चलायमान बन्दै ठमेल

हिमाल प्रेस २० फागुन २०७९ ९:५८
10
SHARES
चलायमान बन्दै  ठमेल फाइल तस्बिर।

काठमाडौँ- पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ। कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो।

अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन्। ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन्।

‘लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ’, उनी भन्छन्। विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन्। ‘ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ’, उनी भन्छन्। ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ। ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन्।

ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पंगेनी पर्यटन मौसम सुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको संख्या बढेको बताउँछन्। अंग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन्।

सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन्। ‘एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्’, उनी भन्छन्। अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उहाँको अपेक्षा छ।

ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन्। शुक्रबार र शनिबार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ। व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन्।

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेशन रेष्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको संख्या बढेको बताउँछन्। ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुसी छाएको छ’, उनी भन्छन्।

ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो। सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहवर्द्धक रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। फ्रेबुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आए। अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

त्यस्तै थाइल्यान्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलंकाबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन्।

पछिल्लो तथ्यांकले महामारीपछि फ्रेबुअरीमा हालसम्मकै उल्लेख्य संख्यामा पर्यटक आएको देखिन्छ। कोभिड-१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने केही बढेको थियो।

उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए। त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए। रासस

प्रकाशित: २० फागुन २०७९ ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast