यसकारण म राजनीतिबाट अलग भएँ

दीपकुमार उपाध्याय २३ माघ २०७९ ९:०२
3.2k
SHARES
यसकारण म राजनीतिबाट अलग भएँ

यतिबेला नेपालको राजनीति थप संकटतर्फ उन्मुख हुँदैछ। दलका नेताहरूको गैरजिम्मेवारीका  कारण हामी यस्तो अवस्थामा पुगेका हौँ। संकट बढ्दै जाँदा चरम आर्थिक अभाव देखापर्नेछ। मुलुकले धान्न सक्दैन। अनि आन्तरिक विद्रोहमा जानेछ। त्यसले कुन रूप लिन्छ अहिले यसै भन्न सकिन्न। कसैले नसोचेको र नपत्याउने परिदृश्य पनि आउन सक्छ। अतः दलका नेताहरू एकै स्थानमा बसेर नसच्चिएमा मुलुक खतरामा पर्न सक्ने मेरो बुझाइ छ।

हाम्रो देशका केही घटना अकल्पनीय रूपमा भएका छन्। जस्तै : दरबार हत्याकाण्ड हुन्छ भनेर कसैले सोचेको थियो र? दरबारले विधिवत् रूपमा आफूलाई लोकतन्त्रतर्फ रूपान्तरण गर्न नसक्दा भित्रैबाट गुम्सेको भाव विस्फोट भएको थियो। राजनीति त्यहीँभित्र पनि हुने गरेको थियो होला।

नेपालमा अहिले फोहोरी राजनीति फस्टाउँदै छ। दलका नेताहरूमा भागबन्डामा अल्झिने, सधैँ शक्तिमा रहिरहने, बाँचुन्जेल आफैँले नेतृत्व गर्नुपर्छ भन्ने ‘न्यारेटिक’ बन्दैछ। यो दुःखद हो। दलहरूले युवालाई काम गरेर होइन, दलाली गरेर खान सिकाउँदैछन्। दुःख गर्न, काम गर्न र उद्यमी बन्न हौसला दिने कोही छैन। यसमा थिति नबस्दासम्म मुलुक समस्यामा पर्नेछ।

विद्यमान राजनीतिमा ‘नैतिक मूल्य’ छैन। जो पनि मन्त्री र सांसद बनेका छन्। जस्ता व्यक्ति पनि मन्त्री र सांसद छन्। को राजनीति गर्ने, को दलाली गर्ने, को व्यापारी, को ठग केही मतलब नहुने अवस्था छ। राजनीतिक नेतृत्व आफू शक्तिमा पुग्नका लागि जोसँग पनि सहकार्य गर्न तयार छ। यो सोच र शैली पञ्चायतभन्दा कत्ति पनि फरक छैन। कर्मचारीतन्त्रको कार्यशैली पनि दयनीय छ।

पुरानो राजनीतिक पार्टी कांग्रेसले केही गर्न सक्छ कि भन्ने आस नेपालीलाई छ। तर अहिले कांग्रेस नेतृत्वलाई गुटबन्दी गर्नमै फुर्सद छैन। पार्टी मक्किँदै गएको छ। अन्य दलको के कुरा गर्ने? कांग्रेस सकिँदा मुलुक सकिन्छ भन्ने हेक्का नेताहरूलाई छैन।

नयाँ आएका दलको पनि एकैपटक हावा खुस्केको अवस्था छ। वैकल्पिक शक्तिका रूपमा अघि सरेका दलहरूले छोटो समयमै निराश बनाएका छन्। उनीहरू पनि सत्तामोहमा डुब्न थालेको देख्दा युवा पुस्ता छक्क परेको छ। नयाँ आएका पार्टीको सोच पनि शक्तिमा जाने र राज गर्ने, पदमा आफैँ हुनुपर्ने भन्दा माथिल्लो सोच देखिएन।  युवा नेता भनिनेहरू पनि स्वार्थमा मात्र केन्द्रित छन्। बोल्नुपर्ने कुरा बोल्दैनन्। उनीहरू सार्वजनिक खपतका अभिव्यक्ति दिन मात्र रुचाउँछन्।

कतिपय युवामा नैराश्य छाएको छ। नयाँ पुस्ता, राम्रा र योग्य मानिस मुलुकप्रति आकर्षित छैनन्। यस्तो परिस्थिति हामीले नै निम्त्याएका हौँ। अब यसमा आत्मसमीक्षा गरेर सहकार्य गर्नुको विकल्प छैन।

१० कक्षामा पढिरहेको विद्यार्थी कहिले ए लेभल वा १२ सकेर विदेश आवेदन दिऊँ भनेर खोजिरहेको हुन्छ। केही पढेलेखेका युवा अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपतर्फ जान रुचाउँछन्। अलिक आर्थिक अवस्था कमजोर भएका र पढाइ छोडेकाहरू खाडी जाने प्रचलन छ। यो परिस्थिति किन आयो? हामी गम्भीर हुनु पर्दैन? यसमा राष्ट्रिय चिन्तन हुनु पर्दैन? सर्वप्रथम यस्ता समस्यालाई सम्बोधन गर्न आवश्यक छ। मैले निर्वाचनमा टिकट नपाएर वा राजनीतिमा सक्रिय हुन नपाएर यस्तो भनेको होइन। जे देखिरहेको छु त्यही भनेको हुँ।

यसैले मुलुकमा मूल्यमान्यताको राजनीतिक स्खलित भएको छ। अघिल्लोपटक दम्भ र अहंकारका कारण केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार टिक्न सकेन। सबैलाई छक्काएर राजनीति गर्न खोज्दा उनी आफैँ सत्ताबाट बाहिर पुगे।

यिनै कारणले गर्दा मलाई राजनीतिप्रति वितृष्णा जागेर आएको छ। अचेल कपिलवस्तु-काठमाडौँ गरिरहेको छु। म संलग्न दल कांग्रेस नेतृत्वका कारण राजनीतिबाट अलगझैँ छु। नेतृत्वले कांग्रेसलाई आफ्नै क्षेत्रमा निर्वाचन लड्न नमिल्ने अवस्थामा पुर्‍याउने काम गरेको छ। अहिलेको गुटबन्दी र भागबन्डाको राजनीतिबाट मलाई विरक्त लागेको छ। त्यसैले म राजनीतिमा सक्रिय हुन नसकेको हुँ।

गठबन्धनका कारण पनि निर्वाचनमा जान उचित नलागेर म बाहिर बसेको हुँ। निर्वाचन हुनुअघि गठबन्धन गर्नु भनेको लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चिनु हो। त्यसतर्फ मलाई मोह भएन। बालुवाटारमा तीन-तीन महिनासम्म गठबन्धनको बैठक बस्यो। के भयो कसैलाई जानकारी छ त? अन्ततः राजनीतिक चाल बुझ्न नसक्दा कांग्रेस कुन अवस्थामा छ? यो दोष नेतृत्वले लिनु पर्दैन? नेतृत्वको वरपरि भमराझैँ भन्कनेले सोच्नुपर्दैन?

कसलाई के भन्ने असहज अवस्था छ। आफैँले आफैँलाई कसरी सम्झाउने भन्ने अन्योलमा छु। कांग्रेसमा रहेको गुटबन्दीबाट अलग हुन मैले गत महाधिवेशनमा उम्मेदवारी दिइनँ। त्यतिबेला प्रदीप गिरि (स्वर्गीय) सँग सल्लाह गरेर म स्वतन्त्र बसेको हुँ। कुनै गुटमा लागेर मुलुकको हित नहुने देखेर त्यता लागिनँ। तर गुटमा नलागीकन टिकट लिने, नेतृत्वमा पुग्ने परको कुरा भइसकेको छ।

गिरिजीले हामीलाई छोडेर जानुभए पनि उहाँको आत्मा हाम्रो वरपर छ। उहाँले दिएको ज्ञान अझै बाँड्न पुगेको छैन। बरु त्यो ज्ञान युवालाई बाँड्ने र अध्ययन गराउने अनि राजनीतिमा ल्याएर योग्य बनाउने जिम्मेवारी छ। सतही गफ दिने र चर्को स्वरमा बोल्ने होइन, कुनै पनि विषयमा गहिरो ज्ञान र मधुरवाणी भएका नेता जन्माउन सक्नुपर्छ।

म बुद्धभूमिको मानिस भएर पनि होला अलिक फरक ढंगले सोच्छु। कपिलवस्तुका तीनवटा बुद्ध (शाक्यमुनि, कनकमुनि र क्रकुछन्द) को भाइब्रेसनमा एउटा आध्यात्मिक चेतना आएकाले पनि होला म राजनीतिमा रम्न सकिरहेको छैन। राजनीतिमा लाग्नेको नैतिक मूल्यमान्यतामा ह्रास हुँदैछ। त्यही ह्रासभित्र बसेर कसरी टुलुटुलु हेर्ने भनेर म कपिलवस्तुमै रमाइरहेको छु। अहिले राजनीतिक मोह छैन।

म पटकपटक सांसद बनेँ। मन्त्री पनि बनेँ। म कपिलवस्तुबाट २०४८, ०५१ र ०६४ निर्वाचित भएको थिएँ। दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि राजनीतिक माध्यमबाट सीधै समाजसेवामा लाग्ने सोच मेरो थियो। त्यही सोचमा लागिरहेका बेला भारतमा राजदूत भएर गएँ। संविधान जारी हुने समयमा राजदूत हुँदा सक्दो काम गरेँ। नेपाल-भारत सम्बन्धलाई केही माथि उकास्न योगदान दिएँँझैँ लाग्छ।

मैले सभापति शेरबहादुर देउवालाई सम्मानजनक बहिर्गमनका लागि पटकपटक सुझाव दिँदै आएको छु। अहिले पनि शेरबहादुरजी राष्ट्रपति भएर अन्यलाई प्रधानमन्त्रीको अवसर दिन सक्ने स्थान थियो नि! तर उनले किन त्यसतर्फ सोचेनन्। कार्यकारी हुनुपर्ने, डिल गर्नुपर्ने, शक्तिको अभ्यास गर्नुपर्ने हो भने केही छैन। अन्यथा यही समयमा धेरै काम गर्न सक्थे। तर त्यसतर्फ सोच बनाएनन्।

मैले मात्र होइन, म जत्तिको उमेर भएका, सांसद भएर काम गरिसकेका व्यक्तिले अब राजनीतिबाट विश्राम लिनुपर्छ। नयाँ व्यक्तिलाई फरक तरिकाले मुलुक चलाउन नदिएसम्म केही परिवर्तन हुनेवाला छैन। नेपालका सबै पार्टी सत्तामा पुगे, मुलुक चलाए, मन्त्री प्रधानमन्त्री भए तर सबैले आफूले गरेको काम साँच्चै छातीमा हात राखेर भन्दा केही सुधार भएको छ त?

यस्तै विषयले म दिग्दार भएको हुँ। देखेको कुरा भन्नुपर्छ। मिठै रूपमा भने पनि त्यसलाई बुझ्दा फरक ढंगले लिएपछि के गर्ने? माओवादी अध्यक्ष प्रचण्डको पछि लागेर आफू शक्तिमा रहने सोचाइ राख्ने देउवालाई के भनेर सम्झाउन सकिन्छ र?

मैले भन्ने गरेको छु- यही अवस्थामा मुलुक ‘सर्भाइभ’ गर्दैन। संविधान संशोधन गरेर हुन्छ कि के गरेर हुन्छ सरकारी खर्च कटौती गर्नुपर्छ। सरकारमा बढी मन्त्री पाल्ने काम बन्द गर्नुपर्छ। करको दायरा बढाउँदै जनतालाई निचोर्ने काम नगर्न मेरो सुझाव छ। महँगी बढिरहेको छ तर आम्दानी छैन। कर्मचारीतन्त्रमा पनि सुधार हुुनुपर्छ। यही अवस्थाको कर्मचारीको सोचले मुलुकलाई अघि बढाउँदैन।

मुलुकमा परनिर्भरता, कुशासन र भ्रष्टाचार न्यून हुँदै शून्यमा झार्न सक्नुपर्छ। खर्च कटौती हुनुपर्छ। नेपालको सुरक्षा नीति, परराष्ट्र नीति र आर्थिक विकासबारे राष्ट्रिय रूपमा साझा मार्गचित्र बनाउनुपर्छ। अन्यथा हामी सकिने पथ निर्माण हुन धेरै समय कुर्न पर्दैन। (पूर्वमन्त्री एवम् भारतका लागि पूर्वराजदूत उपाध्यायसँग कुराकानीमा आधारित)

प्रकाशित: २३ माघ २०७९ ९:०२

प्रतिक्रिया

2 thoughts on “यसकारण म राजनीतिबाट अलग भएँ

  1. समय सापेक्ष भनाइ आयो दाजु, मैले २०५६ साल बाटै संन्यास लिएको हो

  2. सत्य र अति नै सान्दर्भिक । हालको सोच र शैली पन्चायतकालको भन्दा पनि गए गुज्रेको र सून्यको स्थितिमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =