‘सत्ता संघर्ष’माथि बुटवलमा विमर्श

हिमाल प्रेस १४ माघ २०७९ १९:१७
24
SHARES
‘सत्ता संघर्ष’माथि बुटवलमा विमर्श

बुटवल– पत्रकार रामकृष्ण भण्डारीलिखित ‘सत्ता संघर्ष’ नामक पुस्तकमाथि बुटवलमा विमर्श गरिएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा गरिएको पुस्तक विमर्शमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता संघर्षका खेलहरूलाई समेटेको बताउँदै त्यसको कारण पनि पहिल्याउन अर्को खोजको आवश्यकता देखाएको बताए।

उनले दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा नेपालमा सत्ता संघर्षमा कस्को स्वार्थ दाबी भएको छ, त्यसको पनि खोजी गर्नुपर्ने बताए। उनले दुनियाँभर सत्ताका लागि अल्पमत र बहुमत हुने कुरा स्वभाविक भएपनि नेपालमा बहुमत हुँदा पनि सरकार किन गिर्छ ? यसको कारण खोजी हुनुपर्ने बताए।

‘भूराजनीतिक हिसाबले कसैको स्वार्थ छ कि यतातर्फ पनि मेहनत गर्न लेखक भण्डारीलाई सुझाव छ,’ मुख्यमन्त्री गिरीले भने।

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले पुस्तकले जीउँदो इतिहास बोलेको बताए। उनले राजनीतिक परिवर्तनसँगै संस्कारिक परिवर्तन हुन नसक्दा पनि नेतृत्वमा कमजोरी देखिएको बताए। उनले वर्तमान निर्वाचन प्रणालीका कारण पनि सरकार गठनमा धेरै दलहरूको सहभागिता गराउँदा अस्थिरता पैदा भएको विचार व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोनिया यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पुस्तकमा देखिएका तथ्य र विषयहरूले वर्तमान राजनीतिको सवाललाई उदांगो पारेको बताए।

पुस्तकमाथि समीक्षा गर्दै विश्लेषक आरसी आचार्यले पुस्तकले समेटेका अधिकांश विषयवस्तु यथार्थपरक रहेको र दलहरूले सत्ताका लागि गरेका प्रपञ्चहरूलाई समेटिएको उल्लेख गरे।

विमर्श कार्यक्रममा पुस्तक लेखक रामकृष्ण भण्डारीले १० वर्षको मेहनेतबाट पुस्तक बजारमा आएको बताए। उनले पत्रकारिता जीवनमा आफूले देखेका, भोगेका, महसुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक तयार पारेको बताए।

२५ वर्षदेखि पत्रकारितामा सक्रिय भण्डारीले ३० वर्षमा बनेका २८ सरकारका नालीबेली समेटेर सो पुस्तक प्रकाशन गरेको उनले जनाए।

सांग्रिला बुक्सद्वारा प्रकाशित पुस्तकमा ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित विषयवस्तु समेटिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =