रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ

हिमाल प्रेस २९ फागुन २०७९ १३:४४
2
SHARE
रामचन्द्र पौडेलले लिए राष्ट्रपति पदको शपथ शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति पदको शपथ लिँदै रामचन्द्र पौडेल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित आयोजित समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथग्रहण गराएका हुन्।

पौडेल नेपालको तेस्रो राष्ट्रपतिका लागि गत बिहीबार निर्वाचित भएका थिए।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुख, उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।

एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल गत बिहीबार राष्ट्रपति छानिएका थिए। मतदानमा ३३१ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जना सहभागी भएका थिए। पौडेलले नेम्बाङभन्दा दोब्बर बढी मत प्राप्त गरेर राष्ट्रपति निर्वाचित भएका हुन्।

२१४ जना संघीय सांसद्ले पौडेललाई १६,९०६ मत दिएका थिए। एक जना संघीय सांसदको मतभार ७९ कायम छ।  त्यस्तै पौडेललाई ३५२ जना प्रदेशसभा सदस्यहरूले १८,८९६ मत दिए। प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ।

यसरी पौडेलले संघीय सांसद र प्रदेशसभा सदस्य गरी कुल ३३,८०२ मत प्राप्त गरेका थिए। राष्ट्रपतिमा निर्वाचित हुन २६, ३१५ मत आवश्यक थियो। नेम्बाङलाई भने संघीय संसद्का ९८ जनाले ७,७४२ मत दिएका। यस्तै उनलाई प्रदेशतर्फ १६२ सांसदले ७,७७६ मत दिएका थिए। नेम्बाङले कुल १५,५१८ मत प्राप्त गरेका थिए।

प्रकाशित: २९ फागुन २०७९ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =