बेंशीसहर-चामे सडकको स्तरोन्‍नति ४० प्रतिशत सम्पन्‍न

हिमाल प्रेस २० माघ २०७९ १६:४२
6
SHARES
बेंशीसहर-चामे सडकको स्तरोन्‍नति ४० प्रतिशत सम्पन्‍न फाइल तस्बिर।

मनाङ– पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेंशीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ। पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ।

बेंशीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक स्तरोन्नति गरिएकामा अझै ६० प्रतिशत बाँकी रहेको डुम्रे बेंशीसहर चामे सडक आयोजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले बताए।

उनका अनुसार यहाँ नाली निर्माण, टेवा पर्खाल निर्माण, स्याल्व र कल्भर्ट निर्माण र पाइपको काम अन्तिम अन्तिम चरणमा पुगेको छ। नाली निर्माणको काम पनि ६० प्रतिशत बाँकी रहेको र नाली निर्माणपश्चात् भने कालोपत्र कार्य अघि बढ्ने उनको भनाइ छ।

सडक चौडा गर्ने, कटिङ गर्ने कार्य गरिएको छ। अब नाली बनाउने र केही संचरना निर्माणलगायत काम बाँकी रहेको उक्त आयोजनाले जनाएको छ। निर्धारित समयसीमा भित्र सम्झौताअनुसार काम सम्पन्न गर्ने लक्ष्यका साथ नै काम अघि बढिरहेको बताइएको छ।

आगामी असार २९ गतेभित्र उक्त सडक कालोपत्र गरिसक्नुपर्नेमा निर्धारित समयमा काम सम्पन्न गर्न सकिदैन कि भन्ने स्थानीयवासीमा आशंका बढ्न थालेको छ।

‘दसैँ, तिहार, चुनाव र बर्खायामका कारण काममा सुस्त भएकामा अहिले भने तीव्ररुपमा अघि बढेको छ। स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले ०५१ मा यसखण्डअन्तर्गत बेंशीसहरदेखि खुदीसम्म मोटरबाटोका लागि ट्र्याक्क खोलेका थिए,’ सूचना अधिकारी अधिकारीले भने।

कार्यालयका अनुसार बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एक साइड मात्र नाली निर्माण हुने भएको छ। पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने भएको छ।

तेस्रो चरणमा रेखांकन, रोड फर्निचर , पोन्टिङलगायत काम गरिने भएको छ। पहिलो चरणको निर्माण गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघिबढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन। आशिष अनेस्ट जेभीले ०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी ०७८ असार ३० मा सम्झौता गरेर काम अघि बढाएको थियो।

जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा मनाङवासी बढी मर्कामा पर्दै आए पनि विस्तारै सडकको स्तरोन्नति भएपछि केही सहज हुने देखिन्छ। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast