ओली अभिव्यक्तिले जोडिएका प्रचण्ड-देउवा

किरण पौडेल २८ पुष २०७९ ७:१२
12
SHARES
ओली अभिव्यक्तिले जोडिएका प्रचण्ड-देउवा विश्वासको मत लिनुअघि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। सोही दिनको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका थिए।

काठमाडौँ- पुस १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक समीकरण बनाउँदै एमालेको समर्थनमा प्रधानमन्त्री बने।  लामो समयदेखि बिग्रिएको ओली-प्रचण्ड सम्बन्ध यति चाँडै सुध्रिएला भन्ने धेरैलाई लागेकै थिएन। तर प्रचण्ड ओली निवास बालकोट पुगे र ओलीकै समर्थनमा प्रधानमन्त्री बने। यो समीकरण जुराइदिने व्यक्ति थिए, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन हुँदा देउवा-प्रचण्ड आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति थियो। तर को पहिले भन्नेमा विवाद भयो। पहिलो कार्यकाल नदिएपछि प्रचण्ड ओलीको छत्रछायामा पुगेका थिए। प्रचण्डले संसद्बाट विश्वासको मत लिइसकेका छन्। तर कांग्रेसकै समीकरण लत्याएर अर्को समीकरण बनाउने प्रचण्डलाई फेरि कांग्रेसले पनि समर्थन गरेको छ।

प्रचण्ड दुई तिहाइमाथिको समर्थन पाउने प्रधानमन्त्रीमा दरिएका छन्। उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, लोसपासहित तीन स्वतन्त्र सांसदको समर्थन छ।

यीमध्ये कांग्रेस, लोसपा, एकीकृत समाजवादी र उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने सर्तमा विश्वासको मत दिएका हुन्।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुलाई कतिपयले अप्रत्यासित भनेका छन्। संसदीय व्यवस्थामा सरकारलाई सन्तुलित बनाउन प्रतिपक्षी दलको परिकल्पना गरिएको हुन्छ। तर नेपाली कांग्रेसजस्तो संसदीय व्यवस्थालाई बुझेको पार्टीले संसद्लाई प्रतिपक्षीविहीन बनाएको भन्दै आलोचना भइरहेको छ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिनुलाई कतिपयले नेकपा एमालेको पछिल्लो गतिविधिको कारण मानेका छन्। एमाले-माओवादी समीकरण बने पनि एमाले अध्यक्ष ओलीले पटकपटक संसद् विघटनको बचाउ गरिरहेकाले कांग्रेसले यस्तो निर्णय लिनुपरेको उनीहरूको भनाइ छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको भनाइलाई आधार मान्ने हो भने परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइएको हो। उनले भने, ‘मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएका हौँ। प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ।’

यसअघि ओलीले दुईपटक गरेको प्रतिनिधिसभा विघटन निर्णय सर्वोच्च अदालतले ब्युँताएको थियो। तर ओली संसद् विघटन गरेर चुनाव घोषणा गर्नुलाई ‘लोकतान्त्रिक विधि’ दाबी गरेका छन्। उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘संसद् विघटन प्रतिगमन नभएको’ बताएका थिए। उनको यस्तो अभिव्यक्ति सुन्दा प्रचण्डलाई अप्ठ्यारो महसुस गरेका थिए।

माओवादी केन्द्रका नेताहरू कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुमा ओलीको सोही अभिव्यत्तिै मुख्य भएको बताउँछन्।

प्रतिनिधिसभाको पहिलो बैठकमै ओलीले संसद् विघटन ‘प्रतिगमन’ नभएको अभिव्यक्ति दिँदा भोलि पुनः संसद् विघटन गर्न सक्ने भय देखिएको उनीहरूको बुझाइ छ। अघिल्लो प्रतिनिधिसभामा नेकपा एमाले र माओवादी केन्द्रकै समर्थनमा ओली प्रधानमन्त्री थिए।

एमाले-माओवादी एकतापछि बनेको नेकपामा तीव्र विवाद हुँदा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। अहिले प्रचण्ड ओलीको सोही कदमलाई ‘बिर्सिएर’ एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका छन्। ओलीको पुरानो अडान र संसद् विघटनको विषय सही भन्नुलाई माओवादी-कांग्रेस नेताले आपत्ति मानेका छन्।

‘ओलीलाई स्वीकोक्तिको भावमा लेख्न चाहन्थ्यौँ तर त्यसो हुन सकेन। सरकार कति टिक्छ भन्न सकिन्न। सोही कारण हामीले विश्वासको मत दिएका हौँ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘अहिले पनि सत्ता सञ्चालन संयन्त्रका संयोजकमा ओली नै छन्। हामी त ओलीकै कारण पार्टीबाट विद्रोह गरेका हौँ।’

‘ओलीले हिजो पनि संसद् विघटन गरे। भोलिका दिनमा पनि विघटन गर्न सक्ने देखियो,’ माओवादीका एक नेताले भने, ‘हामी पूर्णकाल संसद् चलाउन चाहन्छौँ। त्यसैले कांग्रेसको साथ खोजेको हौँ।’

ती नेताका अनुसार एमाले अध्यक्ष ओलीकै कारण अन्य दलको समर्थन खोज्नुपरेको हो। प्रचण्डले पनि घुमाउरो तवरले ओलीको संसद् विघटनको अभिव्यक्ति गलत भएको बताएका छन्।
मंगलबार विश्वासको मत लिने क्रममा संसद्बाटै प्रचण्डले ‘संसद् विघटनको विषय अब सत्ता गठबन्धनको मात्र नभएको’ बताएका थिए। यसको असर परेकै कारण प्रचण्ड ओलीसँगको गठबन्धन लामो समय नजाने भन्नेमा पुगेको कतिपयको बुझाइ छ।

प्रचण्डलाई दबाबमा पार्ने र बाध्य पारेर संसद् विघटन गर्ने ओलीको आशय रहेको ती नेताको भनाइ छ। मंसिर ४ को निर्वाचनलगत्तै पनि ओलीले ‘यो संसद् लामो समय नचल्ने’ अभिव्यक्ति दिएका थिए।

ब्युँतिन सक्छ पाँचदलीय गठबन्धन!

ओलीको संसद् विघटनप्रति असहमति जनाउँदै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल-झलनाथ खनाल समूह), जनता समाजवादी, जनमोर्चा एक भएर आन्दोलित भए। ओलीलाई सत्तामा निकाल्नेदेखि नयाँ सत्ता गठबन्धन निर्माणसम्म पाँचदलीय गठबन्धनको भूमिका रह्यो।

ओलीको विघटनलाई विरोध गर्दै एमालेका माधव नेपाल समूहले नयाँ पार्टी गठन गरे। तर प्रचण्डले एकाएक कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर एमाले नेतृत्वको गठबन्धनमा जाँदा एकीकृत समाजवादीलाई मार परेको थियो।

प्रतिनिधिसभामा मंगलबार विश्वासको मत लिनुअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग हात मिलाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : दिपेश श्रेष्ठ

ओलीको पछिल्ला अभिव्यक्तिका कारण भने पुनः पाँचदलीय गठबन्धन ब्युँतिन सक्ने सम्भावना छ। ‘गठबन्धन हाइज्याक भएको थियो। सही ट्रयाकमा ल्याउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार सञ्चारकर्मीसँग भनेका थिए। यति मात्र नभई कांग्रेसका अन्य नेताले पनि यसबारे इंकित गरेका छन्।

‘ओलीलाई स्वीकोक्तिको भावमा लेख्न चाहन्थ्यौँ तर त्यसो हुन सकेन। सरकार कति टिक्छ भन्न सकिन्न। सोही कारण हामीले विश्वासको मत दिएका हौँ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘अहिले पनि सत्ता सञ्चालन संयन्त्रका संयोजकमा ओली नै छन्। हामी त ओलीकै कारण पार्टीबाट विद्रोह गरेका हौँ।’

समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन लामो समय लगाएको थियो।

कांग्रेसको समर्थन प्रचण्डलाई, असर एमालेलाई

एमाले नेताका अनुसार शेरबहादुर देउवा पुनः सत्तामा आउने दाउमा छन्। पहिलो आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिएको भए पाँच दलीय गठबन्धन टिक्ने थियो भन्नेमा देउवा पुगेको देखिन्छ। तर तिनै प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

एमालेलाई सत्ताबाट हटाएमा पुनः आफू शक्तिमा फर्कन सक्ने आकलन देउवाको छ। देउवा सोही गतिविधिमा सक्रिय भइसकेको एमाले नेताहरू बताउँछन्। देउवाले राष्ट्रपति र सभामुख पाउने आशामा पनि प्रचण्डलाई समर्थन गरेको कतिपयको बुझाइ छ।

ओलीले मंगलबार संसद्मा व्यक्त गरेको भनाइले पनि यसलाई पुष्टि गर्छ। ओलीले भनेका थिए, ‘कांग्रेसले केही आस राखेर विश्वासको मत दिएको भए त्यो पूरा हुँदैन। बक्रदृष्टि पूरा हुँदैन। त्यसबारे आस नराख्नू।’
अहिलेको सत्ता गठबन्धनले एमालेलाई सभामुख र राष्ट्रपतिलाई दिएको छ। सोही पदको आसमा कांग्रेसले विश्वासको मत दिएको बुझाइ एमालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =