस्तकले बालबालिकालाई सडक सुरक्षाका ज्ञान दिने प्रस्ट पारिन्।

कलाकार मदनकृष्ण श्रेष्ठले सडकमा ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको परिचय भएको बताए। उनले भने, ‘जसले कानुन मान्छ त्यो स्मार्ट हो, कानुन उल्लंघन गर्ने असभ्य हुन्।’ उनले यो पुस्तक दक्षिण एसियामा पहिलो भएको दाबी गरे।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले चेतना, सतर्कता र सुरक्षाको दृष्टि पुस्तक राम्रो भएको टिप्पणी गर्दै सडक सुरक्षाबारे विद्यार्थीलाई ज्ञान दिनु अत्यावश्यक भएको बताए। पाठ्यक्रममा राखिएको यो पुस्तकको अध्यापनले विद्यार्थी सडक सुरक्षाका बारेमा जानकार हुने प्रस्ट पारे।

पुस्तकमा सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक संकेतहरु, हेल्मेट र सिटबेल्ट, सबैका लागि सडक, खेलकुद र सडक, आकाशे पुल, सब वे, बसमा सुरक्षा, ताँती पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अंकल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिकता उपचार, म त ज्ञानी विद्यार्थी, सही गलत, ट्राफिक चिह्नका बारेमा सचित्र व्याख्या गरिएको छ। पुस्तक महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथूले सम्पदन गरेका हुन्।

प्रकाशित: २९ फागुन २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =