युक्रेनी राष्ट्रपतिको भाषणबाट सुरु भयो बर्लिन फिल्म फेस्टिभल

हिमाल प्रेस ७ फागुन २०७९ १७:२२
16
SHARES
युक्रेनी राष्ट्रपतिको भाषणबाट सुरु भयो बर्लिन फिल्म फेस्टिभल

काठमाडौँ- युरोपका ठूला फिल्म महोत्सवमध्ये एक हो, ‘बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभल’। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त महोत्सव १६ फेबु्रअरीबाट सुरु भएको छ। ७३ औँ संस्करणको यो फिल्म महोत्सवमा फेबु्रअरी २६ सम्म चल्नेछ।

बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभल कलासँगै राजनीतिक रुचिका लागि पनि चिनिन्छ। जसले कला र राजनीतिलाई एक ठाउँमा ल्याइदिन्छ। यस वर्ष महोत्सवमा युक्रेन युद्ध र इरानमा भएका सत्ताविरोधी प्रदर्शनले प्राथमिकता पाएका छन्।

महोत्सवको सुरुवात युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भाषणबाट भयो। भर्चुअल सम्बोधनमा जेलेन्स्कीले भनेका थिए, ‘फिल्मले संसार बदल्न सक्दैनन् तर तिनलाई प्रभावित र प्रेरित गर्न सक्छन् जसले संसारमा परिवर्तन ल्याउन सक्छन्।’

युक्रेन-रुस युद्धको एक वर्ष पूरा भएको छ। महोत्सवका कतिपय कार्यक्रम युक्रेन युद्धसँग सम्बन्धित छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीमाथि बनेको फिल्म ‘सुपरपावर’लाई वल्र्ड प्रिमियरमा देखाइनेछ। ‘इन टू द वाइल्ड’ फिल्मका निर्देशक सन पेनले नै ‘सुपरपावर’ बनाएका हुन्।

रुसको आक्रमणपछि युक्रेनी नागरिकको जीवन संकटमा पर्यो‍। रुसी सैनिकले युक्रेनी महिलाहरूसँग दुर्व्यवहार गरेका, यौन उत्पीडनका समाचार बाहिरिए। बालबालिकासमेत आक्रमणमा परे। हजारौँ युक्रेनीले युद्धमा ज्यान गुमाए। युक्रेनी पुरुषमात्र नभई महिलासमेत युद्ध मैदानमा उत्रिए। वृत्तचित्रमा पेनले युक्रेनमाथि रुसी सैनिकको अत्याचार देखाएका छन्।

जसका लागि पेनले युद्धग्रस्त क्षेत्रको पटकपटक भ्रमण गरे। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई धेरैपटक भेटे। युक्रेनमा युद्ध चर्किएको बेला पेन जेलेन्स्कीसँग फिल्मको छायांकन गर्दै युक्रेनको राजधानी किभमा बसेका थिए।

उद्घाटन समारोहमा युक्रेन, इरान र अफगानिस्ताका मानिसको समर्थनबारे कुरा उठाइएको थियो। त्यस्तै रुस र इरानसँग सम्बन्ध भएका निर्देशक, निर्माता, प्रोडक्सन कम्पनी र पत्रकारलाई फिल्म महोत्सवमा सहभागी गरिएको छैन।

उद्घाटन समारोहमा ‘सी केम टू मी’ देखाइएको थियो। समारोहमा पिटर डिंकलेज, एनी हाथवे, क्रिस्टिन स्टुअर्टलगायत हलिउड कलाकार उपस्थित थिए। सन् २००८ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘ट्वाइलाइट’ की अभिनेत्री स्टुअर्टले बर्लिन फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय निर्णायक मण्डलको नेतृत्व गरिरहेकी छन्।

११ दिनसम्म हुने महोत्सवमा संसारभरिका तीन सयभन्दा बढी फिल्म देखाइनेछन्।

प्रकाशित: ७ फागुन २०७९ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =