मुसर्रफले भारतीय आकाश प्रयोग नगरी शिखर सम्मेलनमा भाग लिन आउने प्रतिबद्धता जनाएपछि सबै ढुक्क देखिएका थिए। भारतले सार्कका लागि आकाश खुला गरे पनि उनी चढेको विमान चिनियाँ आकाश भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। त्यही कारण नेपाल सरकारले भारतीय र पाकिस्तानीका लागि फरकफरक गेटको व्यवस्था गरिदिएको थियो।
पत्रकारिता प्रवेशको सुरुका दिनमा दक्षिण एसियामा एक जना शासक विश्वभर चर्चित थिए। ती शासकका बारेमा अनेक किस्सा सुनिन्थ्यो, उडिरहेको हवाईजहाज जल्दा पनि झरेर बाँचेका, सेनाले प्रहार गर्न खोज्दा नलागेर ज्यान जोगाएका, यस्तैयस्तै। ती सैनिक शासक हुन् पाकिस्तानका परवेज मुसर्रफ।
वास्तविकताचाहिँ के थियो भने एअरपोर्टमै बन्दी बनाएर सेनाप्रमुखबाट बर्खास्त गरिदिने तत्कालीन सरकारको तयारीलाई उनले असफल पारिदिएका थिए। सेना प्रमुखको पदबाट हटाउने संकेत मिलेपछि मुसर्रफ उल्टै तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई बन्दी बनाई शासनसत्ता हातमा लिन सफल भए।
सैन्य कूबाट शक्तिमा आएका उनी लगातार नौ वर्ष राष्ट्रपति भए। मुसर्रफको ७९ वर्षको उमेरमा आइतबार संयुक्त अरब इमेरिट्समा निधन भएको हो। यहाँ उनै मुसर्रफको नेतृत्व शैली र नेपाल यात्राका केही सन्दर्भ चर्चा गरिएको छ।
११ सेप्टेम्बर २००१ मा आतंकवादी संगठन अल कायदाले न्युयोर्कस्थित ‘वर्ल्ड ट्रेड सेन्टर’ मा जेट जोतेर आतंककारी हमला गरेको थियो। उक्त हमलालगत्तै मुसर्रफले पाकिस्तान सरकार आतंकवादविरुद्ध अमेरिकाको साथमा रहेको प्रतिक्रिया दिए। बिनासर्त उनले अमेरिकाको समर्थन गरेकाले उनलाई अमेरिकाले ‘उदार तानाशाह’को सूचीमा राख्यो। अहिले पनि विश्व कूटनीतिमा सैनिक शासक राष्ट्रपति रहँदा अमेरिकालाई गरेको सहयोगको चर्चा हुन्छ। त्यसैले मुसर्रफ पश्चिमाको दृष्टिकोणमा ‘उदार तानाशाह’का रूपमा चिनिन्छन्।
त्यति बेला नै नेपालमा पनि मुसर्रफ मोडलको उदार तानाशाहको नक्कल हुन पुग्यो। २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि राष्ट्र प्रमुखको जिम्मेवारीमा पुगेका राजा ज्ञानेन्द्रले सन् २००२ मा मुसर्रफलाई भेटेपछि उत्साहित भएको तत्कालीन नेताहरू बताउँछन्। राजा ज्ञानेन्द्रले मुसर्रफकै ढाँचामा शासन चलाउने प्रयास गरे पनि राजसंस्थाको लोकप्रियता खस्कँदै गएको थियो। दरबार हत्याकाण्डसँगै राजसंस्थाप्रतिको विश्वास गुमेको थियो। तर पनि ज्ञानेन्द्रले उदार तानाशाहको अभ्यास गरेरै छाडे।
मुसर्रफलाई अमेरिकाको समर्थन थियो। नेपालका तत्कालीन राजा ज्ञानेन्द्रले पनि माओवादी द्वन्द्व अन्त्यका लागि भारतको साथ लिएर उदार तानाशाह बन्न खोजेका थिए। साहसिक कमान्डर हुँदै नेता भएका कारण मुर्सरफमा जुन आँट र साहस थियो, ज्ञानेन्द्रमा त्यस्तो विशेषता थिएन। त्यसैले त मुसर्रफले नौ वर्ष प्रत्यक्ष शासन गर्दा ज्ञानेन्द्रले तीन वर्ष पनि टिकाउन सकेनन्। ज्ञानेन्द्र असफल मात्रै भएनन्। उनकै कारण २४० वर्षदेखि शासन सत्तामा रहँदै आएको शाहवंशीय राजसंस्था इतिहासमा सीमित बन्न पुग्यो।
मुसर्रफ साँच्चै शासक थिए। अनि लामो समय सत्तामा टिक्न सफल भए। उनको अडान र शैलीको प्रशंसा गर्नेहरूको सूची लामै छ।
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई दुई वर्षअघि मृत्युदण्ड सुनाइएको थियो। मुसर्रफलाई दिइएको मृत्युदण्ड कार्यान्वयन हुनै पाएन। यूएईमा उपचारका क्रममा उनले संसार छाडे। उनलाई पाकिस्तानी सर्वोच्च अदालतले फाँसीको सजाय मात्र सुनाएको थिएन, मृत्युदण्डपछि शवलाई इस्लामाबादको डी-चोक (डेमोक्रेसी चोक) मा तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको थियो। अदालतको आदेश सुन्दै आङ जिरिंग हुने मुसर्रफले डरलाग्दो काम के गरे भन्ने प्रश्नको उत्तर अझै पनि पाकिस्तानी नागरिकले पाइसकेका छैनन्। मुसर्रफले प्रधानमन्त्रीबाट अपदस्थ गरेका सरिफको दलले भने अदालतको प्रशंसा गरेको थियो।
सैनिक शासक मुसर्रफको नेपाल यात्रा पनि कम रोचक छैन। सन् २००२ को जनवरी ४-६ मा सार्कको एघारौँ शिखर सम्मेलन काठमाडौँमा आयोजना गरिएको थियो। कूटनीतिक मामिलाका पत्रकारहरू लेखनाथ अधिकारी, देवेन्द्र भट्टराई, रमा पराजुली, दिल्ली बसेल, भुवनेश्वर पौडेल, सुरेन्द्र पाण्डे, लोकेन्द्र अधिकारी, राम हुमागाई, केशव पौडेल, सञ्जय ढकाल, न्हुच्छेमान डंगोल, सागर श्रेष्ठ, चन्द्रशेखर कार्की र म लगायत हामी विभिन्न पत्रिकाबाट सार्क शिखर सम्मेलनको ‘कभरेज’ मा जुटेका थियाैँ। भर्खरै कूटनीतिक बिटमा रिपोर्टिङ गर्न थालेकाले मेरा लागि पनि शिखर सम्मेलनको समाचार संकलन कोतूहलपूर्ण थियो।
सम्मेलनमा नेपालीभन्दा विदेशी मिडियाको उपस्थिति बाक्लो देखिन्थ्यो। काठमाडौँका सडकमा पनि त्यति चाप थिएन। भनेको समयमा जहाँ पनि पुग्न सकिन्थ्यो। सूचनाको पहुँच थियो तर सहज थिएन। इन्टरनेट सबैतिर पुग्न बाँकी नै थियो। अनलाइन सञ्चारमाध्यम भर्खर सुरु हुँदै थिए। नेपाल न्युज र द काठमाडौँ पोस्टजस्ता अनलाइन संस्करणमा कमैको पहुँच पुग्थ्यो। मोबाइल फोन पनि सीमित व्यक्तिको हातमा थियो।
शिखर सम्मेलन हालको संघीय संसद् भवन अर्थात् वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा भएको थियो। एभरेस्ट होटल र ग्रान्ड होटलमा मिडिया सेन्टर थिए। अतिथिहरूका लागि बसोबासको व्यवस्था होटल सोल्टीको भिल्लामा गरिएको थियो।
राजधानीको सडक सफा बनाइएको थियो। तत्कालीन मेयर केशव स्थापितले सडक चिल्याउने काम मात्र गरेका थिएनन् चौँडा पनि बनाएका थिए। माइतीघर चोकका घरहरू भत्काएर भर्खरै मण्डला निर्माण गरिएको थियो। रत्नपार्कमा रहेका घरटहरा भत्काएर सुन्दर पार्क बनाइएको थियो। तीनकुने पनि चिटिक्क पारिएको थियो।
सबै तयारी भए पनि परराष्ट्रका उच्च अधिकारीहरूमा एक प्रकारको छटपटी देखिन्थ्यो। परराष्ट्र मन्त्रालय अहिलेको राष्ट्रपति कार्यालय शीतल निवासमा थियो। परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह थिए भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफैँसँग राखेका थिए। सम्मेलन नजिकिँदै गर्दा परराष्ट्र सचिव मधुरमण आचार्य अलिक हतास देखिन्थे। आयोजक राष्ट्रको परराष्ट्र सचिव भएकाले त्यस्तो हुनु स्वाभाविकै थियो।
सबैभन्दा ठूलो चिन्ताचाहिँ भर्खरै रक्तपातविहीन सैनिक कुबाट नेतृत्वमा पुगेका पाकिस्तानका राष्ट्रपति मुसर्रफ शिखर सम्मेलनमा सहभागी नहुने पो हुन् कि भन्ने थियो। यसै पनि कटु सम्बन्ध रहेको भारत-पाक सम्बन्धमा मुसर्रफ सत्तामा आएपछि थप तिक्तता बढेको थियो। सदस्य राष्ट्रमध्ये कुनै एक राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी नभई शिखर सम्मेलन सम्भव थिएन।
मुसर्रफले भारतीय आकाश प्रयोग नगरी शिखर सम्मेलनमा भाग लिन आउने प्रतिबद्धता जनाएपछि सबै ढुक्क देखिएका थिए। भारतले सार्कका लागि आकाश खुला गरे पनि उनी चढेको विमान चिनियाँ आकाश भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। त्यही कारण नेपाल सरकारले भारतीय र पाकिस्तानीका लागि फरकफरक गेटको व्यवस्था गरिदिएको थियो।
राष्ट्रपति मुसर्रफ विमानस्थलबाट सीधै शिखर सम्मेलन भइरहेको हलमा पुगेका थिए। त्यहाँ उनले सबैसँग हात मिलाए। मुसर्रफले भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीसँग हात मिलाएको दृश्यलाई विदेशी सञ्चारमाध्यमहरूले निकै महत्त्व दिएका थिए। कूटनीतिक रूपमा भारत र पाकिस्तानबीच ‘आइसब्रेक’ भएको मानिएको थियो त्यति बेला।
मुसर्रफले बाजपेयीसँग हात मिलाएको विषयलाई बीबीसी, सीएनएन, रोयर्टस, एएफपी, एपी लगायतले ठूलो समाचार बनाए। भारत र पाकिस्तानी अखबारमा नेपालको प्रशंसा गर्दै ब्यानर समाचार बने। सञ्चारमाध्यमहरूले उनीहरूको मिलनलाई दशककै महत्त्वपूर्ण ‘ह्यान्डसेक’ का रूपमा व्याख्या गरे। विदेशी सञ्चारमाध्यमले नेपाललाई भारत र पाकिस्तानको मिलन केन्द्रका रूपमा चिनाए। मुसर्रफले बाजपेयीसँग हात मिलाउनु जिन्दगीको सबैभन्दा ठूलो साहसिक कदम रहेको प्रतिक्रिया दिएका थिए।
दुई नेताबीच संक्षिप्त वार्ता पनि भयो। त्यही वार्ताले भारत र पाक सम्बन्धमा केही सहजता ल्याएको थियो। दुई ठूला सदस्य राष्ट्रको सहकार्यसँगै सार्कले गति लिने आशाको दियो बलेको थियो। भारत-पाक सम्बन्धमा रहेको तिक्ततापूर्ण सम्बन्धलाई मत्थर बनाउने थलो बनेको थियो काठमाडौँ। कारगिल युद्धपछिको तनाव काम गर्न काठमाडौँको भूमिले विशेष भूमिकाल खेल्यो।
नेपाली सञ्चारमाध्यमले पनि सार्क शिखर सम्मेलनको समाचार भन्दा भारत र पाकिस्तानबीचको सम्बन्धलाई प्राथमिकता दिएका थिए।
शिखर सम्मेलनपछि नेपाली सत्ताले मुसर्रफप्रति बिस्तारै ‘आकर्षित’ गर्न थालेको हो। काठमाडौँमा ‘उदार तानाशाह’ रोज्ने जनमत रहेको भन्ने भाष्य थियो। त्यसैले पनि पाकिस्तानमा भएको रक्तपातविहीन सैनिक कुको अभ्यासले तत्कालीन राजा ज्ञानेन्द्रेलाई बल पुर्याएको विश्लेषण गरिन्थ्यो।
११ औँ सार्क शिखर सम्मेलनपछि नेपालमा उदार तानाशाहका रूपमा उदाएका राजा ज्ञानेन्द्र बिस्तारै कमजोर बन्दै गए। भारत र पाक सम्बन्ध विस्तारका लागि भने सुखद रह्यो। मुसर्रफले बाजपेयीसँग हात मिलाएर जोखिमपूर्ण राजनीतिक खेलमा प्रवेश गरेको समेत बताएका थिए।
मुसर्रफलाई भेटेर उत्साहित बनेका राजा ज्ञानेन्द्रले भारतलाई सहमत गराउने प्रयासमा लागे। पाकिस्तानलाई अमेरिकाले साथ दिएजस्तै भारतले आफ्नो कदमलाई समर्थन गरोस् भन्ने चाहना ज्ञानेन्द्रको थियो। तर कूटनीतिज्ञहरूको कुरा नसुनी आफ्नो एकल निर्णय गर्दा उनी अलमलमा परेका थिए।
मुसर्रफको सैनिक शासनलाई आतंकवाद नियन्त्रण गर्न अमेरिकाले साथ दिएझैँ नेपालका माओवादी नियन्त्रण गर्न राजा ज्ञानेन्द्रले भारतको साथ खोजेका थिए। अमेरिकी राजदूत जेम्स मोरियार्टी ज्ञानेन्द्रका पक्षमा थिए। सत्ता हातमा लिने आफ्नो तयारीमा छिमेकीको समर्थन खोज्न राजा ज्ञानेन्द्र १० दिन लामो भारत भ्रमण गर्ने तयारीमा थिए। तर भारतीय पूर्वप्रधानमन्त्री पीभी नरसिंहको निधनले तोकिएको भ्रमण कार्यक्रम स्थगित भयो। राजा ज्ञानेन्द्रले भारतीय संस्थापन पक्षबाट समर्थन प्राप्त गर्न सकेनन्।
शासनसत्ता हातमा लिइसकेपछि राजा ज्ञानेन्द्रले मुसर्रफलाई सन् २००५ मा अफ्रो एसियाली शिखर सम्मेलनमा भेट गरेका थिए। ज्ञानेन्द्र पाकिस्तानसँग नजिक रहेर चीनसँग सहकार्य गर्ने पक्षमा थिए। तर उनको त्यो प्रयास सफल भएन।
कार्गिल युद्धका कारण सन् २००१ देखि भारत-पाकिस्तान विवाद उत्कर्षमा थियो। तीन पटक स्थगित भएर आयोजित सार्कको एघारौँ शिखर सम्मेलनले दुई नेताबीच ‘मित्रताको हात मिलाउने’ दुर्लभ अवसर जुटाएको थियो। भारत र पाकिस्तानबीच विद्यमान अप्ठ्यारो सम्बन्धलाई नियाल्दा त्यसैगरी हिम्मत देखाउने नेतृत्व आवश्यक देखिन्छ।
यतिबेला सार्कमा भारतीय उपस्थिति छैन। भारतीय पूर्वकूटनीतिज्ञहरू सार्क विघटन गर्नुपर्ने पक्षमा उभिएका छन्। मुसर्रफको भौतिक देह धर्तीमा छैन। ११ औँ सार्क शिखर सम्मेलनमा उनले देखाएको कूटनीतिक चातुर्य र उनलाई पश्चिमाले गुथेको उदार सैन्य शक्ति ताजै छ।
११ औँ शिखर सम्मेलनका बेला नेपाली पत्रकारसँग मुसर्रफले स्पष्ट र सहज रूपमा व्यक्त गरेको अभिव्यक्ति कुनै प्रजातान्त्रिक नेताको भन्दा कमजोर थिएन। शिखर सम्मेलनका बेला पत्रकार न्हुच्छेमान डंगोलले खिचेका तस्बिरले मुसर्रफको काठमाडौँ यात्रालाई सम्झाइरहन्छन्।