स्ववियु निर्वाचन : आज उम्मेदवारको नाममाथि दाबीविरोध

हिमाल प्रेस २८ फागुन २०७९ ८:२४
6
SHARES
स्ववियु निर्वाचन : आज उम्मेदवारको नाममाथि दाबीविरोध

काठमाडौँ- चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज (आइतबार) उम्मेदवारको नामावलीमाथि दाबीविरोधको कार्यक्रम छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नाममा दाबीविरोध गर्न सकिने कार्यतालिका छ।

उम्मेदवारमाथिको दाबीविरोधमाथि छानबिनपछि आज नै अपराह्न ५ बजे नामावली प्रकाशन गरिनेछ। फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचनमा देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस सहभागित हुनेछन्।

शनिबार देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता गरिएको छ। उम्मेदवारी दर्तासँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको विद्यार्थी संगठनहरूले बताएका छन्।

शनिबार बिहानै विद्यार्थी संगठनहरू आआफ्ना ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए। स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारी दर्ता गरिएको हो।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने कानुनी व्यवस्था छ। निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ।

प्रकाशित: २८ फागुन २०७९ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =