फाइल तस्बिर
                                            काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै छ। नवनिर्वाचित सांसदहरूलाई संसद्बारे जानकारी दिन कार्यक्रम गर्न लागिएको संसद् सचिवालयले जनाएको छ।
कार्यक्रम आज बिहान ११ बजेदेखि सुरु हुने छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने कार्यक्रम आज र भोलिका लागि तोकिएको छ। नवनिर्वाचित सभामुख देवराज घिमिरेले पहिलो निर्णयबाटै सांसदलाई प्रशिक्षण गराउने बताएका थिए। उनले संसद्भित्र रहेका सांसदलाई अभ्यासका बारेमा जानकारी गराउने अवगत गराएका थिए। आजको प्रशिक्षणमा विभिन्न विधामा प्रशिक्षण दिइदैछ।
पाण्डेका अनुसार डाक्टर युवराज खतिवडाले बजेट निर्माण, योजना र त्यसमा सांसदहरुको भूमिका बारे सिकाउनेछन्। यसै गरी नीति प्रतिष्ठाका अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीले सार्वजनिक नीतिको बारेमा सांसदहरूलाई अभिमुखीकरण तालिम दिनेछन्।
यस्तै डा, खिमलाल देवकोटाले समितिमा सांसदको भूमिका, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले कानुन निर्माणका बारेमा सांसदहरुलाई सिकाउनेछन्।
पूर्वउपसभामुख पुष्पा भुसालले शून्य समयको बारेमा सांसदहरुलाई सिकाउने कार्यक्रम रहेको छ। यस्तै संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले प्रभावकारी संसद् अभ्यासका बारेमा सांसदहरुलाई अवगत गराउनेछन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

