नारायणगढ-मुग्लिन सडकको भित्तो कटान थपिएको समयमा पनि नसकिने

हिमाल प्रेस १९ माघ २०७९ १९:५६
8
SHARES
नारायणगढ-मुग्लिन सडकको भित्तो कटान थपिएको समयमा पनि नसकिने फाइल तस्बिर।

चितवन– चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि भित्तो काट्ने कार्य थपिएको समयभित्र पनि नसकिने भएको छ। निर्माण कम्पनीका अनुसार ४ मध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो।

पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ। तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्सनका फिल्ड सुपरभाइजर इञ्जीनियर अर्जुन निरौलाले बताए।

‘हालसम्म हामीले ८ ठाउँमध्ये ४ ठाउँको भित्तो काट्ने काम सकेका छौँ। ३ ठाउँको ७० प्रतिशत काम भएको छ। तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम गरेका छौँ,’ निरौलाले भने, ‘तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ।’

उनका अनुसार चिसेन्जी र तुइन खोलामा ८ वटा ठूला मेसिनले चट्टान फोर्ने काम गरिरहेका छन्। त्यसमा ३५ जनाको जनशक्ति खटिएको छ। सवारी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो।

यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर ८ वटा पुलको एकैपटक भित्तो काट्ने काम सुरु भएको थियो।

सो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ। अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ। पटक-पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ।

यसरी दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन्। तराईलाई संघीय राजधानीसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन्।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले १ अर्ब २५ करोड रुपैयाँमा ०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो। यसको काम सक्नुपर्ने समयावधि ०७९ पुस ५ गते हो। तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले ०८० पुस ९ गतेसम्म म्याद थप गरेको छ।

सो अवधिमा खहरे खोला, खोर खोला, लामो बालुवा खोला, भोर्ले खोला, सेती दोभान, डुम्रे, सिमल ताल, टोपे र नाम्चे खोलामा गरी ९ वटा पुल निर्माण भइसकेका छन्। ५ वटा पुल निर्माणाधीन छन्। जसमा जुगेडी, रिग्दी खोला, काली खोला, तुइन खोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ।

सवारी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाले जनाएको छ। त्यसैका आधारमा फागुनपछि पनि दिउँसो सवारीसाधान बन्द गरेर काम गरिने नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले बताए।

‘फागुन ५ गतेसम्म तुइनखोलाको दायाँ भागको भित्तो काट्ने काम सकिने अवस्था छैन,’ उनले भने, ‘तत्कालको अवस्था हेर्दा कडा खालको चट्टान छ, माघको अन्तिम सातासम्म कामको अवस्था हेरेर दिउँसो बन्द गर्ने/नगर्ने निर्णय गर्छौं।’ -राससको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =