प्रधानमन्त्री कप : प्रदेश १ र सुदूरपश्चिम विजयी

हिमाल प्रेस २९ पुष २०७९ २०:०४
10
SHARES
प्रधानमन्त्री कप : प्रदेश १ र सुदूरपश्चिम विजयी

काठमाडौँ- प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्। शुक्रबारबाट इटहरीमा सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रदेश १ ले मधेस प्रदेशलाई नौ विकेट र सुदूरपश्चिमले बागमती प्रदेशलाई ३३ रनले पाखा लगाएका हुन्।

इटहरीको जनता र्पाकमा टस हारेर पहिले ब्याटिङ गरेको मधेसले प्रदेश १ लाई ५० रनको लक्ष्य दिएको थियो। जसलाई प्रदेश १ ले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो।

प्रदेश १ लाई जित दिलाउन ओपनरद्वय काजल श्रेष्ठ र रुविना क्षेत्रीले २४ र २० रन बटुलेका थिए। त्यसअघि मधेसलाई सस्तोमा समेट्न प्रदेश १ की सबनम राईले चार ओभर बलिङ गर्दै एक रन खर्चिएर चार विकेट हात पारेकी थिइन्।

त्यसैगरी निशा शाहले तीन रन खर्च गरेर दुई विकेट लिइन्। कप्तान रुविनको नाममा पनि दुई विकेट रहयो भने ज्योति दनवार र अलिशा खडियाले एक–एक विकेट लिए।

मधेशकी सरस्वती कुमारीबाहेक कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन्। बरु चार ब्याटर शून्यमा आउट भए। सीमा कुवँर, साना प्रविन, अलिशा यादव र प्रतिमा साहले एक रन पनि नबनाउँदा कप्तान कविता गौतमले नौ रन बटुलिन्। त्यसैगरी आरती चौधरी र शान्ति चौधरी दुई–दुई रनमा सीमित हुँदा अमिरान निशाले पाँच रनको योगदान गरिन्।

दिनको दोस्रो खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १२७ रनको योगफल तयार पारेको थियो। तर बागमती भने ९४/७ को स्थितिमा सीमित भयो।

सुदूरपश्चिमको जितमा कविता कुवँरले ५२ बलमा ५० रन बनाएकी थिइन्। उनीपछि सर्वाधिक रन बनाएकी रितु कनौजियाको नाममा २७ रन रह्यो। कप्तान तथा ओपनर बिन्दु रावल र सम्झना खड्काले १०–१० रनको योगदान गरे।

बागमतीका लागि कंचन श्रेष्ठले १६, सोनी पाख्रिनले १५, खुसी डंगोलले १४ र कप्तान अस्मिना कर्माचार्यले १३ रन बनाए। बागमतीलाई लक्ष्य प्राप्त गर्नबाट रोक्न सुदूरपश्चिमका रितु र मनिषा चौधरीले दुई–दुई विकेट लिए। इश्वरी विष्टको नाममा एक विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =