एसईईको प्रश्‍न पत्र बाहिरिएपछि बारामा केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

हिमाल प्रेस १७ चैत २०७९ २०:५३ | Friday, March 31, 2023
एसईईको प्रश्‍न पत्र बाहिरिएपछि बारामा केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

जनकपुरधाम– बारामा माध्यमिक शिक्षा परीक्षा एसईईको शुक्रबार पहिलो दिनको परीक्षाको प्रश्न पत्र बाहिरिएको छ। प्रश्न पत्रबाहिरिएपछि महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालय परीक्षा केन्द्रको केन्द्राध्यक्षसहित पाँच जनालाई निलम्बनमा परेका छन्।

एसईईको पहिलो दिन परीक्षा सुरु भएको केही समयमै बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयबाट अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको हो।

यसपछि जिल्ला प्रशासन कार्यालय बाराले परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी र विजय चौधरी तथा निरिक्षक कुन्दन कुशवाहा र श्याम किशोर गुप्तालाई निलम्बन गरेको छ।

प्रश्न पत्र बाहिरिएपछि उनीहरूलाई निलम्बन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

परीक्षा केन्द्रमा मोबाइल फोन निषेधित गरिए पनि केन्द्राध्यक्षलगायत प्रतिनिधिहरूको लापरबाहीका कारण निषेधित सामग्री परीक्षा हलमा पुगेकाले उनीहरूलाई परीक्षा अवधिभरका लागि सबै जिम्मेवारीबाट निलम्बन गरिएको उनले जनाए।

प्रश्न पत्र पाएको १५ मिनटभित्रै परीक्षा केन्द्रको २ नम्बर कोठामा रहेका एक विद्यार्थीले सामाजिक सञ्जालबाट प्रश्न पत्र आउट गरेको खुलेको छ।

विद्यार्थीले आफु ट्यूसन पढ्ने शिक्षकलाई प्रश्न पत्र पठाएको अनुसन्धानको क्रममा खुलेको प्रजिअ सापकोटाले बताए। प्रश्न पत्र आउट गर्ने विद्यार्थीको यस विषयको परीक्षा रद्द गरिएको उनले जनाए।

प्रश्न पत्र मगाउने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित: १७ चैत २०७९ २०:५३ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast