‘निर्वाचन ऐन संशोधनका लागि संसद्‌मा पेस गर्ने तयारीमा छौँ’

हिमाल प्रेस १२ माघ २०७९ १७:०५
6
SHARES
‘निर्वाचन ऐन संशोधनका लागि संसद्‌मा पेस गर्ने तयारीमा छौँ’

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसद्‌मा पेस गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानुन लिएर संसदमा जाने तयारी गरिएको बताएका हुन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे।

२०७४ सालको निर्वाचनपछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे।

त्यसका लागि सम्बन्धित निकायहरूसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने ‍योजना रहेको थपलियाले बताए।

‘हामी यही संसदमा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौँ। त्यसकारण तपाईहरूसँगको यो बसाई र त्यसपछिका सुधारका कुराहरु पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौँ,’ उनले भने, ‘लिएर गएका कुराहरु ल्याउनका निम्ति पनि फेरी प्रयत्न गर्छौं। पहिला पठाउने हो। अनि ल्याउन पनि प्रयत्न गर्नुपर्छ। त्यसका निम्ति पनि हामी साझा प्रयत्न गर्छौँ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दाबी गर्दै विभिन्न संस्थाहरूले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएको आधारमा सुधारका अन्य कार्ययोजनाहरू पनि तय हुँदै जाने बताए।

प्रकाशित: १२ माघ २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =