मण्डलामा गुञ्जिए बसन्त, सुनाए प्रेम कविता

हिमाल प्रेस ३ फागुन २०७९ ११:१९
8
SHARES
मण्डलामा गुञ्जिए बसन्त, सुनाए प्रेम कविता

काठमाडौँ- कवि तथा गीतकार बसन्त चौधरीको एकल कविता वाचन ‘कवितासँग बसन्त’ भएको छ। काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा कवि चौधरी गुञ्जिएका हुन्।

‘लभ इज इन द इयर’ थिम दिइएको एकल कविता वाचन कार्यक्रममा चौधरी एक घण्टासम्म पोखिए। उनले आफ्ना प्रशंसक र दर्शकलाई विभिन्न २० देशमा प्रस्तुत गरेका विश्व काव्ययात्राकै शैलीमा कविता सुनाए।

स्वास्थ्य समस्याका कारण लामो समययता विश्राम लिएका चौधरीले यस वर्षको प्रेम दिवसलाई आफ्ना कविताले विशेष र रोमाञ्चक बनाए। कार्यक्रममा उनले एक दर्जनभन्दा बढी कविता, मुक्तक र गजल सुनाए। कार्यक्रममा सुनाइएका सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्धसँग सम्बन्धित थिए।

चौधरीका कवितामा मान्छेका दुःखसुख, हाँसो र आँसुको अनुभूति गर्न पाइन्छ। उनले कवितामा प्रयोग गर्ने विम्ब र प्रतीक अनौठा हुन्छन्। कार्यक्रममा कवि चौधरीले आफूले कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए।

‘आँसु, हाँसो, सुखदुःखजस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ,’ उनले भने, ‘म चाहन्छु, मेरो कविता नदीको शीतल प्रवाहसरी शान्त होस्। पहराबाट छुटेको छहरासरी गतिमय पनि।’

कविता लेख्दा र वाचन गर्दा आफूलाई सुखानुभूति हुने चौधरीले बताए। ‘जब मेरा भावनाले शब्द उच्चारण गर्छन्, तब वास्तवमा मलाई सुखको अनुभूति हुन्छ,’ उनले भने, ‘साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु।’

कार्यक्रममा चौधरीले आफूले सुरु गरी हाल रोकिएको विश्व काव्ययात्राको पुनः थालनी गरिने उद्घोषसमेत गरे। कवि चौधरीलाई सुन्न मण्डला थिएटरको हल खचाखच भरिएको थियो। कार्यक्रममा उनका दुई वटा पुस्तक ‘मेरा गीत’ (गीत संग्रह) तथा ‘जीवनमन्त्र-२’ (सूक्ति संग्रह)को सामूहिक लोकार्पण भए।

चौधरीका नेपालीमा मात्र नभई हिन्दीमा समेत सिर्जना सार्वजनिक भइसकेका छन्। केही समयअघि उनका ८५ वटा कविता संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्। त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृति प्रकाशित छन्।

प्रकाशित: ३ फागुन २०७९ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =