नेपाली युवा क्रिकेट टिम विश्वकप नजिक

हिमाल प्रेस १६ फागुन २०७९ १६:३६
6
SHARES
नेपाली युवा क्रिकेट टिम विश्वकप नजिक

काठमाडौँ- नेपाल १९ वर्षमुनिको क्रिकेट विश्वकप नजिक पुगेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा मलेसियामाथि १० विकेटको जित दर्ता गरेपछि विश्वकप खेल्ने सम्भावना बलियो बनेको हो।

प्रभावशाली प्रदर्शन गरिरहेको नेपाली युवा टिमले यसअघि सिंगापुरलाई ९६, कुवेतलाई २४३ रन र हङकङलाई नौ विकेटले पराजित गरेको थियो।

राउन्ड रोबिन पद्धतिमा जारी छनोट प्रतियोगितामा नेपालले अब आफ्नो अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्दैछ। यूएई पनि यो छनोट प्रतियोगितामा अपराजित छ। यूएईले पछिल्ला तीन खेलमा मलेसियालाई सात विकेट, हङकङलाई १६३ रन र सिंगापुरलाई आठ विकेटले पन्छाएको थियो।

बलियो लयमा रहेको यूएईलाई हराए नेपाल सन् २०२४ मा हुने अन्डर १९ विश्वकपका लागि छनोट हुनेछ। यूएईसँग नेपालको तीतो अनुभव छ। किनभने विश्वकप २०२० का लागि भएको छनोटमा यूएईसँग एक विकेटको पराजय भोगेकै कारण नेपाल दक्षिण अफ्रिका जान पाएको थिएन।

यूएईको मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाएर अलआउट भएको थियो। मलेसियालाई सस्तोमा समेट्न दीपेश प्रसाद कँडेलले ११ रन खर्चिएर चार र आकाश चन्दले नौ रन खर्चिएर तीन विकेट हात पारे। विश्वकप छनोटमा दीपेशले सात र आकाशले ११ विकेट लिइसकेका छन्।

मलेसियाका लागि जम्मा तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर गरे। मोहम्मद अक्राम मालेकले सर्वाधिक २६ रन बनाउँदा मोहम्मद हैरिल हारिसन र मोहम्मद स्याहिर स्यामाइल शाआरीले १२–१२ रन बटुले।

मलेसियाले दिएको लक्ष्य नेपालले बिनाविकेट क्षतिमा पूरा गरेको थियो। नेपालको जितमा ओपनरद्वय दीपक बोहोराले ३८ र अर्जुन कुमालले २१ रन बनाए।

प्रकाशित: १६ फागुन २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =