नेपाल विश्वविद्यालय विधेयक राष्ट्रियसभामा प्रस्तुत

हिमाल प्रेस १० माघ २०७९ १७:०८
152
SHARES
नेपाल विश्वविद्यालय विधेयक राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले राष्ट्रिय सभामा नेपाल विश्वविद्यालय विधेयक प्रस्तुत गरेका छन्। मन्त्री खनालले विधेयक प्रस्तुत गरेसँगै विश्वविद्यालय स्थापनाको विषयमा राष्ट्रिय सभाका सदस्यहरूबीच सैद्धान्तिक छलफल भएको हो।

सैद्धान्तिक छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले गैरसरकारी क्षेत्रबाट विश्वविद्यालय खोल्ने विधेयकको पक्ष र विपक्षमा आआफ्नो धारणा राखेका छन्।

नेकपा (एकीकृत समाजबादी)का महासचिव एंव राष्ट्रिय सभा सदस्य डा वेदुराम भुषालले बहुविधागत, दक्ष सृजनसिल जनशक्ती उत्पादन गर्ने लक्ष्य लिएको यस विश्वविद्यालय मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको विश्वविद्यालयको रुपमा ल्याउने विधेयक सकारात्मक भएपनि विश्वविद्यालय स्थापनाका संरचनागत जटिलताका विषयमा भने सजग हुुपर्ने बताएका छन्।

यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउन छाता ऐनको आवश्यकता भएपनि नयाँ विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण नभएका कारण नयाँ विश्वविद्यालय खोल्ने होडबाजी आवश्यक नभएको बताए।

उनले भने,‘नयाँ खुलेका केन्द्र र प्रदेश अन्तर्गतका विश्वविद्यालयमा विद्यार्थी नै छैनन्। विश्वविद्यालयमा परीक्षा र नतिजा प्रकाशन समयमा हुन सकेको छैन। भएकै विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक छ।’ नयाँ विश्वविद्यालय खोल्ने भन्दापनि विश्वविद्यालय शिक्षा सम्बन्धी छाता ऐन ल्याउनेर शैक्षिक गुणस्तर सुधार गर्दै लानुपर्ने उनको भनाइ छ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विश्वविद्यालयको संरचना परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। उनले भने,‘विश्वविद्यालय उत्कृष्ट प्राज्ञिक केन्द्रको स्थापित गर्न विश्वविद्यालय छाता ऐनको आवश्यकता छ। नयाँ विश्वविद्यालय खोल्नु पदैन। भएका विश्वविद्यालयमा नै वेथिति छ। विश्वविद्यालय बेरोजगार उत्पादन केन्द्र बनेका छन्। नयाँ विश्वविद्यालय खोल्न आवश्यक छैन।’ भएकै विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न उनले सुझाब दिएका छन्।

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले नेपाल विश्वविद्यालय स्थापना गर्ने भन्ने प्रस्ताबलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्। उनले भने,‘ जनसहभागिता मुलक जनताको लगानी भएको विश्वविद्यालय भएकाले यो संस्था अघि बढाउनु पर्छ। गुणस्तर भएका जनशक्ती उत्पादन गरेर शिक्षा क्षेत्रमा प्रतिस्पर्धी आत्मनिर्भर विश्वविद्यालय निर्माण गर्न सक्छ। यसको मनसाय राम्रो छ।’ उनले यो दक्ष जनशक्ती उत्पादनमा क्रियाशिल बन्नेमा आफू विश्वस्त भएको बताए।

यस्तै छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य ईन्दिरादेवि गौतमले नयाँ विश्वविद्यालय खोल्ने योजनालाई सकारात्मक रुपमा लिनुपर्ने तर अहिले भइरहेका विश्वविद्यालय नै व्यवस्थित नभएको अवस्थामा नयाँ विश्वविद्यालय खोल्ने भन्दा पनि शैक्षिक गुणस्तरलाई विकास गर्न सुझाव दिएकी छन्।

उनले भनिन्,‘उच्च शिक्षाका लागि दुरदराजबाट अध्ययनका लागि केन्द्रमा आउनुपर्ने अवस्थाको अन्त्य गर्न नयाँ विश्वविद्यालय खोल्नुपर्छ। तर अहिले भएकै विश्वविद्यालयको गुणस्तरलाई मध्यनजर गर्नुपर्छ। विश्वविद्यालय स्थापना गर्ने कनसेप्ट सकारात्मक छ।’

राष्ट्रिय सभाको छलफलमा विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक दक्षजनशक्ती उत्पादनका हिसाबले सकारात्मक भएपनि शिक्षा उत्पादनमुलक, गुणस्तर भएन भन्ने विषयलाई चिर्न सक्ने उच्च प्रतिभासाली जनशक्ती उत्पादन गर्ने विश्वविद्यालयको आवश्यकता औल्याएका छन्।

यस विषयलाई विधान समितिमा लगेर दफावार छलफल गर्न सदस्यहरूले सुझाव दिएका छन्।

प्रकाशित: १० माघ २०७९ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =