कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरे सेवा ठप्प पार्ने बैंकर्सको चेतावनी

हिमाल प्रेस ३ चैत २०७९ १७:१६ | Friday, March 17, 2023
कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरे सेवा ठप्प पार्ने बैंकर्सको चेतावनी

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण हुन थालेपछि बैंकिङ क्षेत्रका विभिन्न संस्थाले दोषीलाई कारबाहीको माग गरेका छन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्।

अराजक र उत्तेजक अभिव्यक्ति दिएर आक्रमणका लागि प्रोत्साहन गर्नेलाई कानुनी दायरामा ल्याउन पनि यी संस्थाले संयुक्तरूपमा माग गरेका छन्। यस्ता घटना नरोकिएसम्म र कर्मचारीको सुरक्षाको प्रत्याभूति नभए बैंकिङ सेवा नै सञ्चालन गर्न नसक्ने अवस्था रहेको विज्ञप्तिमा जनाइएको छ।

‘केही व्यक्ति तथा समूहले बैंक, वित्तीय संस्था तथा लघुवित्त संस्थाका कर्मचारीप्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमणको घोर निन्दा गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायतका क्षेत्रमा बैंकका कर्मचारीमाथि धरपकड, आक्रमण, कार्यालयमा तालाबन्दीलगायत गतिविधि भएका छन्।

अत्यावश्यक र संवेदनशील क्षेत्रका रूपमा रहेको बैंकिङ क्षेत्रमाथि सांघाातिक आक्रमण हुन थालेपछि कर्मचारी चिन्तित र आतंकित बनेको विज्ञप्तिमा जनाइएको छ। यस्ता घटना बढ्दै जाँदा समग्र बैंकिङ क्षेत्रको मनोबल खस्किने र यसले अर्थतन्त्रलाई समेत संकटमा पार्ने उनीहरूको भनाइ छ।

प्रकाशित: ३ चैत २०७९ १७:१६ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast