यसरी सुरु भएको थियो नेपालमा नारी दिवस मनाउने चलन

हिमाल प्रेस २४ फागुन २०७९ ११:२७
1.5k
SHARES
यसरी सुरु भएको थियो नेपालमा नारी दिवस मनाउने चलन प्रिन्सेप शाह र मंगलादेवी सिंह (तल)।

आज अन्तर्राष्ट्रिय नारी दिवस। मार्च ८ लाई महिलाका लागि विशेष दिन भनेर मनाउन लागेको एक शताब्दीभन्दा बढी भइसकेको छ। सन् १९०८ मा अमेरिकाको न्युयोर्क सिटीमा महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि सामूहिक रूपमा महिला अधिकारको आवाज बुलन्द हुन थालेको हो।

महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो। जर्मनीकी क्लारा जेटकिन अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता मानिन्छिन्। सन् १९१० मा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा उनले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने प्रस्ताव राखिन्। उनको प्रस्ताव सर्वसम्मत स्वीकृत भयो। १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन थालिएको पाइन्छ।

यसपछि विभिन्न देशले आआफ्नै तरिकाले ८ मार्चमा नारी दिवस मनाउन थाले। नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुगेकोचाहिँ सन् १९७५ मा हो। त्यस वर्ष संयुक्त राष्ट्रसंघले उक्त दिवस मनाउन थालेको थियो। राष्ट्रसंघले नारी दिवसको पहिलो नारा ‘सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउन’ भन्ने राखेको थियो।

सन् १९११ देखि अमेरिकाबाहेकका विश्वका अन्य देशमा र सन् १९७५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो।

नेपालमा भने महिला अधिकारका कुरा धेरै पछाडि मात्रै उठ्न थालेको हो। २००७ साल (सन् १९५१) मा नेपालमा प्रजातन्त्र आउनुअगाडि नेपाली समाज बन्द थियो। शताब्दी लामो राणाहरूको जहानियाँ शासनकालमा नेपालीका लागि अधिकार मृगतृष्णाजस्तै थियो। त्यसैले त्यतिबेला अधिकारसँग सम्बन्धित कुनै गोष्ठी आयोजना र दिवस मनाउने चलन थिएन।

२००७ सालपछि नेपाल खुला समाजमा परिणत भयो। नागरिकले राजनीतिक अधिकार, वाक् स्वतन्त्रताको अधिकार, सभा संगठन गर्ने अधिकार प्राप्त गरे। विभिन्न क्षेत्रगत, पेसागत, वर्गीय संगठनहरु खुल्न थालेका हुन्। महिला संगठन पनि देखा पर्न थाले। अनि मात्र नेपालमा महिला अधिकारको विषयमा बहस हुन थाल्यो।

यहाँ नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस कहिलेदेखि मनाउन सुरु गरियो भनेर यहाँ संक्षिप्त चर्चा गरिएको छ। यसका लागि तत्कालीन समयमा प्रकाशित केही समाचार र संस्मरणात्मक पुस्तकलाई आधार बनाइएको छ।

बायाँबाट क्रमशः तीनमहिने पत्रिका ‘स्वास्नी मान्छे’को कभर, त्यसमा छापिएको समाचार र नेपालकी रानीको पहिलो भाषण भन्दै अन्तर्राष्ट्रिय पत्रिका ‘दी मोर्निङ कल न्युजर्सी’मा छापिएको समाचार।

२००४ सालतिर पद्मशमशेरको पालामा हुने भनिएको नगरपालिका निर्वाचनमा महिलाले पनि मतदान गर्न पाउनुपर्ने भनी मंगलादेवी सिंह, साहना र साधना प्रधानलगायतका नेत्री प्रधानमन्त्रीको विशालनगरस्थित दरबारमा पुगेका थिए। ती महिलाबाटै नारी अधिकारको अभियान थालनी भएको मानिन्छ। प्रजातन्त्रलगत्तै ‘नेपाल महिला संघ’ मार्फत मंगलदेवी सिंह लगायतका नेत्रीहरू नारी अधिकारका लागि संघर्षरत थिए।

२००८ साल साउन २७ (सन् १९५१ अगस्ट ११) का दिन काठमाडौँको भूगोलपार्कमा महिला संघको उद्‌घाटन भएको थियो। समारोहमा राजा त्रिभुवन, जेठी बडामहारानी कान्तिराज्य लक्ष्मीदेवी, प्रधानमन्त्री मोहनशमशेर, कमान्डर इन चिफ केशरशमशेर, नेपालस्थित ब्रिटिस राजदूत, वनमन्त्री सिंहशमशेरलगायतको उपस्थिति थियो।

सिंहशमशेर राणा प्रधानमन्त्री चन्द्रशमशेरका चौथो पुत्र एवं राजा त्रिभुवनका भिनाजु थिए। उनको विवाह राजा पृथ्वीवीरविक्रम शाहकी छोरी रमाराज्यलक्ष्मीसँग भएको थियो। महिला संघलाई अधिराजकुमारी रमा र जनरल सिंहशमशेरले नयाँ सडक पीपलबोट नजिकैको एउटा घर र कार्यालय चलाउन ६ हजार रुपैयाँ चन्दा दिएका थिए। (नारी संघर्षका पाइलाहरू; मंगलादेवी सिंह, प्रकाशक:- पि.एल. सिंह. , २०५१)

सम्मेलनमा संघकी अध्यक्ष मंगलादेवी सिंह, मोहनशमशेर, केशरशमशेर, ब्रिटिस राजदूतलगायतले सम्बोधन गरेका थिए। राजा त्रिभुवनले समेत शुभकामना दिएका थिए। जेठी बडामहारानी कान्तिराज्य लक्ष्मीदेवीलाई महिला संघको मानार्थ संरक्षक प्रदान गरिएको थियो। संघको उद्‌घाटन रानीबाट हुँदा रानीका तर्फबाट तुलजादेवीले शुभकामना सन्देश पढेर सुनाएकी थिइन्। (जागरण साप्ताहिक २००८-४-३२)

महिला संघको उद्‌घाटन समारोहमा जेठी बडामहारानी सहभागी भएकी थिइन्। संघको मानार्थ संरक्षक स्वीकार गरी उनका तर्फबाट दिइएको शुभकामना सन्देश तुलजादेवीले वाचन गरेकी थिइन्। तर त्यतिबेलाका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने ‘नेपालकी रानीले पहिलोपटक भाषण गरिन्’ भनी समाचार प्रकाशन गरेका थिए।

समाचारको सार यस्तो थियो- ‘नेपालका राजा त्रिभुवनकी जेठी बडामहारानीले नेपालको इतिहासममै पहिलोपटक कुनै सार्वजनिक समारोहलाई सम्बोधन गरिन्। नेपाल महिला संघको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै रानीले संघको सफलताको कामनासहित सबैको सहयोगबाट महिलाको उन्नति प्रगति हुने विश्वास व्यक्त गरिन्। त्यहाँ राजा त्रिभुवनले समेत सम्बोधन गरे।’ (दी मोर्निङ कल न्युजर्सी १०-सेप्टेम्बर-१९५१)

नेपालकी महारानी त्यस्तो सार्वजनिक कार्यक्रममा उपस्थित हुनु नौलो अभ्यास थियो। प्रजातन्त्रकै कारण त्यो सफल भएको थियो। आफ्नो शुभकामना सन्देश रानी आफैँले वाचन नगरेको भए पनि त्यसलाई त्यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने रानीले सम्बोधन गरेको भनी उल्लेख गरेका थिए।

२००९ सालताका नेपालमा अर्को ‘महिला स्वयंसेवक संगठन’ खुलेको थियो जसलाई अंग्रेजीमा ‘वुमेन भोलिन्टियर्स सर्भिस’ भनिन्थ्यो। अध्यक्ष अधिराजकुमारी प्रिन्सेप शाह थिइन्। उनको वास्तविक नाम गृहराज्यलक्ष्मी थियो। उनी राणा प्रधानमन्त्री जुद्धशमशेरकी पनातिनी, कम्यान्डिङ जनरल बहादुरशमशेरकी नातिनी एवं जनरल नरशमशेरकी जेठी छोरी थिइन्।

प्रिन्सेपको विवाह राजा त्रिभुवनका माहिला छोरा अधिराजकुमार हिमालयवीरविक्रम शाहसँग भएको थियो। प्रिन्सेप समाजसेवामा सक्रिय थिइन्। उनी शाही परिवारबाट एसएलसी उत्तीर्ण पहिलो महिला हुन्। २०१७ सालको एसएलसी परीक्षामा उनी द्वितीय श्रेणीमा उत्तीर्ण भएकी थिइन्। उनी मुलुकका तर्फबाट विभिन्न औपचारिक समारोहमा प्रतिनिधित्व गरेकी थिइन्।

सन् १९५३ मा आयोजित ब्रिटिस महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा उनी अधिराजकुमार हिमालयका साथ सहभागी थिइन्। त्यस्तै सन् १९५६ मा संयुक्त राष्ट्रसंघको एघारौँ महासभामा नेपाली प्रतिनिधिमण्डलकी सदस्य भएर सहभागी भइन्। सन् १९५८ मा राजा त्रिभुवनको जेठी बडामहारानी तत्कालीन मुमाबडामहारानी कान्तिराज्यलक्ष्मी अमेरिकामा उपचारका लागि जाँदा सँगै गएकी थिइन्। प्रिन्सेप नेपाल रेडक्रसकी संस्थापक अध्यक्षसमेत हुन्।

यसरी प्रजातन्त्रपछि महिला अधिकारका पक्षमा सांगठनिक रूपमा आवाज उठ्न थाल्यो र महिलाहरू राजनीतिक एवम् सामाजिक भूमिकामा सक्रिय हुन थालेका हुन्।

नेपाली पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस भने प्रजातन्त्र आएको ८ वर्षपछि अर्थात् २०१५ फागुन (सन् १९५९ को मार्च ८) मा मनाइएको थियो। त्यतिबेला ‘अखिल नेपाल महिला संघ’ र ‘वुमेन भोलिन्टियर्स सर्भिस’ र अन्य नारी संघसंस्थाहरूले समेत अलगअलग ठाउँमा कार्यक्रम आयोजना गरी पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस मनाएका थिए।

महिला स्वयंसेवक संगठन वुमेन भोलिन्टियर्स सर्भिसलाई छोटकरीमा डब्ल्यूभीएस भनिन्थ्यो। डब्ल्यूभीएसले सिंहदरबारस्थित बरफबागमा कार्यक्रम आयोजना गरेको थियो। जसमा बडामहारानी रत्न, युवराजधिराज वीरेन्द्र, माहिला अधिराजकुमार हिमालय, मन्त्रिपरिषद् र राष्ट्रपरिषद्का सदस्यहरू र नेपालस्थित विदेशी कूटनीतिक पदाधिकारीहरुको उपस्थिति थियो। कार्यक्रममा डब्ल्यूभीएसकी अध्यक्ष प्रिन्सेप शाहले अन्तर्राष्ट्रिय नारी दिवसको महत्त्वबारे प्रकाश पार्नुका साथै नेपाली महिला पनि एकजुट भई प्रगतिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएकी थिइन्। कार्यक्रममा डब्ल्यूभीएसका तर्फबाट नारी दिवसको छोटकरी इतिहास पुस्तिकासमेत प्रकाशित गरी वितरण गरिएको थियो।

अखिल नेपाल महिला संघका तर्फबाट सरस्वती सदनमा कार्यक्रम आयोजना गरिएको थियो। मंगलादेवी सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पुण्यप्रभा देवी, कमल राणा, रोहिणी शाह, उर्मिला कुमारी र विजया कुमारीले वक्तव्य दिएका थिए। दुवै कार्यक्रममा राजा महेन्द्र र मुमाबडामहारानीहरू (दिवंगत राजा त्रिभुवनका रानीहरू) बाट शुभकामना सन्देश पठाइएको थियो।

त्यस्तै न्ह्यौखा टोलमा नेपाल महिला संघबाट समेत अर्को कार्यक्रम आयोजना गरिएको थियो। राधादेवी आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा सहाना प्रधान, साधना अधिकारी, हिरण्यकुमारी तिवारीले अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको कर्तव्बारे वक्तव्य दिएका थिए।

अन्तर्राष्ट्रिय नारी दिवस मनाएको अवसरमा त्यति बेलाका नेपालका पत्रपत्रिकाले नारी दिवसबारे सम्पदकीय लेखेका थिए। सम्पादकीयमा नेपालका महिलाद्वारा देखाइएको त्यस किसिमको तत्परताको सराहना गर्नुका साथै त्यस्तो कार्यक्रम छुट्टाछुट्टै र राजधानीमा मात्र नभएर संयुक्त रूपबाट र देशका अनेक विभिन्न भेगमा समेत मनाउने प्रयत्न गर्नुपर्छ भन्ने विचार व्यक्त गरेका थिए। (स्वास्नी मान्छे तीन महिने पत्रिका वर्ष १, अंक ४, २०१६ वैशाख)

यस वर्ष ११३ औँ महिला दिवस साझा रूपमा मनाइँदै छ। संयुक्त राष्ट्रसंघबाट DigitAll : Inmovation and Technology for Gender Equality भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ। नेपालमा भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा सार्वजनिक गरेको छ।

प्रकाशित: २४ फागुन २०७९ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast