फोटो पत्रकार शाहमाथि दुर्व्यवहार भएकोप्रति आपत्ति

हिमाल प्रेस १८ माघ २०७९ २०:३६
110
SHARES
फोटो पत्रकार शाहमाथि दुर्व्यवहार भएकोप्रति आपत्ति

काठमाडौँ– फोटो पत्रकार वर्षा शाहमाथि संसद सचिवालयका कर्मचारीहरूले गरेको दुर्व्यवहारप्रति फोटो पत्रकार क्लब र संसदीय मामिला पत्रकार समाजले आपत्ति जनाएका छन्।

बुधबार संसद बैठकको समाचार संकलनका क्रममा संसद् भवन पुगेकी शाहमाथि सचिवालयका कर्मचारीहरूले अमर्यादित व्यवहार  गरेको दुवै संगठनको विज्ञप्तिमा उल्लेख छ।

‘बुधबार महिला सञ्चारकर्मीलाई पुरुष शौचालयमा जान भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सचिवालयले खटाएका सुरक्षाकर्मीबाट भएको छ। यस्ता घटनामा अवरोध गर्ने अधिकारीले माथिल्लो तहको आदेश भन्ने र माथिकाले त्यस्तो आदेश दिएका छैनौँ भनेर भइरहेको पन्छिने काम नदोहोरियोस् भन्न चाहन्छौँ,’ समाजका अध्यक्ष सञ्जीव बगालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सचिवालयबाट जारी गरिएको परिचयपत्र देखाउँदा पनि अनावश्यक रूपमा केरकार गर्ने, कतिपय अवस्थामा ‘अभियुक्त सरह’को व्यवहार गर्ने रबैया संघीय संसदका पदाधिकारी, सचिवालयको नेतृत्वलाई पटकपटक जानकारी गराउँदा पनि दोहोरिनुले हामी नियतमै प्रश्न गर्न बाध्य छौँ। हामी निर्बाध रूपमा सूचना संकलनको वातावरण बनाउन सम्बद्ध पक्षलाई आग्रह गर्दछौँ।’

यस्तै क्लबका तर्फबाट प्रवक्ता विकास द्वारेले विज्ञप्ति जारी गर्दै संसद्‌मा खटिएका मर्यादापालकद्वारा गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘महिला फोटोपत्रकारलाई पुरुष शौचालय प्रयोग गर्न भन्ने र प्रयोग गर्न बाध्य गराउनु महिला माथिको दुर्व्यवहार हो। धेरै पटक भएका यस्ता गम्भीर घटना जानकारी हुँदासमेत सचेत नहुनु र समस्या समाधानमा चासो नदिनु सचिवालयको गम्भीर लापरबाही हो भन्ने क्लबको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासनको अभ्यास हुने गरिमामय संसदमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति क्लब घोर भर्त्सना गर्दछ। सार्वजनिक सरोकारका विषयमा बहस र छलफल हुने संसद्‌मा तस्बिर/समाचार संकलनका क्रममा सुरक्षाकर्मी प्रयोग गरी सञ्चारकर्मीमाथि पटकपटक हुने अवरोध र दुर्व्यवहारले संघीय संसदको नेतृत्व समस्या समाधान गर्न गम्भीर नरहेको प्रस्ट हुन्छ। यो अझ चिन्ताको विषय हो।’

संविधानप्रदत्त आमसञ्चारको हक र यसको सीमाप्रति सचेत रहेको अवस्थामा पनि सञ्चारकर्मीलाई नियमित सूचना संकलनमा भइरहेका विभिन्न अवरोधहरू दोहोरिन नदिन दुवै संगठनले सचिवालयको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित: १८ माघ २०७९ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =