कथा

ब्राह्मणको धर्म त्याग

राजाराम बर्तौला २७ फागुन २०७९ १६:१५
158
SHARES
ब्राह्मणको धर्म त्याग

तामाको कर्मपात्रोमा तुलसीका मञ्जरी, कुशका टुक्रा हालेर, थालको जौ, तिल र अक्षता छर्कदै फूलपाती अर्पण गर्दै ‘ॐ नमो भगवते वासुदेवाय’ भनेर शालिग्राम पुज्दै आएको एउटा नित्यकर्मी ब्राह्मण कुनै दिन टुपी काटेर, जनै छिनालेर धर्मत्याग गर्दै विधर्मी बन्ला भन्ने कल्पनासम्म गर्न पनि कठिन छ हाम्रो समाजमा।

अनुरागीहरू विषय व्याकुलताले धर्माचरण छोडेर वैभव र सम्पन्नतातिर आकर्षित होलान्। तर वीतरागीहरूले स्वधर्ममा नै आफूलाई लीन गर्छन्।

अनि कसरी विश्वास गर्नु कि एउटा आचार्य बन्धु आफ्नो धर्म परित्याग गर्न सक्छ! तर भौतिक सम्पन्नता, सौन्दर्य अभिलाषा र लुब्ध आकांक्षा पूर्तिसहितको महत्त्वाकांक्षा भएपछि स्वधर्मलाई बलिवेदीमा हवन गर्न किञ्चित् संकोच त होला तर असम्भव नहुने रहेछ।

यति लामो भूमिका आवश्यक थिएन यदि श्रीपति बाजेको विश्वासमा अनायास झट्का नलागेको भए।

कुरा हालैको र ठाउँ गोदावरी आसपासको हो। झापातिरबाट आफ्नो झिटी बोकेर बसाइँ सर्‍यो एकजोडी ब्राह्मण। आफ्नो थैलीको आकारबमोजिमकै वासस्थान बनाएर खुसीसाथ बस्दै आएका थिए। साथमा थिए, छोराछोरी।

जीविका चलाउन श्रीपति बाजे जजमानी गरिहिँड्थे। ‘बर्मा गए कर्म सँगै’ भनेजस्तै दम्पतीले पनि आफ्नो कर्म र धर्म साथै लिएर आएका थिए।

रहँदा–बस्दा न समाज बन्ने हो। समाजमा सम्बन्ध र सम्बन्धले सहारा मिलाउँछ। यही चक्रमा सृष्टिको लहरो जोडिँदै जाने हो। समाजमा एकल प्रजातिको मात्र बाहुल्य शोभित रहँदैन। जसरी एउटै प्रजातिको वनस्पति उद्यानमा एकलकाँटे देखिन्छ।

त्यसैगरी मानवीय समाज पनि बहुजातीय हुनु उचित। त्यसो हुँदा विभिन्न रङको संयोजनको विविधतायुक्त सौन्दर्य देखिन्छ। तर मानिसको बस्तीमा, धर्म सम्प्रदायको आलोकमा भने सहअस्त्विको ठूलो कष्टसाध्य प्रपञ्च र व्यञ्जना रहन्छ।

यी बाजेकै टोलमा घडेरी किनेर घर बनाएर एक जोडी मुसलमान बस्न आयो। समयको गतिसँगै टोल एउटा संगठित समुदायमा परिणत भएको थियो। हिन्दूहरूका लागि पहिलेदेखि नै मन्दिर छँदै थियो। मुसलमानहरूले पनि एउटा मस्जिद बनाए। सामाजिक सद्भावको नमुनाका रूपमा मस्जिद बनाउन सबैले मद्दत गरे। मौलवी मस्जिद छिथ्र्यो, पण्डित मन्दिर। मौलवी नमाज पढ्थ्यो, पण्डित गीता।

एकाबिहानै पहेँलो कपडाभित्र गीता, दुर्गा सप्तसती र केही देवीदेवताका तस्बिर र शालिग्रामको शिला पोको पारेर जतनले छातीमा च्यापेर श्रीपति बाजेकी ब्राह्मणी शिव शर्माको घरमा आइन्।

देवीदेवताका तस्बिर रातो र पहेँलो अबिर र केसरीले पोतिएका अमूर्त कलाजस्ता देखिन्थे। शालिग्रामको रूप पनि त्यस्तै थियो। हुन त शालिग्राम कालीको तटको कालो ढुंगो हो नपुज्नेको लागि। विश्वासले पुज्नेहरूका लागि त्यो भगवान् विष्णुको रूप हो। यी शालिग्राम श्रीपतिको घरमा पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको थियो। अघिका कैयौँ पुस्ताले यसमाथि पुष्पअर्पण गरे। फूल, अक्षता, धूप, दीप र नैवेद्य अर्पण गरे। आस्थाले टाउको झुकाए। आज यो शिला श्रीपति ब्राह्मणीको हातबाट परित्यक्त हुँदैछ। एउटा धरोहर र विश्वास खण्डित हुँदैछ।

हिजोसम्म कर्मकाण्डको किताब काखीमा च्यापेर हिँड्ने पण्डित बाले आफ्नी ब्राह्मणीलाई पठाएको हुन् शिव शर्माको घरमा। ‘अनि एकाबिहानै के परेर कुन कष्टले आउनुभयो बज्यै?’ शिव शर्माले सोधनी गरे, ‘हातमा कुम्लो पनि देख्दैछु। पण्डित बा सञ्चै त हुनुहुन्छ?’

‘सबै ठीकै छ बाबु, एउटा सानो नासो छोडूँ भनेर आएकी। यी पोकाभित्र भएका देवीदेवताका तस्बिर अब हामीलाई काम नलाग्ने भए। पुस्तौँदेखि पुज्दै आएका यी शिला पनि बगरका ढुंगासरी भए। यसै बाटोमा फ्याँक्न मनले मानेन। पुर्खाले भक्तिभाव, निष्ठा, श्रद्धा, आस्था र विश्वासले पूजा गर्दै आएका यी कर्मपात्र, विष्णु अवतार शालिग्राम, केसरी, अबिर र अक्षताले रंगिएका यी भगवान्का मूर्ति र तस्बिर त्यसै बाटोमा अलपत्र फ्याँक्न सकिनँ। धेरै पटक कोसिस गरेँ तर सकिनँ।’

पण्डित बाजेले ‘यहाँ लगेर छोड दे’ भन्नुभयो त्यसैले आएकी छु। हजुरले यसको संरक्षण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। यसलाई हाम्रो नासो सम्झेर राखिदिनुहोला।’

शिव शर्मा अचम्ममा परे। ‘के भन्न खोजेकी हुन् यी बूढी आमैले’ कुरोको चुरो नै समात्न सकेनन्। किन मैले यो पोको नासो सम्झेर राखिदिनुपर्ने? उमेरले नेटो काटिसकेको केश पाकेर सेतै भएका, दन्तविहीन बालसुलभ हाँसो हाँस्ने, वरत्रभन्दा परत्रको विषय सोच्नुपर्ने अवस्थामा अझै आसक्ति, तृष्णा, लोभ व्यक्त गर्दैछ यो वृद्ध दम्पती।

गाला चाउरी परेर झोल्लिएका छन्। ढाड बिस्तारै भुइँ ताक्दैछ। यो अवस्थामा त यी शालिग्रामले सधैँ यी वृद्ध दम्पतीको हातबाट पानी ग्रहण गरिनुपर्ने थियो। यस्तो समयमा त झनै शालिग्रामको महत्त्वसाथ पूजापाठ पो गरिनुपर्ने थियो। फूलका कोमल पत्र यी शालिग्राममा चढाइनुपर्ने थियो। देवीस्तोत्र, भागवत् स्तोत्रलाई सिरानको कुनामा राखेर सुत्नुपर्ने बेला थियो। तर विपरीत दिशामा हावा बग्दैछ। शालिग्राममा सायद मोक्षको मार्ग देखेनन् यिनीहरूले। ‘भस्मिभूतस्य देहस्य पुनरागमन कुतः’ भन्ने चार्वाक पथमा गएछन् कि के हो भन्ने सम्झिए शिव शर्माले।

के परिबन्धले के हुन गयो र यी धार्मिक सामग्री घरमा राख्नै नहुने भयो? छोराछोरीले केही बिगार त गरेनन्? भन्ने विचारले शिव शर्मा सोचमा परे। अनि मुखै फोरेर सोधे, ‘हैन आमा, के त्यस्तो आइपर्‍यो र यी सामग्रीको उपादेयता समाप्त भयो? घरमै राख्न नहुने अवस्था आयो र मैले नासोका रूपमा राखिदिनुपर्ने भयो। खासमा भएको के हो?’

के मति बिग्रियो र यी आस्थाका शिलालाई पन्छाएर परत्रको गतिमा भाँजो हाल्न प्रयत्न गर्दै हुनुहुन्छ। कि त यी देवताले मनोवाञ्छित फल दिएनन्। अन्तरआत्माको पुकार सुनेन भनेर रुष्ट बन्दै हुनुहुन्छ। आमा देउता बोल्दैनन्। घरभित्रै राखे पनि र बाहिर रछ्यानमै फ्याँके पनि। यी सबै त मनका भ्रान्ति न हुन्।’

प्रश्न भुइँमा खसेपछि ब्राह्मणी आमाको अनुहार मलीन भयो। उनले शिर निहुराइन्। खै केको बोझले थिच्यो यी आमालाई भारी मनले भनिन्, ‘के भन्नु र खोई? आफ्नै मतिले भन्नुपर्‍यो बाबु।’

पश्चात्तापको भुँवरीमा परेको अनुभूतिजन्य उच्छ्वास थियो आमाको। यो अव्यक्त भाव र छिटपुट फुटेका र छरिएका शब्दका दानालाई टिपेर अनुमान लगाउन कठिन पर्दै थियो शिव शर्मालाई।

कस्तो मति हो यो, यो पाको उमेरमा आएर पनि बिग्रने र भाँडिने। के भन्दैछिन् यी बूढीआमा। बाहिरी आवरणमा देख्दा त सबै दुरुस्त देखिन्छ। कुरोको चुरो खुलेको हैन। आमाले कुरा चपाउँदै बोल्दैछिन्। कुरोको रहस्य र संदिग्धताको खाडल फराकिलो बन्दै गइरहेको देखेर अधीर भए शिव शर्मा। भने, ‘खुलस्त भन्नुहोस् न आमा, कुरो के हो?’ उनले भने, ‘यो उमेरमा आएर के मति बिग्रियो र यी आस्थाका शिलालाई पन्छाएर परत्रको गतिमा भाँजो हाल्न प्रयत्न गर्दै हुनुहुन्छ। कि त यी देवताले मनोवाञ्छित फल दिएनन्। अन्तरआत्माको पुकार सुनेन भनेर रुष्ट बन्दै हुनुहुन्छ। आमा देउता बोल्दैनन्। घरभित्रै राखे पनि र बाहिर रछ्यानमै फ्याँके पनि। यी सबै त मनका भ्रान्ति न हुन्।’

लामो सुस्केरा हालेर बूढी आमैले भनिन्, ‘बाबुलाई हाम्रो कुरा थाहा भइसक्यो होला भन्ने लागेको थियो। छिमेकीको कुरा कति नै समय लुकेर बस्ला र घरघरमै पुगिसक्यो होला भन्ने हामीलाई लागेको थियो। तर भन्नैपर्ने भयो बाबुलाई आज मैले।’

‘यहाँ आउनुअगाडि हामी बूढाबूढीबीच निकै गन्थन भयो,’ आमैले थपिन्, ‘कुन ठीक र कुन बेठीक छुट्याउन सहज भयो। विचार मन्थन गरेर, अन्तरआत्मालाई सोधेर हेर्दा हामीलाई यो बिसाउने ठाउँ चाहियो। बाँच्ने सहाराको टेको त छोराछोरीले दिएकै छन्। विश्वास बिसाउने ठाउँ खोजेका हौँ। हामीले तपाईँको घरलाई नै उत्तम देख्यौँ र आएकी हुँ। पुर्खाले हिँडेर यहाँसम्म ल्याइपुर्‍याएको यो आस्था र विश्वासको धरोहरलाई यहीँ छोडेर अर्कै बाटो समात्यौँ। जन्मेको दिनदेखि टाउको झुकाएर पुकार गरेको यी पन्थ, शास्त्रका वाक्य बोल्ने पुस्तक, भगवान् स्वरूप सम्झेर पूजा गर्ने गरेका यी पात्र, शिलालाई बेनाम, बेवारिस पारेर भिरबाट लडाउन सकेनौँ। यो पैतृक धरोहर आफूले संरक्षण गरेर राख्न नसके पनि यसको उपयुक्त पात्र तपाईँ हुनुहुन्छ भन्ने लागेर जिम्मा दिन आएँ। बाबु यसलाई राखी दिनुपर्‍यो।’

शिव शर्माले सोचे यी वृद्ध दम्पती तीर्थस्थल जाँदै होलान्। घरको ढोकामा भोटे ताल्चा लगाएर, गाईगोठ हेरचाह गर्ने मानिसलाई जिम्मा लगाएर ‘केही परे यसो हेरिदिनुहोस् है’ भन्न आएकी होलिन्। यो पवित्र जिनिसचाहिँ मुसा, बिरालाले नबिगारून् भनेर जिम्मा दिन आएकी होलिन्। तीर्थबाट फर्केपछि फिर्ता माग्न आउनेछिन्।

‘ल त बाबु म गएँ’ भन्दै बूढीआमा बिदा भइन्। पात्र, शिला पिँढीको एउटा कुनामा थन्किरहे।

शुक्रबारको दिन थियो। आचार्य बूढाको हातमा कर्मकाण्डी किताब थिएन। लखरलखर हिँड्दै थिए। आँखा जुध्दा बूढा मुख फर्काएर लुसुक्क हिँडे। उनको टाउकोमा मुसलमानहरूले लगाउने सेतो टोपी थियो।
शिव शर्मा विस्मित भए। कुरा बुझ्न बेर लागने। ‘मति बिग्रियो’ भनेको अन्तर्य यही रहेछ। मतिमात्र हैन यहाँ त गतिसमेत भ्रमित भएर स्खलित भएको रहेछ। हिजोको कर्मकाण्डी ब्राह्मण आज पाँचपटक नमाज पढ्ने भएछन्।

शिव शर्मा आफैँ पनि धार्मिक होइनन्। कर्मकाण्डी त झन् हुँदै होइनन्। बरु चार्वाकका चेलाचाहिँ हुन्। समाजसेवाको पगरीसमेत गुथेका यिनी कर्मकाण्डी सभा, धार्मिक रीत र परम्परा धान्ने उत्सव एवम् पूजास्थलमा भाका मिलाउन भने पुग्दछन्।

काश! जीवन यति सहज भइदिएको भए। यो उमेरमा आएर धर्मान्तरण। के प्रयोजनका लागि। जीवनप्रतिको आशक्ति हो वा जीवनपश्चात् मुक्तिमार्गका लागि भक्तिभाव। बुझ्न झनै कठिन भयो। यी दम्पती आस्था र विश्वासको त्यो पल्लो किनारामा उभिएका छन्। जहाँबाट फर्किएर आफ्नै घरमा आउँला भन्ने नसोचे पनि हुन्छ। शव आउला तर जीवन आउन सक्ने अवस्था छैन। पछि फर्केर आएर गीता पाठ गरेर सबै मैला पखालुँला भनेजसरी धार्मिक ग्रन्थ जिम्मा लगाउन आएका छन्। दुरुह, कष्टकर, कन्टक यात्रामा निक्लिएका छन्। आफ्नो लागि हो वा आफ्नाहरूका लागि हो स्वयम् यी दम्पती अज्ञात छन्।

भएछ के भने यी बाजेकी छोरी उमेर पुगेपछि मुस्लिम समुदायको व्यक्तिको प्रेममा परिछन्। घरवार पनि गरिछन्। एउटै समुदायमा भएपछि र आँगन बाँडेर बसेपछि एकापसमा छोइछिटो कति दिन चल्छ र? केटाकेटी एकैसाथ एउटै विद्यालयमा पढ्छन्। सँगै खेल्छन्। साथी भाइ बन्छन्। त्यस्तै न हो। टोलछिमेकलाई मुसलमानले पण्डितको छोरी भगाएको हल्ला चलेपछि पण्डितले कर्मकाण्डको काम गर्न छोडिदिएका थिए। आत्मग्लानि र लज्जाबोधले घरबाट बाहिर कर्म निक्लन्थे। परम्परागत रूपमा आफूले गरिआएको काम छोडेपछि यी बाजेको आम्दानीको स्रोत भएन। जीविका चलाउन कठिन हुँदै गयो। बाजे र बज्यै विक्षिप्त देखिन्थे। तर पनि जसोतसो घर चलेको थियो।

दिन बित्दै जाँदा छोरीज्वाइँ घरमा आउजाउ गरेको पनि देखिन थालेको थियो। पछि मुसलमान ज्वाइँले सालोलाई पढाउने र आफ्नै व्यापारमा लगाएको रहेछ। छोरी मुसलमान भएपछि छोरो पनि मुसलमान भएछ। विरक्तिएका बूढाबूढीको मन मात्र पग्लेन कि ज्वाइँको अनुरोधमा धर्मान्तरण नै गरेछन्। धेरै समयसम्म गुप्तवास भनूँ या अज्ञातवास पछि देखिएका यी वृद्ध दम्पती शालिग्राम र गीतालाई शिव शर्माको जिम्मा लगाएर जीवन मोक्षका लागि मस्जिद धाउँदै रहेछन्।

शिव शर्मा आफैँ पनि धार्मिक होइनन्। कर्मकाण्डी त झन् हुँदै होइनन्। बरु चार्वाकका चेलाचाहिँ हुन्। समाजसेवाको पगरीसमेत गुथेका यिनी कर्मकाण्डी सभा, धार्मिक रीत र परम्परा धान्ने उत्सव एवम् पूजास्थलमा भाका मिलाउन भने पुग्दछन्। अर्थात् बाहिरी दुनियाँको नजरमा यिनी सदाचारी, शिवभक्त, सहृदयी र सद्भाव राख्ने व्यक्ति हुन्। अब पन्थका शास्त्रीय जिम्मा यिनै शिव शर्माको हुने भयो।

‘अहो, नासोको जिम्मा लिएपछि त फिर्ता गर्नुपर्छ। यी वृद्ध दम्पती यस्तो यात्रामा निस्केका छन्, जहाँबाट फर्किनु असम्भव छ। फेरि यिनीहरूमा यो द्विविधा किन? फेरि यी पण्डित आफैँले संरक्षण गरेर राख्न नसकेको यो आस्थाको धरोहर मैले पो कसरी जतन गरेर राख्ने होला!’ मनमनै गमे शिव शर्मा।

प्रकाशित: २७ फागुन २०७९ १६:१५

प्रतिक्रिया

One thought on “ब्राह्मणको धर्म त्याग

  1. कथा यथार्थउन्मुख छ,भाषा,शैली,अभिव्क्ति कला बेजाेड छ र सलल बगेकाे छ ।हाम्रा समाजमा यस्तै घटना घटिरहेका छन।याे अाश्चर्य हाेइन , हामीलाई अश्वभाविक लागे पनि समय काल चक्रले फेरि एक पटक सबैलाई जे पिने पनि एउटै रंगकाे पिठाे निकाल्छ जसरी श्रृष्टिकाे शुरूवाति दिन थिए त्यस्तै ! मेराे बुझाई ! जस्ले जे पन्थ अनुसरण गरेपनि ईश्वर एउटै र माेक्ष पनि उस्तै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =