सिन्धुलीमा मासिँदै जडीबुटी 

हिमाल प्रेस ४ फागुन २०७९ १२:१०
6
SHARES
सिन्धुलीमा मासिँदै जडीबुटी 

सिन्धुली- स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन्। संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन्।

वनजंगल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढंगले संकलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन्। जडीबुटी संकलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका-५ सिलामेकी भीमकुमारी थापामगर बताइन्।

सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनी भन्छिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन्। महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन्।’

जिल्लामा भएका जडीबुटी संकलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरीबाट किनेर बिक्री गर्नुपरेको थापामगर बताउँछिन्। स्थानीय जडीबुटीको महत्त्व बुझाउन नसक्दा र यससम्बन्धी स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन्।

महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी संकलन गर्दा बीउ नै मासिँदै गएको छ। जथाभावी जडीबुटी संकलन गरी सदरमुुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिए पनि व्यवस्थित रूपमा संकलन भने हुन सकेको छैन।

‘स्थानीय तह र सम्बन्धित निकायले जडीबुटी सङ्कलन, प्रशोधन र संरक्षणमा ध्यान दिनसके आयस्तर बढाउन टेवा पुग्ने थियो,’ उनले भनिन्। सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ। उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेश तथा बेँसी र खोच क्षेत्रमा भौगोलिक तथा वातावरणअनुसार फरक–फरक प्रजातिका जडीबुटी पाइन्छन्। यसको अव्यवस्थित संकलन र चोरी तस्करी हुने गरेको छ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा १३० भन्दा बढी प्रजातिका बहुमल्य जडीबुटी पाइन्छन्। साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्त्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन्। यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनि मूल्यवान् जडीबुटी खेर जाने गरेको छ।

स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन। औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको उचित संकलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शंकरराज बराल स्वीकार्छन्।

जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पुर्‍याउन नसकिएको बताए। ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ।

प्रकाशित: ४ फागुन २०७९ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast