सकियो पुस्तक मेला

हिमाल प्रेस ८ माघ २०७९ १६:२७
92
SHARES
सकियो पुस्तक मेला

भक्तपुर- ‘स्टुडेन्ट्स बुक फेयर’ सम्पन्न भएको छ। बुक क्लब भक्तपुरले आयोजना गरेको पुस्तक मेला माघ ५ देखि ७ सम्म चलेको थियो। भक्तपुरको महेश्वरी ब्याङ्क्वेटमा भएको पुस्तक मेलामा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहेको आयोजकको भनाइ छ।

आयोजकका अनुसार विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्न मेला आयोजना गरिएको हो। ‘विद्यार्थीलाई पढ्नुको महत्त्व बुझाउन मेला आयोजना गरिएको हो,’ बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले भने, ‘बालबालिका र किशोरकिशोरीमा पठन संस्कृतिको विकासका लागि मेला आयोजना गरेका हौँ।’

विभिन्न विद्यालयका विद्यार्थीले मेला भ्रमण गरेको प्रधानले बताए। ‘पुस्तक मेला लाभदायी भएको छ,’ उनले भने, ‘सँगसँगै किताबको व्यापार पनि राम्रो भएको अनुभव गरेका छौँ।’

महोत्सवमा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाले सहभागिता जनाएका थिए। पुस्तक प्रदर्शनी अघिल्लो वर्षको तुलनामा उत्साहजनक रहेको ‘दोबिल्ला बुक्स’का शैलज पौडेलले बताए। ‘व्यापारिक हिसाबले ठीकै भए पनि मेला घुम्न आउनेको संख्या विगतको भन्दा बढेको छ,’ पौडेलेले भने, ‘कोरोनाकालपछि पठन संस्कृति हराएजस्तै भएको थियो। यस्ता कार्यक्रमले पठन संस्कृतिलाई बढाउने आशा गरेका छौँ।’

व्यापारभन्दा पनि पठन संस्कृतिको विकासका लागि यस्ता कार्यक्रम आयोजना गरिनुपर्ने पौडेलको भनाइ छ। ‘पठन संस्कृति बढ्यो भने व्यापार स्वतः बढ्छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले पठन संस्कृति बढाउँछन्। हामी पनि त्यस्मै लागिपरेका छौँ।’

मेलामा शैक्षिक सामग्रीमात्र नभई खेल सामग्री पनि बिक्री गरिएका थिए। विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्ष्य गरी मेला आयोजना गरिएको थियो।

शिक्षालाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको तीनदिने कार्यक्रममा विशेष रूपमा विद्यार्थीसँगै अभिभावक र शिक्षकको सहभागिता पनि रहेको थियो।

रंगकर्मी सुनील पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बीना थिङले उद्घाटन गरेको कार्यक्रममा पठन संस्कृतिका विभिन्न पक्षबारे युवा पाठकसँग ‘युवा साहित्यिक संवाद’ गरिएको थियो।

माघ ७ मा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीसँग अन्तरसंवाद गरिएको थियो। डा. उप्रेतीले स्वास्थ्य र पोषणबारे कुराकानी गरेकी थिइन्। कार्यक्रममा बालबालिकालाई कस्तो खाना खुवाउने? स्कुलमा के टिफिन पठाउने? जंकफुडलगायत विषयमा उनीसँग अन्तरसंवाद गरियो।

मेलामा पुस्तक बिक्रीसँगै विभिन्न कार्यक्रम पनि भएका थिए। किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन, अभिभावक शिक्षा, सांगीतिक कार्यक्रम आदि भए। मेलामा फिल्म प्रदर्शन, कला कार्यशालालगायत पनि आयोजना गरिए।

‘डेड पोएट सोसाइटी नेपाल’द्वारा २७ वटा कविता वाचन गरिएका थिए। बाल साहित्यकार कृष्णदीप सिग्देल तथा बीना प्रजापतिले कथा वाचन गरे।

प्रकाशित: ८ माघ २०७९ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =