तलब नपाएपछि जनकपुर क्षेत्र विकास परिषद्‍मा तालाबन्दी

नेहा झा २८ फागुन २०७९ १८:३५
14
SHARES
तलब नपाएपछि जनकपुर क्षेत्र विकास परिषद्‍मा तालाबन्दी

जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीहरूले आफ्नै कार्यालयमा तालाबन्दी गरेका छन्। विगत पाँच महिनादेखि तलब नपाएको भन्दै परिषद्का कर्मचारीहरूले तालाबन्दी गरेका हुन्।

परिषद्का अध्यक्ष शितल साहको मनोमानीका कारण आफूहरूले विगत पाँच महिनादेखि तलब पाउन नसकेको आरोप कर्मचारीहरूको छ।

परिषद्का प्रशासकीय अधिकृत जितेन्द्रकुमार यादवले आफूहरूले कात्तिकदेखि तलब नपाएको र घरपरिवार चलाउन पनि समस्या भएको गुनासो गरे। कर्मचारीलाई आर्थिक समस्यामा पारेर तालाबन्दी गर्न बाध्य बनाएको उनको भनाइ छ।

उनले परिषद्का अध्यक्ष साहले संस्थाको उद्देश्यविपरीत काम गरिरहेको भन्दै अध्यक्षको कार्यशैलीबाट कर्मचारीहरू पीडित बनेको गुनासो गरे।

अध्यक्ष साहले सम्पूर्ण कार्यकारी अधिकार आफूसँगै राखेको र कार्यालयको दर्ता चलानी समेत प्रशासन मातहत नभई अध्यक्षको सचिवालयमै रहेकाले कर्मचारीलाई काम गर्नसमेत कठिनाई भएको यादवको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको यस संस्थाले मन्त्रालयसँग समयमा तलब निकासाका लागि माग नगरेको कर्मचारीहरूको भनाइ छ।

संस्था मातहतका १५-२० योजनाहरूमध्ये आर्थिक मसान्त समाप्त हुन ४ महिना बाँकी रहँदासम्म कुनै पनि योजनाको काम सुरु भएको छैन।

परिषद्ले समयमा प्रगति विवरण पेश नगरेकाले तलब निकासामा समस्या भएको आएको छ। आफूहरू दशैं, तिहार र छठ पर्वमा पनि तलबबिहीन रहेको यादवको गुनासो छ।

उनले परिषद्‍मा  अध्यक्षका रूपमा साहको प्रवेश भएपछि कर्मचारीहरूलाई तलबका लागि आन्तरिक रूपमा संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको गुनासो गरे।

अध्यक्ष साहले एक नम्बरमा रहेका नासु संजयकुमार मण्डललाई उछिनेर उनीभन्दा कनिष्ठ नासु अशोककुमार ठाकुरलाई लेखापालको जिम्मेवारी दिएकोले अध्यक्षकै निर्देशनअनुसार लेखापालले पनि काम गरिरहेको अर्का कर्मचारी जितेन्द्रले बताए।

फागुन ५ गते परिषद्का अध्यक्ष साहको अध्यक्षतामा कर्मचारी बैठकमा निर्णय भएअनुसार कर्मचारीको तलब होली पर्व अगाडि खुवाउने निर्णय गरिए पनि हालसम्म तलब खुवाइएको छैन।

चालू आर्थिक वर्षमा हुने पूँजीगत कामसम्बन्धी योजना शाखाको काम हालसम्म शुन्य रहेकोले सम्बन्धित निकायबाट निकासा लिन जाँदा पनि प्रगति नदेखिएकोले हालसम्म निकासा नदिइएको यादवको भनाइ छ।

अध्यक्ष साहले अधिकारको दुरुपयोग गरी दर्जनौं कामहरू गरेको आरोप पीडितको छ। अध्यक्ष साहले आर्थिक वर्ष २०७९/८० मा चाडपर्व शिर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा आफुखुशी २५ लाख रुपैयाँ आन्तरिक कोष तथा पूँजीगत शिर्षकबाट खर्च गरेको कर्मचारीहरूको आरोप छ।

इन्धन शिर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा पूँजीगत काम शुन्य रहेतापनि साहले आफूखुसी ५-७ लाख रुपैयाँ खर्च गरेको यादवको भनाइ छ।

साथै परिषद्को सम्पर्क कार्यालय काठमाडौँमा नभए पनि परिषद्का लेखापाललाई अध्यक्ष साहले नै काठमाडौँ सरुवा गरेको आरोप यादवले लगाएका छन्।

जानकी मन्दिर नजिक रघुपति मिष्ठान भण्डारको छेउमा डिजिटल डिस्प्ले बोर्ड योजना स्वीकृत नगरी आफूखुसी जडान गरिएको र प्रचारप्रसारका लागि अन्य व्यक्तिको सम्पर्क नम्बर उल्लेख गरिएको पनि यादवको भनाइ छ।

परिषद्का निमित्त कार्यकारी निर्देशक चिरञ्जिवीराज ढुंगानाले पेश्कीस्वरूप नियम विपरित २ लाख रुपैयाँ लिई आफ्नो निजी काममा खर्च गरेको र कर्मचारीको तलब दिन आनाकानी गरिरहेको गुनासो गरे।

परिषद्‍मा अहिले २४ जना कर्मचारी छन्। यस विषयमा प्रतिक्रिया लिन परिषद्का अध्यक्ष साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित: २८ फागुन २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =