भारतीय राजनीतिमा तरंग ल्याउने राहुलको ‘नयाँ अवतार’

संगीता श्रेष्ठ १७ माघ २०७९ १६:४७
268
SHARES
भारतीय राजनीतिमा तरंग ल्याउने राहुलको ‘नयाँ अवतार’

‘भारत जोडो यात्रा’ सुरु गर्दा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई आफ्नै दलका नेताहरूले पत्याएका थिएनन्। विपक्षी नेताहरूले पत्याउने कुरै भएन। सबैले खिसीट्युरी गरे। करिब पाँच महिनाअघि राहुलमाथि खिसी गर्नेहरू यतिबेला झस्किएका छन्। उनको अभियानले व्यापकता पाएसँगै विरोधी पनि उनीतर्फ आकर्षित हुन थालेका छन्।

राजनीतिक परिवारमा जन्मिएर पनि राजनीतिक भेउ नपाएका राहुलले ‘भारत जोडो यात्रा’ लाई आफ्नो जीवनका सबैभन्दा सुन्दर र गहिरो अनुभव रहेको बताएका छन्।

‘यो अन्त होइन, पहिलो पाइला हो। यो एक नयाँ सुरुवात हो। यो यात्रा मैले आफ्ना लागि होइन, कांग्रेसका लागि पनि होइन, भारतीय जनताका लागि गरेको हुँ,’ यात्रापछि पत्रकार सम्मेलनमा उनले भने।

राहुलले सन् २०२२ सेप्टेम्बर ७ मा कन्याकुमारीबाट ‘भारत जोडो यात्रा’ सुरु गरेका थिए। जनवरी ३० मा उनको यात्रा सकिएको छ। भारतका विभिन्न राज्य हुँदै कश्मीरको श्रीनगरमा पदयात्रा टुंगिएको हो। राहुलले लगभग पाँच महिनासम्म चार हजार किलोमिटर पदयात्रा गरे।

श्रीनगरको लालचोकमा भारतको झण्डा फहराउँदै ५२ वर्षीय राहुलले आफूले गरेको बाचा पूरा गरेको बताए। ‘लालचोकमा तिरंगा फहराएर भारतलाई गरेको बाचा पूरा गरेँ,’ उनले भने, ‘घृणा हार्नेछ, प्रेम सधैँ जित्नेछ। भारतमा आशाको नयाँ किरण देखिनेछ।’

राहुलले शान्त र परिपक्व विधिले यात्रा सम्पन्न गरेको भन्दै उनको प्रशंसा भइरहेको छ। ‘द वायर’ की वरिष्ठ सम्पादक आरफा खानम शेरवानीले राहुलको सादगीपनको प्रशंसा गर्दै भनिन्, ‘उनले कुनै होहल्ला गरेनन्। राष्ट्रवादका ठूल्ठूला दाबी पनि गरेनन्। सहजता र सरलताका साथ भारतको झण्डा फहराए। तिरंगालाई सम्मान दिए। सबैभन्दा ठूलो कुरा उनले आमकश्मीरीको मन जिते। विश्वास जिते।’

कश्मीरमा राहुलले भाषण गर्दा बेस्कन हिउँ परिरहेको थियो। उनी भावुक भएका थिए। त्यहाँ फुसफुस हिउँमात्र झरिरहेको थिएन, राहुलका गालामा आँसुका ढिक्का पनि लडीबुडी गरिरहेका थिए।
भावुक हुनुको कारण खुलाउँदै उनले भने, ‘म हिंसा सहेको मान्छु हुँ। यस्तो हिंसा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुझ्न सक्दैनन्। यो हिंसा कश्मीरीहरूले बुझन् सक्छन्। यहाँ कार्यरत सेना र सीआरपीएफका जवान र उनको परिवारले बुझ्न सक्छन्।’

सम्बोधनमा उनले आफ्नी हजुरआमा इन्दिरा गान्धी र बुबा राजीव गान्धीको हत्या हुँदा आफूमाथि परेको वज्रपातबारे बताए। ‘जम्मु कश्मीरको प्रशासनले ‘यदि तपाईं पैदल हिँड्नुभयो भने तपाईंमाथि ग्रेनेड फ्याँकिनेछ’ भन्यो। मलाई घृणा गर्नेहरूलाई एउटा अवसर दिन्छु भनेर म हिँडेँ। मेरो सेतो टिसर्टको रङ रातो भए पनि केही छैन भन्दै हिँडेँ। तर कश्मीरले मलाई ग्रेनेड होइन, अथाह माया दियो।’

भत्कियो ‘पप्पु’ छवि

यो परिवर्तनको आँधीबेहरी हो,
आकांक्षाहरूको बाढी हो,
भारतमा एकता र प्रेमको,
साकार हुँदै त्यो सपना हो।

यी पंक्ति राहुलले जनवरी ४ मा यात्राका क्रममा उत्तरप्रदेश पुगेपछि लेखेका थिए। यस यात्रालाई उनले राजनीतिक यात्रा नभई प्रेम र सद्भावको यात्रा भने। जनतासँग जोडिने यात्रा भने। यात्राका अनुभव र आफूमा आएको परिवर्तन पनि मिडियालाई सुनाए।

‘सुन्ने तरिका बदलिएको छ। बोल्नुभन्दा बढी सुन्ने गर्छु,’ सञ्चारमाध्यमसँग उनले भनेका थिए, ‘धैर्य बढेको छ। पहिले दुई घण्टामै ‘इरिटेड’ हुन्थे भने अहिले आठ-आठ घण्टासम्म पनि केही हुँदैन। कसैले ताने, धकेले पनि केही हुँदैन।’

राहुलको छविमा नाटकीय परिवर्तन भएको भारतयात्री योगेन्द्र यादवले पत्रकार रविश कुमारसँगको अन्तर्वार्तामा बताएका छन्। ‘यात्रामा मैले राहुलको नयाँ अवतार देखेँ,’ उनले भने, ‘उनी शान्त थिए। यात्रामा उनको आध्यात्मिक र दार्शनिक पक्ष उजागर भएको छ।’

भारतीय जनता पार्टी (बीजेपी) ले राहुललाई ‘चाँदीको चम्चा मुखमा लिएर जन्मेको’ भनेर मजाक उडाउँदै आएको छ। यसको तात्पर्य राहुल विलासी जीवन रोज्छन् र विदेश घुम्न गइरहन्छन् भन्ने हो। यस्तै भाजपाले राहुलले सत्ता विरासतमा पाए पनि उनको छवि ‘पप्पु’ बाहेक केही नभएको भन्दै उपहास गर्दै आएको छ।

बीजेपीले निर्माण गरेको राहुलको ‘पप्पु’ छविलाई यात्राले भत्काइदिएको यात्री यादवले बताए। ‘बीजेपीले एउटा ठूलो पोस्टर बनाएको थियो,’ उनले भने, ‘त्यो थियो पप्पुको पोस्टर। त्यसको पछाडि बीजेपीले आफ्नो पाप लुकाउँदै आएको थियो। यात्राले त्यो पोस्टर च्यातिदिएको छ। अब ढकिाएका पाप देखिन थालेका छन्।’

पदयात्राअघि बीजेपी नेताहरूले राहुल तीन दिनसम्म हिँड्ने र चौथो दिन हेलिकोप्टरमा बसेर फर्किने अभिव्यक्ति दिएका थिए। तर राहुलले उनीहरूको त्यो भनाइ र सोचाइलाई मात दिएका छन्।

यात्रामा हिँड्दा घुँडामा समस्या देखिए पनि उनले हिँड्न छाडेनन्। १३६ दिनसम्म एक क्षणका लागि पनि छुट्टी नलिई यात्रा गरिरहे। ‘द वायर’ ले ‘राजकुमार’ देखि ‘तपस्वी’सम्म’ शीर्षकमा राहुलको एक सय दिनको यात्रा वर्णन गरेको छ। त्यसमा कन्टेनरमा बदलिएका ट्रकमा राहुलले कसरी ‘भारत जोडो यात्रा’ गरिरहेका छन् भन्ने सन्दर्भ छ।

बीजेपीले आफ्नो छवि धूमिल बनाउन हजारौँ करोड रुपैयाँ खर्च गरेको राहुलले आरोप लगाउँदै आएका छन्। ‘मेरो छवि खराब गर्न मात्रै बीजेपीले हजारौँ करोड रुपैयाँ सकेको छ,’ उनले भनेका छन्, ‘तर सत्य लुकाउन सकिँदैन। ठूलो शक्तिसँग लड्दा व्यक्तिगत आक्रमण हुन्छ नै। त्यसले म सही दिशामा हिँडिरहेछु भन्ने देखाउँछ।’

‘यात्रा अघि र पछिको राहुलमा के अन्तर पाउनुभयो?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो राहुल गान्धीलाई मैले धेरै अगाडि छाडिसकेँ। मारिसकेँ। अब तपाईंहरूले नयाँ राहुललाई देख्नुहुनेछ।’

राहुलले कर्नाटकमा भाषण गरिरहँदा झमझम पानी परिरहेको थियो। त्यस्तो ठूलो पानीमा पनि उनी रोकिएनन्। उनलाई सुन्नेहरूको संख्या पनि उत्तिकै थियो। सबै शान्त भएर उनलाई सुनिरहेका थिए।

पहिलोपटक यहीँ देखेको थियो भारतले ‘राहुलको नयाँ अवतार’।

परिवारसँगको आत्मीयता

यात्राले राहुलको असल छोरा, जिम्मेवार दाइको व्यक्तित्व पनि जनतासामु ल्याएको छ। सामान्यतया राजनीतिक व्यक्तित्वले गर्ने पारिवारिक जमघट पूर्वनिर्धारित हुन्छन्। योजनाअनुसार हुन्छन्। तर राहुलका सन्दर्भमा त्यस्तो देखिएन। सबै कुरा ‘अन द स्पट’ थिए।

आमा सोनिया गान्धी र बहिनी प्रियंका गान्धीसँगको उनको आत्मीय र न्यानो सम्बन्धलाई भारतीय जनताले प्रत्यक्ष देख्न पाए। महसुस गर्न पाए।

सुरुवातमा सोनिया गान्धीले पनि केही दिन पदयात्रा गरेकी थिइन्। यात्रामा राहुल कहिले आमाको काँधमा साथीजस्तै हात राखेर हिँडिरहेका थिए। कहिले आमाको जुत्ताको तुना बाँधिरहेका देखिन्थे। राजनीतिमा आमाछोराबीच केही विषयमा वैचारिक मतभेद रहेको समाचार बेलाबेला आउने गरेका छन्। यो कुरा उनी स्वयं स्वीकार गरेका छन्।

पदयात्राका क्रममा ‘कर्ली टेल्स’ युट्युब च्यानलकी ‘फुड ट्राभलर’ काम्या जानीसँग कुरा गर्दा उनले रिसाउँदा आफू चुपचाप हुने बताए। ‘आमासँग वैचारिक मतभेद हुँदा चुप बस्छु,’ राहुलले भने, ‘एउटा सन्देशचाहिँ पठाउँछु- ‘तपाईं मेरो आमा हो। तपाईं सधैँ सही हुनुहुन्छ। म तपाईंलाई माया गर्छु’ यो मेरो आमालाई फकाउने ‘ट्रिक’ हो।’

बहिनी प्रियंकासँग उनको सम्बन्ध निकै गहिरो र हार्दिक रहेको छ। निरन्तर पदयात्रा नगरे पनि प्रियंका बेलाबेलामा यात्रामा जोडिने गरेकी थिइन्। राहुलले बहिनीलाई स्नेहले अँगालो हालेको तस्बिरले पनि खूब चर्चा पाएको छ। दाजुबहिनीको आत्मीय सम्बन्ध कश्मीरमा हिउँ खेलिरहँदा पनि देखियो।

यात्राले राहुलको मानवीय र पारिवारिक व्यक्तित्व बाहिर ल्याएको छ। उनको यस व्यक्तित्वको भारतीयहरूले प्रशंसा गरिरहेका छन्।

यात्रामा आममान्छेदेखि ‘सेलिब्रिटी’ सम्मको साथ

सुरुमा धेरैले राहुल र पदयात्रालाई नपत्याए पनि बिस्तारै यात्रामा आममान्छेदेखि सेलिब्रिटीसम्म जोडिँदै गए। कलाकार, अर्थशास्त्री, पत्रकार आदिले पदयात्रा गरे। कमल हसन, उर्मिला मातोन्डकर, पूजा भट्ट, अमोल पालकर, रिया सेनलगायत भारतीय सिनेमाका कलाकार यात्रामा जोडिए।

राहुल जहाँजहाँ गए त्यहाँका जनताले उनको दिल खोलेर भव्य स्वागत गरे। स्थानीय पनि यात्रासँग जोडिए। ‘जनता यात्रामा किन जोडिए?’ यसको उत्तर दिँदै यात्री योगेन्द्र यादवले भने, ‘किनकि यो आशाको राजनीति हो। आशा जगाउने दिशातिरको यात्रा हो। विचारको राजनीति हो।’  यात्राभरि राहुलले भनिरहे, ‘घृणाको बजारमा म प्रेमको पसल थाप्न आएको छु।’

बीजेपीले हिन्दू-मुस्लिम भनेर देशलाई छुट्याए पनि आफूले यात्राभरि त्यस्तो भेदभाव कहीँकतै नदेखेको उनले एक पत्रकार सम्मेलनमा बताएका थिए। ‘मैले कहीँकतै हिंसा, कुटपिट देखिनँ,’ राहुलले भने, ‘हिन्दू, मुस्लिम, शिख, इसाई बीच कुनै भेद छैन। सबै एक हुन्। तर जब टीभी खोल्छु त्यहाँ कुटपिट, घृणा र हिंसाबाहेक केही देख्दिनँ।’

यात्राका क्रममा राहुल हिन्दू मन्दिरमा मात्र गएनन्। मस्जिद, गुरुद्वारालगायत सबै धार्मिक स्थलको दर्शन गरे। ‘यति हिँडिसकेपछि अब कसैले मसँग हात मिलायो भने थाहा पाइहाल्छु कि ऊ किसान हो कि मजदुर,’ राहुलले भने, ‘तर ऊ हिन्दू हो कि मुस्लिम यो छुट्याउन सक्दिनँ। किनकि हामी सबै एक हौँ।’

हल्लियो बीजेपी

यात्राले भारतमा तरंग ल्याएको छ। एकपछि अर्को गर्दै यात्रामा लाखौँ भारतीय जोडिएपछि भीडसँगै राहुलको आकर्षण बढेको छ। यसबाट सत्तामा रहेको बीजेपीको आत्मविश्वास डगमगाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

‘बीजेपीका नेता यात्राबाट डराएका छन्,’ भारतका राजनीतिक विश्लेषक पारसा वेन्कटेश्वर जुनियरले भनेका छन्, ‘बीजेपीले यात्रा विफल बनाउन भरमग्दुर प्रयास नगरेको होइन। तर सफल हुन सकेन।’
यात्राका क्रममा राहुलले फोनमा अश्लील गीत सुनेको, नाच हेरेको, कांग्रेसका नेताहरूले उनलाई ढोगेको, पाकिस्तानको झण्डा फहराएको लगायत दुष्प्रचार पनि भए।

बीजेपीको आईटी सेलका राष्ट्रिय अध्यक्ष अमित मालवीयले त ट्विटरमा भिडियो सेयर गर्दै कांग्रेसका वरिष्ठ नेताले राहुलको जुत्ताको तुना बाँधेको दाबीसमेत गरे। त्यस्तै राहुलले खाना खाँदा राखिएको दूधको गिलासलाई रक्सीको गिलास बनाइएको थियो। यस्ता समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल भए।

सत्यतथ्य जाँच गर्ने विभिन्न वेबसाइटले भारत जोडो यात्राका क्रममा ३० भन्दा बढी भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाएको निष्कर्ष निकालेका छन्। यसबाट राहुलको छवि बिगार्न बीजेपीले भ्याएसम्मका प्रयास गरेको स्पष्ट हुन्छ।

भारतीय कांग्रेसकी सोसल मिडिया टिमकी प्रमुख सुप्रिया श्रीनेतका अनुसार बीजेपीले १५ वटाजति ठूला झुटा कुरा फैलायो। ‘राहुल गान्धीले खानेकुरा, लगाउने लुगादेखि कसरी पूजा गर्छन् आदि कुरामा बीजेपीले झुटो प्रचार गरेको छ,’ उनले भनिन्, ‘बीजेपी हल्लिएको छ। पहिलोपटक उसले राहुलको छवि बिगार्ने प्रयास गरेको होइन। उनीहरूले लामो समयदेखि यो काम गर्दै आएका छन्। मिडिया र कर्पोरेट घरानासँग मिलेर बीजेपीले राहुललाई तारो बनाइरहेको छ।’

दुष्प्रचार हुँदाहुँदै पनि यात्राबाट राहुलको छवि सुध्रिएको र उनलाई भारतीयले एक गम्भीर नेताका रूपमा हेर्न थालेको भारतीय राजनीतिक विश्लेषक जोया हसनको भनाइ छ। ‘पाँच महिनाको पदयात्रामा राहुल आफू शाही राजनीतिक परिवारको सन्तान नभई एक आममान्छे भएको कुरा बुझाउन सफल भएका छन्,’ उनले भनिन्।

राहुलका आलोचकसमेत यात्राले उनको छवि सुधारेकोमा सहमत भएका छन्। यात्राले उनको आत्मविश्वास बढाएको बताउँछन्, भारतीय पत्रकार पुण्य प्रसुन वाजपेयी। ‘यात्राले राहुलको आत्मविश्वास बढेको छ,’ उनले आफ्नो युट्युब च्यानलमा भनेका छन्, ‘पहिलोपटक मूलधाराको कुनै नेताले मञ्चबाट बीजेपीलाई खुला चुनौती दिइरहेको छ। कुनै नेताले मञ्चबाट वीर सावरकर, आरएसएस, अडानीको नाम लिइरहेको छ।’

पत्रकार वाजपेयीका अनुसार भारतमा परिवर्तन सुरु भएको छ। ‘देशलाई बदल्ने मान्छेले पहिले आफूलाई बदल्नुपर्छ, त्यही भएको छ,’ उनले भनेका छन्, ‘लोकतन्त्रमा नेताले जनतालाई ठूलो र आफूलाई सानो बनाउनुपर्छ, अहम् र अहंकार छोड्नुपर्छ। राजनीतिक तरिकाले तारतम्य बनाउनुपर्छ। जनतासँग संवाद गर्नुपर्छ। यसपटक त्यही भएको छ।’

भारत पारम्परिक राजनीतिबाट वैचारिक राजनीतितिर लम्किएको आकलन वाजपेयीको छ। ‘नैतिकता नै यस पदयात्राको सबैभन्दा ठूलो शक्ति हो,’ उनले भने, ‘भारतमा ‘डिसेन्ट पोलिटिक्स’ को सुरुवात भएको छ।’

राहुलको पदयात्राको तुलना महात्मा गान्धीको ‘डान्डी यात्रा’सँग गर्नेहरू पनि छन्। यात्रामा राहुल बुबा राजीव गान्धीको स्मारक स्थलमा मात्र पुगेनन्, अटल समाधिस्थल पनि गए। भारतका पूर्वप्रधानमन्त्री तथा बीजेपी नेता अटल बिहारी वाजपेयीको समाधि स्थलमा राहुल जानुलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। यसबाट जनतामा सकारात्मक सन्देश गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

डिसेम्बर-जनवरीको चिसोमा पनि राहुल सेतो हाफ टिसर्टमा देखिए। मिडियाले उनलाई पटकपटक सोध्योे ‘तपाईंलाई चिसो लाग्दैन?’ जवाफमा राहुलले भनेका थिए, ‘यो प्रश्न भारतका किसानलाई सोध्नुस्। मजदुरलाई सोध्नस्? उनीहरूलाई चिसो लाग्दैन भने मलाई कसरी लाग्न सक्छ?’

कश्मीरको घाउमा मलम

सन् २०१९ मा बीजेपी सरकारले कश्मीरमा धारा ३७० हटाएको थियो। धारा ३७० हटेपछि कश्मीरीहरू घरबाहिर आउन पनि डराउन थाले। ‘३७० हटेपछि हामीले बोल्ने प्रयास गरिरहेका छौँ,’ एक कश्मीरीले ‘द वायर’सँग भने, ‘तर हामीलाई बोल्न दिइएको छैन। बोल्यो कि पक्राउ गर्ने र जेलमा हाल्ने गरिन्छ।’

लामो समयपछि पहिलोपटक कश्मीरमा कुनै ठूलो राजनीतिक कार्यक्रम भयो। त्यो हो, राहुल गान्धीको भ्रमण। धारा ३७० हट्दा पनि उनी कश्मीर गएका थिए। त्यति बेला उनलाई एयरपोर्टबाटै फिर्ता पठाइएको थियो।

सन् २०१९ पछि पहिलोपटक कश्मीरीहरू स्वतःस्फूर्त घरबाहिर निस्किएका हुन्। उनीहरूले राहुलको भव्य स्वागत गरे। माया दिए। कश्मीरीहरूले उनलाई ‘रे अफ होप’ अर्थात् ‘आशाको किरण’ भनिरहेका छन्। ‘उनको आगमनले केही हुन्छ जस्तो लागेको छ,’ एक कश्मीरीले भने, ‘राम्रो संकेत देखिएको छ। उनी आशाको किरण बनेर आएका छन्। बीजेपीको शासनमा सबैभन्दा बढी कश्मीरले समस्या भोग्यो। टुक्रिएको भारत फेरि जोडिनेछ।’

घृणाविरुद्ध ‘लड्न सकिन्छ’

राजनीतिक विश्लेषकहरू यात्राबाट भारत जोड्ने काम सफलतापूर्वक भएको बताउँछन्। विश्लेषक पारसा वेन्कटेश्वर जुनियर भन्छन्, ‘सडकमा नओर्लिएर लोकतन्त्रलाई बचाउन सकिँदैन। घृणा हटाउन सकिँदैन। यो कुरा यात्राले प्रमाणित गरेको छ।’

सन् २०१४ पछि पहिलोपटक बीजेपीले ठूलो राजनीतिक हार बेहोरेको वेन्कटेश्वरको भनाइ छ। ‘राजनीतिक वातावरण बदलिएको छ,’ उनले भनेका छन्, ‘आमजनता कांग्रेससँग जोडिएका छन्। जनतामा नगई बाटो पाइनेछैन भन्ने कुरा स्पष्ट भएको छ।’

भारतयात्री योगेन्द्र यादवले राहुल र कांग्रेसको वास्तविक यात्रा अब सुरु भएको बताए। ‘वास्तविक यात्रा ३० जनवरीबाट सुरु हुनेछ,’ उनले भने, ‘तर राहुलको भारत जोडो यात्राबाट भारतीयहरूमा आशा जागेको छ। ‘घृणाको राजनीतिविरुद्ध लड्न सकिन्छ’ भन्ने सन्देश गएको छ।’ भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =