बर्लिन फिल्म फेस्टिभलमा देखाइँदै सन पेनको ‘सुपरपावर’

हिमाल प्रेस १० माघ २०७९ १४:११
30
SHARES
बर्लिन फिल्म फेस्टिभलमा देखाइँदै सन पेनको ‘सुपरपावर’

काठमाडौँ- गत वर्ष फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो। रुस-युक्रेन युद्धको एक वर्ष हुन थालेको छ। हलिउडका प्रसिद्ध अभिनेता-निर्देशक सन पेनले सो युद्धमाथि वृत्तचित्र ‘सुपरपावर’ बनाएका छन्।

रुसको आक्रमणपछि युक्रेनी नागरिकको जीवन संकटमा पर्यो‍। रुसी सैनिकले युक्रेनी महिलाहरूसँग दुर्व्यवहार गरेका, यौन उत्पीडनका समाचार बाहिरिए। बालबालिकासमेत आक्रमणमा परे। हजारौँ युक्रेनीले युद्धमा ज्यान गुमाए। युक्रेनी पुरुषमात्र नभई महिलासमेत युद्ध मैदानमा उत्रिए। वृत्तचित्रमा पेनले युक्रेनमाथि रुसी सैनिकको अत्याचार देखाएका छन्।

जसका लागि पेनले युद्धग्रस्त क्षेत्रको पटकपटक भ्रमण गरे। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई धेरैपटक भेटे। युक्रेनमा युद्ध चर्किएको बेला पेन जेलेन्स्कीसँग फिल्मको छायांकन गर्दै युक्रेनको राजधानी किभमा बसेका थिए।

सोही डकुमेन्ट्री बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा देखाइनेछ। बर्लिन युक्रेनसँग नजिक भएकाले र युक्रेनीहरू बर्लिनमा बस्ने हुनाले डकुमेन्ट्री फेस्टिभलमा देखाइने बर्लिन फिल्म फेस्टिभलका आर्टिस्टिक डिरेक्टर कार्लो च्याट्रियनले बताएका छन्। ‘यो फिल्म बर्लिनमा देखाउनुको अर्थ छ,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दा उनले भने, ‘किनभने हामी युक्रेनको नजिक छौँ। युक्रेनीहरू बर्लिनमा बस्छन्।’

महोत्सवमा अन्य युक्रेनी फिल्म पनि प्रदर्शन गरिनेछन्। त्यस्तै, त्यहाँ युद्धमा ज्यान गुमाउने युक्रेनीलाई श्रद्धाञ्जली दिइनेछ। साथै, सन् २०२३ को बर्लिन फिल्म फेस्टिभलका रङहरू युक्रेनी झण्डाको प्रतीकका रूपमा नीलो र पहेँलो हुने अन्तर्राष्ट्रिय पत्रिका भेराइटी फेयरले जनाएको छ।

 

प्रकाशित: १० माघ २०७९ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =