तरकारी चिस्यान केन्द्र : कतै अलपत्र, कतै निर्माणाधीन

हिमाल प्रेस २ फागुन २०७९ १७:४८
4
SHARES
तरकारी चिस्यान केन्द्र : कतै अलपत्र, कतै निर्माणाधीन फाइल तस्बिर

खोटाङ– किसानले उत्पादन गरेका कृषिउपज संकलन तथा भण्डारण गर्ने उद्देश्यले खोटाङका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्र निर्माणको काम सुरु गरिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार उद्घाटन गरिएको ११ महिना पुग्न लागेको छ। संसदीय विकास कोषबाट विनियोजन गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख रुपैयाँ र नगरपालिकाको ४० लाख रुपैयाँगरी ९० लाख रुपैयाँमा निर्माण गरिएको शीतभण्डार केन्द्र २०७८ चैत २५ गते उद्घाटन गरिएको थियो। ३० टन भण्डारण क्षमताको एउटा मात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्र उद्घाटनपछि अहिलेसम्म सञ्चालनमा आएको छैन।

बुइँपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको थियो। चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी एक महिनासम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको छ। किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप शीतभण्डारकेन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताए।

नगरपालिकाको स्वामित्वमा रहने शीतभण्डार केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन। पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको शीतभण्डार केन्द्र उद्घाटन हुँदा बुइँपाका स्थानीय किसान हर्षित थिए। तर, उद्घाटन गरिएको लामो समयसम्म सञ्चालनमा नआएपछि किसान निराश बनेका छन्। जिल्लाभरका किसान तथा किसान समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइँपामा निर्माण गरिएको शीतभण्डार केन्द्र जिल्लाकै पहिलो शीतभण्डार केन्द्र पनि हो। तर, हालसम्म सञ्चालनमा आएको छैन।

१० स्थानीय तह रहेको जिल्लामा शीतभण्डार केन्द्र सञ्चालन नहुँदा बाहिरी जिल्लाबाट आयात भएको फलफूल तथा तरकारी उपभोग गर्नुपर्ने बाध्यता छ भने जिल्लामै उत्पादन गरिएको फलफूल तथा तरकारी खेर गइरहेको छ।

बुइँपाका उत्कृष्ट किसान समूह छनोट गरेर शीतभण्डार केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएकाले अहिलेसम्म सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताए। ‘किसान समूहले कृषिउपज भण्डारण गरेबापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ’ उनले भने, ‘यसका लागि नगरले कार्यविधि बनाएको छैन। कार्यविधि बनाएपछि सञ्चालनमा ल्याउने तयारी छ।’

नगरपालिकाभित्र निर्माण गरिएका तर, सञ्चालनमा नआएका भौतिक संरचनाका विवरण संकलन गरेर कार्यपालिकाको बैठकमा छलफल गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताए। ‘नगरपालिकाको लगानीमा निर्माण गरिएका धेरै संरचना प्रयोगमा नआएको भन्ने बुझिएको छ’ उनले भने, ‘कतिपय ठाउँमा मापदण्ड विपरीतका संरचना बनेका पनि सुनेका छौं। यस विषयमा कार्यपालिकाको बैठक राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउने योजनामा छौँ।’

पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार केन्द्र उपयुक्त ठाउँमा नभएको जिल्लाका किसानको आरोप छ। राज्यकोषको करिब एक करोड रुपैयाँ खर्चमा निर्माण गरिएको शीतभण्डार केन्द्र प्रयोगविहीन छ। उक्त शीतभण्डार केन्द्रको अनुगमन दुई हप्ताअघि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई नतेतृत्वको टोलीले गरेको थियो।

शीतभण्डार केन्द्रमा आलु, सुन्तला, किबी लगायतका कृषिजन्य सामग्री भण्डारणका लागि प्रयोग गर्न स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख राईले बताए। दिप्रुङ चुइँचुम्मा गाउँपालिका–३ छोरम्बुको रोबलुङमा निर्माणाधीन शीतभण्डार केन्द्रको भवन नै अलपत्र छ। संसदीय विकास कोषबाट विनियोजन गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवन अलपत्र परेको हो।

तीन वर्षअघि निर्माण गरिएको भवन सञ्चालनमा ल्याउन गाउँपालिकाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए। ‘गाउँपालिकाबाट विनियोजित बजेटबाट शीतभण्डार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको छ’ उनले भने, ‘विद्युत् जडान, रङरोगन लगायतका काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी छ।’

यसैबीच रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारमा पनि चिस्यान केन्द्रको भवन सम्पन्न भएको छ। फलफूल तथा अन्नबाली लगायतका कृषि उपज भण्डारणका लागि जिल्लाकै उर्वर मानिएको उक्त गाउँपालिकामा सोही गाउँपालिकाको ६२ लाख रुपैयाँ (भ्याटसहित) लागतमा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो। भवन निर्माण् भइसकेकाले उपकरण खरिद गरेर जडान गरेपछि सञ्चालनमा ल्याउने तयारी रहेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। १० स्थानीय तह रहेको जिल्लामा शीतभण्डार केन्द्र सञ्चालन नहुँदा बाहिरी जिल्लाबाट आयात भएको फलफूल तथा तरकारी उपभोग गर्नुपर्ने बाध्यता छ भने जिल्लामै उत्पादन गरिएको फलफूल तथा तरकारी खेर गइरहेको छ।

राससको सहयोगमा

प्रकाशित: २ फागुन २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast