काठमाडौँ- तनहुँको देवघाटधामस्थित महेश संन्यास आश्रममा गीताज्ञान महोत्सव र भूमिदान महाअभियान सञ्चालन भइरहेको छ। गीताज्ञान महोत्सव आइतबारदेखि १२ गतेसम्म चल्नेछ भने भूमिदान महाअभियान माघ महिनाभर सञ्चालन हुने गुरुकुल उत्थान अभियानका अध्यक्ष एवम् घरघरमा गुरुकुलीय अभियानका संयोजक कपिलदेव सुवेदीले जानकारी दिए।
उनले भने, ‘सनातन परम्परामा रहेको गीता ज्ञानलाई हाम्रा सन्ततिहरूले सजिलोसँग बुझ्ने तरिकाले प्रकाशित गर्नका लागि गीताज्ञान महोत्सव आयोजना गरिएको हो।’ यस्तै रामानन्द अनुसन्धान केन्द्रको भौतिक सबलीकरणका लागि भूमिदान महाअभियान सञ्चालन गरिएको हो।
गीतामा ज्ञानविज्ञानका धेरै पक्ष छन्। कतिपय कुरा अझै प्रकाशित भएका छैनन्। सुवेदीले भने, ‘महोत्सवमा विभिन्न विशिष्टि विद्वान्हरूद्वारा गीताको महिमा गाएर यथार्थ ज्ञान प्रस्तुत गरिनेछ।’ विभिन्न सत्रमा सञ्चालन हुने गीताज्ञान महोत्सवमा देशविदेशका विज्ञ, अनुसन्धाता र साधक गरी १७ जनाले गीता के हो र यसलाई कसरी अवलम्बन गर्ने भन्ने विषयमा विमर्श गर्नेछन्। यस्तै गीतामा रहेको कर्मयोग, ज्ञानयोग र भक्तियोगका माध्यमबाट विश्वमा देखिएका तनावलाई समाधान गर्ने उपायबारे मन्थन हुनेछ।
गीताज्ञान महोत्सव समन्वय समितिका संयोजक फणीन्द्रप्रसाद पौडेल जीवनसँग प्रत्यक्ष जोडिएको शास्त्रलाई जनजनले बुझ्ने गरी सर्वव्यापक बनाउन महोत्सव आयोजना गरिएको बताउँछन्। उनी भन्छन्, ‘गीतामा सबै उमेर समूहका व्यक्तिका लागि उपयोगी ज्ञान रहेकाले महोत्सवमा त्यसलाई प्रचारप्रसार गरिनेछ।’
प्रत्येक दिन तीन दिन विज्ञले गीताको रहस्यबारे मन्थन गर्ने कार्यक्रम छ। पहिलो दिन संस्कृतिविद् जगमान गुरुङ र हरिप्रसाद अधिकारीको उद्बोधन रहनेछ। संयोजक पौडेलले भने, ‘यो विचारप्रधान कार्यक्रम हो। जसमा गीताका रहस्यलाई ल्याएर मन्थन गरिनेछ र विज्ञहरूबाट त्यसको उद्बोधन हुनेछ र जिज्ञासुहरूबाट आफूलाई लागेका जिज्ञासा सोधिनेछ।’
गीताको ज्ञानमाथि विमर्श गर्ने यस्तो विचारप्रधान यज्ञ सम्भवतः नेपालमै पहिलोपटक आयोजना गरिएको उनी बताउँछन्।
उपकुलपतिहरूसँग परामर्श
महेश संन्यास आश्रमले ‘रामानन्द अनुसन्धान केन्द्र’ (आआरसी) सञ्चालनका लागि परामर्श सभा आयोजना गरेको छ।
केन्द्र सञ्चालनका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिसहित शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरेर परामर्श सभा आयोजना गरिएको हो।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने उपस्थित थिए।
सभामा सम्बोधन गर्दै महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले अनुसन्धान केन्द्रले सूक्ष्मतम तहबाट सुरु गरी पौरस्त्य ज्ञानको ज्योतिलाई नेपाली समाजमा छर्ने जमर्को गरेको बताए। उनले भने, ‘सूर्यका अगाडि दियोको अस्तित्व देखिँदैन तर दियोले आफू जली प्रकाशित गरिरहेको हुन्छ। यसैगरी अनुसन्धान केन्द्रले पौरस्त्य ज्ञानका विभिन्न सन्दर्भलाई बिस्तारै प्रकाश पार्दै लगिने बताए।
गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरिले पूर्वीय वाङ्मय ग्रन्थहरूको अपव्याख्या गरी पुस्तक प्रकाशन भइरहेको दुरवस्थामा अनुसन्धान केन्द्रले ग्रन्थको प्रामाणिक अर्थलाई प्रकाश गर्ने ग्रन्थ प्रकाशन गर्नुपर्नेमा जोड दिए। उनले अनुसन्धान केन्द्र निर्माणार्थ सम्पूर्ण उदारमना दाताहरूलाई सहयोग गर्न आग्रह गरे।
सभामा देवघाट गाउँपालिकाका अध्यक्ष लीलबहादुर गुरुङ र उपाध्यक्ष भुवनसिंह गुरुङले स्थानीय सरकारले अनुसन्धान केन्द्र निर्माण एवं सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
परामर्श सभामा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष एवं अनुसन्धान केन्द्रका सदस्य शिवराज पौडेल, त्रिविका सामाजिक विभागीय प्रमुख लक्ष्मण सुवेदी, काठमाडौँ विश्वविद्यालयका अनन्त रिसाल, कालिका संस्कृत विद्यापीठका प्राचार्य सहप्रा.डा. रामचन्द्र कँडेल, पराशर क्षेत्र संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य ब्रह्मचारी सुभाव चैतन्यलगायत विद्वान्हरूले आआफ्ना टिप्पणी र सुझाव प्रस्तुत गरेका थिए।
महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको सभापतित्वमा भएको उक्त सभामा सभामा विद्यापीठका प्राचार्य उपप्रा कमल सुवेदीले स्वागत गरेका थिए। महेश संन्यास आश्रमका प्रधान संरक्षक स्वामी मधुसूदनानन्द गिरिले आशीर्वाद प्रदान गर्दै सभा विसर्जन गरेका थिए।
अनुसन्धान केन्द्रले नेपालका सबै जातजाति, भाषा, संस्कार, संस्कृतिको सनातन स्रोत खोज्दै मौलिक नेपाली पहिचानको अन्वेषण गर्ने लक्ष्य लिएको उपप्रा फणीन्द्रप्रसाद पौडेलले बताए। केन्द्रको उद्देश्य पूर्वीय वाङ्मय र ज्ञानविज्ञानको अध्ययनअनुसन्धान गर्ने रहेको छ। केन्द्र महेश संस्कृत गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरिको नाममा २०७८ असार ६ गते स्थापना गरिएको हो।
भूमिदान महाअभियानमा कसरी सहभागी हुने?
महेश संन्यास आश्रमले गुरुकुल, विद्यापीठ सञ्चालन र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्य गर्दै आएको छ। यसै सन्दर्भमा वैदिक संस्कार र वैदिक दर्शनको आधुनिक पद्धतिले अध्ययन गर्न एवम् पुर्ख्यौली ज्ञानविज्ञानको वैज्ञानिक व्याख्या र सत्यापन गर्ने लक्ष्य लिएर रामानन्द अनुसन्धान केन्द्र स्थापना गरिएको हो।
सोही केन्द्रको भौतिक सबलीकरणका लागि भूमिदान महाअभियान सञ्चालन गरिएको हो। सुवेदीले भने, ‘वैदिक वाङ्मयमा भएका ज्ञानलाई अनुसन्धान केन्द्रमार्फत प्रचारप्रसार गर्ने ब्रह्मलीन गुरु स्वामी रामानन्द गिरिको संकल्पलाई वर्तमान पीठाधीश रमणानन्द गिरिले अगाडि बढाउनुभएको छ। भूमिदान महाअभियान त्यसकै लागि हो।’
आश्रमले भूमिदान महाअभियानमा जोडिनका लागि दाताहरूसँग अनुरोध गरेको छ। आर्थिक सहयोग गर्नका लागि विभिन्न माध्यमको प्रयोग गर्न सकिने सुवेदी बताउँछन्। उनी भन्छन्, ‘ईसेवाबाट, बैंकमार्फत र दाता आफैँ उपस्थित भएर पनि दान गर्न सक्नेछन्। संकल्पपूर्वक भूमिदान गर्ने यो महत्त्वपूर्ण र पवित्र अवसर भएकाले यसलाई सदुपयोग गरौँ।’