राष्ट्रपतिमा रस्साकस्सी, गठबन्धनको निर्णय पर्खँदै कांग्रेस

हिमाल प्रेस २६ माघ २०७९ १४:५०
38
SHARES
राष्ट्रपतिमा रस्साकस्सी, गठबन्धनको निर्णय पर्खँदै कांग्रेस

काठमाडौँ– नेकपा एमाले र नेपाली कांग्रेस राष्ट्रपति पदलाई लिएर ‘रणनीतिक खेल’ मा सक्रिय छन्। वर्तमान सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति पाउने सहमति छ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि त्यो सहमतिमा संकटका बादलहरू देखिएका छन्। त्यसैले सहमति भाँडिने हो कि भन्ने चिन्ता एमाले नेताहरूलाई छ।

गठबन्धनभित्रको सहमतिअनुसार आफैँले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बनाउने दाउ एमालेको छ भने कांग्रेस जसरी पनि एमालेले अघि सारेका उम्मेदवारलाई हराउने पक्षमा छ। संघीय संसद्‍मा तेस्रो शक्ति रहेको माओवादीको समर्थनबिना दुवै दलले अघि सारेका व्यक्ति राष्ट्रपति बन्न असम्भव छ। माओवादीले कता सहयोग गर्छ भन्ने निश्चित भइसकेको छैन।

विद्यमान राजनीतिक परिदृश्य हेर्दा राष्ट्रपति निर्वाचन रोचक त बन्ने छ नै यसले वर्तमान सत्ता समीकरणमा पनि फेरबदल ल्याउन सक्ने सम्भावना पनि उत्तिकै छ। कुनै दलले पनि राष्ट्रपतिका लागि उम्मेदवार तोक्न सकेका छैनन्। राष्ट्रपतिको चुनाव फागुन २५ मा हुँदैछ।

एमाले नेताहरू कांग्रेसले चाहँदैमा उसले राष्ट्रपति नपाउने बताउँछन्। ‘कांग्रेसका नेताहरूले राष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्डलाई नैतिक दबाब दिइरहेका छन्,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘गठबन्धन एक बनेर अघि बढ्छ। हामी एक छौँ।’

कांग्रेस नेताहरू भने एमालेले राष्ट्रपति पाएमा मुलुकमा संवैधानिक दुर्घटना हुने भयमा छन्। त्यसैले त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति कांग्रेसकै बनाउने पक्षमा पार्टी नेताहरू सक्रिय छन्।

एमालेले राष्ट्रपति पाउँदा संविधानमै नभएको शक्तिको अभ्यास गरेकाले अब उसलाई दिन नहुने बताउँछन् कांग्रेस महामन्त्री गगनकुमार थापा।

उनी भन्छन्, ‘अहिले एमालेलाई राष्ट्रपति दिने हो भने दुई शक्तिकेन्द्र बन्छ- एउटा बालुवाटार, अर्को शीतल निवास।’ शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्दा संविधान दुर्घटनामा जाने खतरा रहने थापा बताउँछन्। उनी भन्छन्, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ। हामीले भनेका उम्मेदवारलाई जिताउने कोसिस गर्छौँ।’ विगतमा राष्ट्रपतिको भूमिका विवादास्पद रहेकाले त्यो डरबाट मुक्त हुनुपर्ने थापाको भनाइ छ।

सत्ता गठबन्धन बन्दा राष्ट्रपति एमालेको भागमा परेको थियो। पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’ का आधारमा राष्ट्रपति चयन गर्ने निर्णय गरेको छ। सोही कारण एमाले पनि त्रासमा छ। राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल गर्न बिहीबार एमाले सचिवालय बैठक बसेको छ।

राष्ट्रपति चुनाव आउन एक महिना बाँकी छ। तर एमालेले कसलाई अघि सार्छ भन्ने अन्योल छ। यसबारे पार्टीमा छलफल भएको छैन। बैठक नै नबसेपछि छलफल हुने कुरै भएन। ‘पार्टीमा छलफल भएको छैन,’ एमाले नेता अमृत बोहरा भन्छन्, ‘हामीले पनि केही सुझाव दिन्थ्यौँ नि।’

एमालेमा राष्ट्रपतिमा आधा दर्जन आकांक्षी छन्। तीमध्ये केही त राष्ट्रपति बन्नकै लागि शक्तिकेन्द्र धाउन सक्रिय छन्। बोहरा पनि राष्ट्रपतिका आकांक्षी हुन्। बोहराजस्तै अन्य पदाधिकारी पनि राष्ट्रपति चुनावबारे बेखबर छन्।

ओलीले राष्ट्रपति चुनावबारे आन्तरिक रूपमा भने छलफल जारी राखेका छन्। बालकोटमै दोस्रोस्तरका नेतालाई बोलाएर ‘बिफ्रिङ’ लिँदै आएका ओलीले बिहीबार भने सचिवालय बैठक बोलाएका छन्।

सभामुख निर्वाचनमा ओलीले आफू निकट नेतालाई मात्र बोलाएर छलफल गरेका थिए। सोही कारण पार्टी बैठक नहुने शंकामा नेताहरू थिए। पहिला बैठक नगर्ने तर समय घर्किन लाग्दा मात्रै निर्णय सार्वजनिक गर्ने ओलीको प्रवृत्ति हो। सभामुखमा ओलीले देवराज घिमिरेलाई मनोनयन हुनुभन्दा केही दिनअघि मात्रै तयारीमा रहन भनेका थिए।

नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठक। तस्बिर स्रोत : एमाले मुख्यालय

‘धेरै विषय बाहिर ल्याइएको छैन। परिस्थिति बिग्रिन्छ भन्ने भय छ,’ ओलीनिकट नेता भानुभक्त ढकालले भन्छन्, ‘त्यसैले राष्ट्रपतिबारे बोल्न मिल्दैन। सचिवालय बैठकपछि ठोस धारणा बन्नेछ।’

गठबन्धनमा उत्पन्न संकटले निम्तिएको त्रास राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। रास्वपालाई सरकारमा राख्न एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको जोडबल काम लागेन। तर एमालेले यसको अपजस माओवादीमाथि थोपरेको छ।

प्रचण्ड सकारात्मक नबन्दा रास्वपाले सरकार छाडेको उनीहरूको बुझाइ छ। ‘गठबन्धन फुट्न नदिन माओवादी प्रतिबद्ध छ। तर रास्वपालाई सरकारमा राख्न सक्नुपर्थ्यो,’ एमाले उपमहासचिव ज्ञवाली भन्छन्, ‘अरू पार्टी हाबी हुन नदिन पनि गठबन्धन बढ्नुपर्ने स्थिति छ।’

रास्वपाले गृह मन्त्रालयमा दाबी गरेको थियो। माओवादीले गृह दिन नसक्ने बताएसँगै रास्वपा सरकारबाट बाहिरियो। सोही कारण प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने दलहरूसमेत अर्कोतर्फ लाग्ने खतरा छ। सोही खतराको संकत पाएका एमाले अध्यक्ष ओली गठबन्धन दललाई समेट्नुपर्ने पक्षमा छन्। ओलीले रास्वपाको साथ राख्न खोज्नुको कारण पनि यही हो।

उनी राप्रपालाई पनि मनाउने कसरतमा छन्। कांग्रेसको चालअनुसार उम्मेदवार चयन गर्ने दाउमा ओली राष्ट्रपति निर्वाचनमा कांग्रेसले राष्ट्रिय सहमति खोजेपछि ओली पिरोलिएका छन्। उनले यस विषयमा प्रचण्डसँग पनि पटकपटक छलफल गरे। प्रधानमन्त्री प्रचण्डसँगको पछिल्ला भेटमा ओलीले पुस १० को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका छन्। प्रचण्ड भने राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्ने पक्षमा छन्।

कांग्रेसले माओवादीसँग बढाइरहेको निकटताले ओली कसलाई उम्मेदवार बनाउने भन्नेमा दोधारमा छन्। अघिल्लो कार्यकालमा आफू निकट विद्यादेवी भण्डारीलाई राष्ट्रपति चुन्दा ओलीलाई राहत मिलेको थियो। अहिले पनि ओली ‘एस म्यान’ खोजिरहेछन्। तर यस विषयमा प्रचण्ड सहमत छैनन्। एमालेबाट राष्ट्रपति भएमा ओलीको ‘एस म्यान’ हुन नहुने अडान प्रचण्डको छ।

प्रचण्डले राष्ट्रिय सहमति भन्नुको पछाडि ‘परिपक्व उम्मेदवार’ खोजेको स्वयं एमाले नेताहरूको बुझाइ छ। एमालेका दोस्रो स्तरका नेताले भने ओलीलाई प्रचण्डको चाहनाअनुसार अघि बढ्न सुझाव दिँदै आएका छन्। ‘गठबन्धन टुटाउनु हुन्न। बरु प्रचण्डको चाहनाअनुसार उम्मेदवार बनाउनुपर्छ,’ ओली निकट नेताले भने, ‘जसपा र उन्मुक्तिले समेत चाहने व्यक्ति खोज्नु उचित हुन्छ।’

माओवादीकै चाहनाअनुसार अघि बढ्लान् त ओली?

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका सांसदले भोट हाल्ने व्यवस्था छ। त्यसैले चुनाव जित्न माओवादीको भोट निर्णायक हुन्छ। राष्ट्रपति निर्वाचनमा संघ र प्रदेशका सांसद मतदाता हुन्छन्।

संघका एक सांसदको ७९ र प्रदेशका एक सांसदको ४८ मतभार जोड्दा राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७ सय ७ मतभार हुन्छ। बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छन्।

संसद्को ठूला दल कांग्रेससँग १६ हजार २ सय २१ र एमालेसँग १५ हजार २ सय ३३ मत रहेकाले अन्य धेरै सहयोगी जुटाउँदा पनि बहुमत पुर्‍याउन कठिन छ। त्यसैले ७ हजार ७ सय ४५ मत भएको माओवादी निर्णायक देखिन्छ। यो मतलाई माओवादीले रणनीतिक रूपमा प्रयोग गर्न खोजेको छ।

राष्ट्रपति निर्वाचन गोप्य हुन्छ। यसैले ‘फ्लोर क्रस’ हुने सम्भावना छ। एमालेले ओलीका ‘एस म्यान’ अघि सारेका प्रचण्डले कांग्रेसको उम्मेदवारलाई जिताउन भूमिका खेल्न सक्नेछन्। यसकारण ओली प्रचण्डको भनाइ मान्न तयार छन्। तर पनि कांग्रेसले आफ्नो तरिकाले प्रचण्डलाई अलमलमा पार्ने काम भने गरिरहेको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने दाबी गर्छन्। उनी भन्छन्, ‘आज एमालेको पनि बैठक बस्दै छ क्यार, अनि सत्ता गठबन्धनको पनि बैठक छ। दुवै बैठकबाट आउने निर्णयका आधारमा कांग्रेसले पनि आवश्यक रणनीति तय गर्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =