सडकमा कम क्षति हुनेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस ११ फागुन २०७९ २१:२६
8
SHARES
सडकमा कम क्षति हुनेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा कम क्षति हुने गरी पूर्वाधार निर्माण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार बसेको सडकमा पूर्वाधार रहेका निकायका प्रमुखसँगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। सबै निकायले एकीकृत रूपमा योजना बनाउनु महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ।

आगामी दिनमा सबै निकायले आपसी समन्वय अझै बढाउँदै जाने उनको भनाइ छ। ‘एकीकृत रूपमा नै युटीलिटी निर्माण र मर्मत गर्दै जान आवश्यक छ,’ उनले भने।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलम्ची खानेपानीका कारण धेरै सडक क्षतिग्रस्त भइरहेको उनले बताए। सम्पदा बस्तीमा आगामी दिनमा ओभरले (कालोपत्र थप्ने काम) गर्न नदिने उनले उल्लेख गरे। ‘ओभरलेका कारण मौलिकता हराइरहेको छ भने घर-घरमा पानी पसेको छ,’ उनले भने।

भौतिक मन्त्रालयका सचिव केशव शर्माले कुनै पनि निकायले सडक खनेको १०-१५ दिनमै पुनःस्थापना गर्ने हो भने मात्रै खन्न पाउने बताए।

कुनै पनि निकायले वर्षाको समयमा सडक खन्न अनुमति नदिइने हुँदा गर्नुपर्ने काम जेठभित्रै गरिसक्नुपर्ने उनको भनाइ छ।

समन्वयका लागि बनेको समितिका संयोजक डा. विजय जैसीले एकीकृत रूपमा काम गर्न सजिलो भएको बताए। लैनचौर-महाराजगञ्ज सडकमा समन्वय गरेरै केही ठाउँबाहेक अधिकांश खाल्डाखुल्डी पुरिएको उनको भनाइ छ।

श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सबै निकायका प्रतिनिधि सम्मिलित बैठक प्रत्येक दुई-दुई सातामा बस्दै आएको छ। अबदेखि भने सो बैठक महिनामा एकपटक बस्ने निर्णय भएको छ।

बिहीबारको बैठकले विगतमा समन्वय समितिमा ७ सदस्यमात्रै रहेकामा ढल व्यवस्थापन शाखाका प्रतिनिधि थप गर्ने निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरणको केबल र आयोजना कार्यान्वयन निर्देशनालयको केबल एउटै फाउन्डेशनमा नराख्ने निर्णय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =