क्यानकाे निर्णय : खेलाडी वर्गीकरण, सन्दीपको निलम्बन फुकुवा र मुद्दा फिर्ता लिन अख्तरलाई आग्रह

हिमाल प्रेस १८ माघ २०७९ १३:४९
4
SHARES
क्यानकाे निर्णय : खेलाडी वर्गीकरण, सन्दीपको निलम्बन फुकुवा र मुद्दा फिर्ता लिन अख्तरलाई आग्रह फाइल फोटो : पोखरामा क्रिकेट मैदान अवलोकन गर्दै क्यान पदाधिकारी

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला राष्ट्रिय टिमका सदस्यहरूको वर्गीकरण गरेको छ। केन्द्रीय करारका लागि तयार पारिएको सूचीमा पुरुष टिमका १८ खेलाडीमध्ये पाँच ‘ग्रेड ए’ मा परेका छन्। त्यसरी शीर्ष श्रेणीमा पर्ने खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी र आशिफ शेख छन्।

त्यसैगरी ‘ग्रेड बी’ मा आरिफ शेख, कुशल भुर्तेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने ‘ग्रेड सी’ मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

सन् २०२३ को जनवरीबाट जुनसम्मका लागि प्रदान गरिने करारका लागि गरिएको यो वर्गीकरणमा महिला टिमका तीन खेलाडी ‘ग्रेड ए’ मा छन्। कप्तान रुविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा ‘ग्रेड ए’ मा पर्दा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य ‘ग्रेड बी’ मा छन्। ‘ग्रेड सी’ मा भने कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन्।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले गरेका निर्णय सार्वजनिक गर्दै क्यानले राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरिएको पनि जनाएको छ। नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो। काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरे पनि उच्च अदालत, पाटनले सन्दीपलाई पुस २८ गते रिहा गर्न आदेश दिएको थियो।

अदालतबाट तारेखमा रिहा गरे भएपछि सन्दीपलाई राष्ट्रिय टिममा बोलाउनेबारे क्यानभित्र छलफल भएको बताइएको छ। सन्दीपले खेल्न पाउने वा नपाउने विषयमा अदालतले केही नभनेकाले उनलाई राष्ट्रिय टिममा समावेश गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा क्यानले आफ्नो धारण औपचरिक रुपमा बाहिर ल्याएको छैन।

क्यान बैठकले नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक इश्वरबाबु कार्कीको संयोजकत्वमा इन्टिग्रिटी कमिटी गठन गर्ने निर्णय पनि गरेको छ। तीन सदस्यीय कमिटीमा रितेश सिंह सदस्यका रुपमा रहनेछन्। तेस्रो सदस्य भने क्यानले मनोनयन गर्न बाँकी छ।

कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको राजीनामा पनि स्वीकृत गरिएको छ। नेपाल टि२० लिग विवादमा परेसँगै मल्लको राजीनामा माग भएको थियो। उनको स्थानमा दुर्गाराज पाठकलाई ल्याइएको छ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग रणनीतिक तथा व्यापारिक साझेदारीमा आयोजना गरिएको लिग स्पट फिक्सिङ र बेटिङका कारण विवादमा परेको थियो।

लिग दौरान भएका स्पट फिक्सिङका विषयमा नेपाल प्रहरीको सीआईबीले छानबिन गरेको छ। सीआईबीको रिपोर्टका आधारमा दोषी देखिएका व्यक्तिहरुले स्पट फिक्सिङ गरेको पुष्टि भएमा कारबाही अगाडि बढाउने निर्णय पनि क्यानले गरेको छ।

पाँच निर्वाचितसहित सात सदस्यले अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यको राजीनामा माग राख्दै बैठक बहिस्कार गरेका थिए। लिगका विषयमा ती सात सदस्यले क्यान नेतृत्वको विरोध गर्दै आएका छन्।

‘राजीनामाको मागले क्यान फेरि एकपल्ट आईसीसीको निलम्बनतर्फ जाने खतरा रहेको महसुस गरिएको छ। तसर्थ विगतका कमीकमजोरीलाई सच्याई एक ढिक्का भएर क्यानको हकहितका लागि एकजुट भई अगाडि बढ्नका लागि सहकार्यमा आउन आजको बोर्ड बैठक हार्दिक आग्रह गदर्छ,’ राजीनामा मागको विषयमा क्यानको भनाइ छ।

क्यान बैठकले टि२० लिगलाई लिएर दायर गरेको मुद्दा फिर्ता लिन एभरेस्ट प्रिमियर लिगका आयोजक आमिर अख्तरलगायतलाई आग्रह गरेको छ। यसैगरी क्यान बैठकले २०८० जेठ मसान्तभित्र विशेष साधारण सभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १८ माघ २०७९ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =